सुदूरपश्चिम प्रदेशमा आजदेखि बत्ती बाल्ने महिनाका रुपमा मनाइँदैछ। धार्मिक महिनाका रुपमा समेत चिनिने साउन महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ भनिन्छ। साउने संक्रान्तिदेखि बैतडीसहित सुदूरपश्चिमका जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ।
साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताए। ‘साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन्,’ उनले भने, ‘हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठमा बस्ने गर्छन्।’
शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ। आजदेखि भक्तजनले बिहानै उठेर नुहाइ धुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ।
बैतडीमा सातबैनी भगवती र सातभाई केदार देवताका मन्दिर रहेकाले नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेको स्थानीयवासीले बताएका छन्। त्रिपुरासुन्दरी, निङगलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिर, रौलाकेदार, सिगासधुरा दोगडाकेदार, उदयदेव मन्दिरमा भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन्।
यस्तै, सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, सिगास मन्दिर, दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक केदार, जगन्नाथ मन्दिर, ईश्वरी गंगाधाम, सिगास गाउँपालिकामा रहेको सिगास मन्दिर, शिवनाथमा रहेको शिवनाथ मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम,देउलेक केदार, भिटाकेदार मन्दिरमा श्रावणको महिनाभरी दर्शनार्थीहरुले दर्शन गर्न गर्दछन्। श्रावण महिनाभरि मन्दिरमा राति जाग्राम बस्ने र बत्ती बाल्ने चलन रहिआएको छ। जिल्लाबाट बसाइसरेकाहरु पनि मन्दिरमा पूजापाठ गर्नका लागि यो महिना जिल्ला भित्रिने गर्दछन्।
हर्यालो हालिने
असार महिनाभर हिलामा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिलाउने, खटिरा, लुतो आदि आउन सक्ने भएकाले जिउलाई सफासुग्घर गरी यस दिन लुतो फाल्ने गरिन्छ। गाउँघरमा यस दिन साँझ अँगेनामा कुरिलो र तितेपाती सल्काएर एउटा अगुल्टो झिकेर चारै दिशामा घुमाउँदै ‘लुतो लैजाऊ’ भनी फ्याँक्ने गरिन्छ। त्यसरी लुतो फालिसकेपछि जिउमा घाउ, खटिरा आएको छ भने कुकुरडाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ।
सहर बजारतिर भने छोरीचेलीलाई बोलाएर मिठा परिकार बनाएर खुवाउने प्रचलन छ। यस दिनदेखि सूर्यको गति दक्षिणतिर हुने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ।
साउन महिनालाई पवित्र महिना मानिन्छ। साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ। यसैले यस महिनाभरि खासगरी विवाहिताले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना र पूजाआराधना गर्छन्।
साउनका सबै सोमबार महिलाले महादेवको पूजा गर्छन्। काठमाडौंको पशुपतिनाथमा साउन महिनाभर श्रद्धालु महिलाको विशेष घुइँचो लाग्छ। साउनमा महिलाहरु हरियो पोते र चुरा तथा रातो लुगामा सजिएका हुन्छन्।
सुदूरपश्चिममा आज खेतबारीमा रोगब्याधि नलागोस् र बालीनालीमा उत्पादन बढोस् भन्दै कुरिलो, मेललगायत हरिया वनस्पतिको हर्यालो हाल्ने चलन छ। हर्यालो हाल्ने भन्नाले कुरिलो, मेललगायत हरिया वनस्पति खेतबारीको आलीमा रोप्नुलाई बुझिन्छ। साउनको महिना देवीदेवता शयन गर्ने भएकाले खेतबारीमा लगाइएको अन्नबालीको संरक्षण होस् भनेर हर्यालो हाल्ने गरिएको पन्तले बताए।
उनले भने, ‘देवीदेवता शयन गर्ने भएकाले बालीनालीमा रोगव्याधि नलागोस् भनेर हर्यालो हाल्ने गरिन्छ, संक्रान्तिका दिन ब्राह्मण र चेलीबेटीलाई टीका लगाएर दानदक्षिणा दिने पनि गरिन्छ।’
त्यस्तै साउनमा खिर पकाएर खाने तथा पराइघर गएका चेलीबेटीलाई मिठा खाद्यान्न परिकार पकाएर दिने गरिन्छ। यससँगै साउनको महिनादेखि चाडपर्व सुरु भएको समेत मानिन्छ।