केराखेतीमा रमाउँदै कैलालीका युवा
2021/07/12, 5:44
 
dd

कैलालीको टीकापुर नगरपालिका– २ का खेम विक रोजगारीका लागि पहिले भारतमा मजदूरी गर्थे। भारतमा पनि उनको कमाइ राम्रै थियो। गाउँघरमा आफूसँगका सहकर्मी व्यवसायमा जोडिँदै गएपछि उनी पनि व्यवसाय गर्न स्वदेश फर्किए। उनले १० कठ्ठा जग्गाबाट व्यावसायिक केराखेती शुरु गरे। 

“मसँगका साथी केरा व्यवसायमा नै जोडिएका कारण मैले पनि केरा व्यवसायलाई नै रोजेको हुँँ”, उनले भने, “१० कठ्ठाबाट शुरु गरेको केराखेती अहिले १४ बिघा गर्दै आएको छु।”लगानीको करीब ५० प्रतिशत आम्दानी हुने भएपछि उनले व्यवसाय थप्दै गएको बताएका छन्।“एक बिगाहमा १० लाखसम्मको आम्दानी गरेको छु। त्यो धेरै हो। बढीमा सातदेखि आठ लाखसम्म आम्दानी हुन्छ”, विकले भने, “आम्दानी भएकोमध्ये आधा नाफा हो।” एकचोटी रोपेको केराले तीन पटकसम्म उत्पादन दिने गरेका कारण पनि युवा केराखेतीप्रति आकर्षित भएका छन्। 
    
टीकापुर – ९ का हरिहरप्रसाद उपाध्यायले पाँच कठ्ठाबाट शुरु गरेको केराखेती छ वर्षमा नौ बिघा क्षेत्रफलमा बिस्तार गरेका छन्। स्नातक तहसम्मको अध्ययन गरेका उनको सबै परिवार केराखेतीमै छ। “पढाइले मात्र केही नहुने भएपछि पढाइसँगै व्यवसाय शुरु गरेको थिएँ। अहिले त्यसैलाई निरन्तरता दिँदै आएको छु”, उनले भने, “एक बिघा केराखेतीबाट कम्तीमा पनि चारदेखि पाँच लाखसम्म आम्दानी गर्न सकिन्छ। त्यतिमा म सन्तुष्ट नै छु।” 

जानकी गाउँपालिका वडा नं ६ का प्रह्लाद बटाला सन् २०११ मा वैदेशिक रोजगारीका लागि कतार गए। वैदेशिक रोजगारीमा राम्रो कमाई नभएपछि प्रह्लाद स्वदेश फर्किएर व्यावसायिक बङ्गुरपालनमा लागे। विदेशमा रहँदा कमाएको पैसाले उनले बङ्गुरका लागि फार्म तयार पार्नुका साथै ८० वटा बङ्गुरका बच्चाबाट व्यवसाय शुरु गरेको तीन वर्षमा उनले फार्ममा अहिलेसम्म ३५ लाख खर्च गरिसकेका छन्।

“शुरुमा विदेशबाट फर्किएपछि के गर्ने भन्ने निकै अन्योलमा थिएँ। परिवारकै सल्लाहमा बङ्गुरपालन शुरु गर्ने निधो गरेको हुँ”, उनले भने, “अहिले राम्रो छ। दानाको समस्या भने निकै छ। तर, उत्पादन भएको वस्तुको बजारीकरणमा कुनै समस्या छैन।” उनले बङ्गुरका लागि दानाको वैकल्पिकरुपमा अजौलाखेती शुरु गरेका छन्। त्यसले बङ्गुरलाई चाहिने आवश्यक प्रोटिन दिने भन्दै त्यसपछि दानाको आवश्यक नहुने बताए। उनको चार जनाको परिवार नै त्यही व्यवसायमा छ। अहिले मासिक एक लाखदेखि एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको बटाला बताउछन्। उनले बङ्गुरपालनसँगै बाख्रापालनलाई पनि सँगै अगाडि बढाएका छन्।

टीकापुर –४ का वसन्तकुमार जिसी २०६३ सालदेखि बैंकको चौकीदारी गर्दै गरेका छन्। उनले गर्दै आएको कामबाट सन्तुष्ट नभएपछि व्यावसायिक बाख्रापालन शुरु गरे । दुई वर्ष अगाडि पाँच बाख्राबाट व्यावसायिक बाख्रापालन शुरु गरेका उनको फार्ममा साना ठूला गरेर ७० बाख्रा छन्। उनले व्यवसाय शुरु गरेको धेरै समय नभएको बताउँदै आम्दानीको स्रोत खुलिनसकेको बताए। “जागिर बाध्यता हो भने व्यवसाय रहर”, उनले भने, “परिवारसँगै बसेर काम गर्न सकिने, जागिरभन्दा आम्दानी पनि राम्रो हुने भएपछि व्यवसायमा जोडिन पुगेको हुँ।” 

उनले व्यवसायले आम्दानी दिन थालेपछि जागिर छोड्ने बताउँदै बैंकको किस्ता तिर्नका लागि भए पनि जागिर बाध्यता भएको बताए। टीकापुर– ९ का राजुप्रसाद चौधरी २०६७ सालदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। उनको छ जनाको परिवार तरकारी खेतीमै संलग्न छ। “पहिले हामीले परम्परागत खेती ग¥र्याै। त्यसबेला मुस्किलले परिवार पाल्न पुग्थ्यो”, उनले भने, “व्यावसायिकखेतीमा लागेपछि पछाडि फर्केर हेर्नुपरेको छैन्। 

तरकारीबाट राम्रो आम्दानी भइरहेको छ। अहिले व्यवसायमा लागेका परिवारका सबै सदस्य पनि खुशी छन्।” उनले दुई बिघा क्षेत्रफलमा वर्षे तरकारी लगाएका छन्। एक मौसममा उहाँले सबै खर्च कटाएर दुई लाखसम्मको आम्दानी हुने गरेको बताए। कोरोनाका कारण भएको निषेधाज्ञाले भने उत्पादन भएको तरकारीलाई बजारीकरण गर्न भने समस्या हुने गरेको उनले बताए।