फलको राजा आँपका दुई दर्जन जात एकै थलोमा, गरियो ‘मुडेगाउँ आँप प्रदर्शनी’
2021/07/17, 10:25
 
aa

डोटीमा ‘मुडेगाउँ आँप प्रदर्शनी’ आयोजना गरिएको छ। जिल्लाको शिखर नगरपालिका–२ मुडेगाउँको कालागाडमा आँप प्रदर्शनी गरिएको हो । पर्यटन व्यवसायी तथा रैका टुर्स एण्ड ट्राभल्सका प्रवन्ध निर्देशक अमरबहादुर शाहीको एकल प्रयासबाट आँप प्रदर्शनी–२०७८ को आयोजना गरिएको हो ।

मुडेगाउँमा उत्पादन भएका करिब २० देखि २५ जातका आँप प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीमा करिब २५ जना किसानले उत्पादन गरेका आँप राखिएका थिए । आँप व्यससायी शाहीले भने, ‘मुडेगाउ आँपलाई देश तथा विदेशमा चिनाउने लक्ष्य रहेको छ। विभिन्न प्रजातिका तथा अन्य ठाउँभन्दा मिठा आँप मुडेगाउँमा पाइन्छन् ।’ उनले थपे, ‘मुडेगाउँ म्याङ्गो’ को ब्राण्डले हामी चिनाइरहेका छौं ।’

मध्य तथा सुदूरपश्चिमको पर्यटन क्षेत्रमा अग्रपंक्तिमा रहेका शाहीले विगत दश वर्षको लामो प्रयासपछि तीन सय ओटा विभिन्न प्रजातिका आँप  ८० रुपैयाँदेखि ५०० रुपैयाँ केजीसम्मका आँप आफ्नो बारीमा फलाउन सफल भएका छन् । करिब १८ देखि २० क्वीन्टल हाराहारीमा आँप फल्ने गरेको शाहीले बताए । 

शाहीले आफू मात्र नभएर मुडेगाउँमा नै आँपका बोट दिएर अहिले गाउँ आँप बगैंचा जस्तै देखिन थालेको  छ। बजारीकरणका साथै बिरुवामा लाग्ने रोगको समस्या भएको उनको भनाइ छ । मुडेगाउँका आँपहरूलाई विगत वर्षदेखि चिनापरिचयको आधारमा काठमाडौंलगायत ठाउँमा अर्डर अनुसार पठाउने गरेको उनले बताए । 

आँपका लागि मुडेगाउँ निक्कै सम्भावना भएको जिल्ला ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरूले बताए । उनले भने, ‘यस ठाउँमा फलेको आपँको स्वाद पनि राम्रो छ। आवश्यकताअनुसार  प्राविधिक र बजारीकरणमा सहयोग गर्नेछौं ।’  पहाडमा फल्ने विषादीमुक्त आँप तराईमा नपाइने गरेको सुदूरपश्चिम कृषि विकास निर्देशनालय राजपुरका निर्देशक यज्ञराज जोशीले बताए । 

आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘अहिले जताततै बिषादी फलफूल पाउने गरिन्छ । आफू सुदूरपश्चिम बस्दा स्वास्थ्य धेरै राम्रो थियो । केही वर्ष काठमाडौं बस्दा विषादी फलफूल तरकारीले स्वास्थ्यमा निकै समस्या भयो। त्यसैले हामी सबैले स्वास्थलाई स्वस्थ राख्नुका साथै विषादीमुक्त बनाउनका लागि स्थानीय उत्पादनलाई  विशेष जोड दिनुपर्छ ।’

नगर भित्र अहिले सम्भावना हेरेर आँप, कागती, टिमुरका बिरुवा वितरण गरेको शिखर नगर प्रमुख सिताराम जोशीले बताए । शाही जस्तै व्यवसायीक रूपमा लागे नगरले सहयोग जोशीले बताए । आँप खेती गरेर नमूना व्यवसायीको रूपमा आफूलाई चिनाउन लागेका शाहीको जिल्ला समन्वय समितिका संयोजक राम ऐरले प्रशंसा गरे । 

ब्यवसायीक रूपमा अगाडि बढेमात्र किसानले सफलता पाउने ऐरले जोड दिए । जिल्लामा आँप प्रदर्शन गरेर नमूना कार्य गरेकोमा केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले खुलेर प्रशंसा गरे । व्यवसायी रूपमा फलफूल लगायतका खेती गर्ने किसानलाई गाउँपालिकाले खुलेर सहयोग गर्ने बताए ।

बोटमै पाकेको आँप वा कुनै औषधिको प्रयोग बिना पाकेको आँप खाँदा मानिसको स्वास्थ्य धेरै राम्रो हुने सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । उनले विषादी औषधि हालेका फलफूल तरकारीलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई  सबैले जोड दिनु पर्ने बताइन् ।     

आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ । सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरिन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ।