महाकाली सिँचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माणको काम सुरु भएको डेढ दशक पुग्यो । कहिले बजेट अभाव त कहिले मुआब्जा विवादका कारण हालसम्म आयोजनाको १२ किलोमिटर मात्रै नहर निर्माणको काम सम्पन्न भएको छ । थप १६ किलोमिटर निर्माणाधीन छ ।
गत वर्षदेखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिए पनि निर्माण कार्यले गति लिन सकेको छैन । न्यून बजेट र मुआब्जा विवादकै कारण अहिले पनि नहर निर्माणमा ढिलाइ भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
‘ऐलानी जग्गा र सामुदायिक वनको मुआब्जा विवाद यसपटक टुंगिएको छ,’ आयोजना निर्देशक रणबहादुर बमले भने, ‘अब मुआब्जा वितरणपछि काम अगाडि बढ्नेछ ।’ उनका अनुसार मुआब्जा वितरणका लागि बजेट अभाव देखिएकाले केन्द्रमा अनुरोध गरिएको छ । चारवटा सामुदायिक वनको २९ हेक्टर र ऐलानी १२ हेक्टर गरी ४१ हेक्टर जमिनको मुआब्जा वितरण गर्न बाँकी छ ।
२०६३/६४ मा सुरु भएको तेस्रो चरणको नहर निर्माणअन्तर्गत हालसम्म ब्रह्मदेवदेखि मुसेपानीसम्मको १२ किमि बनेको छ । मुसेपानीदेखि शुक्लाफाँटा नगरपालिकासम्मको थप १६ किमि नहर निर्माणाधीन छ । चालु आर्थिक वर्षको बजेटमा आयोजनाका लागि १ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
विगतमा भारततर्फ नहर निर्माणको काम सुरु नभएकाले पनि नेपालतर्फ सुस्त गतिमा काम चलिरहेको थियो । भारतले टनकपुर ब्यारेजको आफ्नो क्षेत्रमा १२ सय मिटर नहर निर्माणको काम गत वर्षदेखि सुरु गरेको छ ।
महाकाली सन्धिअनुसार नेपाल–भारत सीमासम्म १२ सय मिटर नहर भारतले निर्माण गर्नुपर्ने उल्लेख छ । ‘डिसेम्बरसम्म नहरमा पानी छाड्ने योजनाअनुसार काम चलिरहेको भारतीय पक्षले जनाएको छ,’ आयोजना निर्देशक बमले भने, ‘अब हामीलाई पनि कामको गति बढाउनुपर्ने दबाब छ ।’
टनकपुर बाँधको जलाशयको कति गहिराइबाट नेपालले पानी पाउने भन्ने विषयमै लामो समय विवाद चलेको थियो । नेपालले १४२ मिटर गहिराइबाट पानी दिनुपर्ने माग गरिरहेको थियो भने भारतीय पक्षले १४५ मिटर गहिराइबाट दिनुपर्ने अडान लिएको थियो । लामो समयको छलफलपछि भारतीय पक्ष १४४.२५ मिटर गहिराइको सतहबाट पानी दिन तयार भएको थियो । उक्त विवाद समाधान भएपछि भारतीय पक्षले नहर निर्माणको काम अघि बढाएको हो ।
चालु आर्थिक वर्षमा मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको तयारी थालिएको आयोजना निर्देशक बमले बताए । उनका अनुसार भारतीय पक्षले नहर निर्माण गरेर पानी छाड्ने तयारी गरेपछि पहिलो चरणमा निर्माण भएको नहरका शाखा प्रशाखा बनाउने काम अघि बढाउन तयारी थालिएको हो । आगामी वर्ष शाखा र प्रशाखाको काम सकेर पानी सञ्चालन गरिने उनको भनाइ छ ।
ब्रह्मदेवदेखि गोदावरीसम्म मूल नहर ४७ किमि र शाखा नहरसमेत गरेर १ सय ५१ किमि लम्बाइको उक्त नहरबाट झन्डै ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । तर केही वर्षयता स्थानीय तहका केन्द्र तथा वडाको केन्द्रमा व्यापक मात्रामा भौतिक पूर्वाधारसँगै घडेरीका रूपमा जमिन बिक्री बढेकाले आयोजनाको क्षेत्र पनि घट्दै जाने अनुमान छ । तेस्रो चरणअन्तर्गत नै शारदा नहरबाट दोधारा–चाँदनीका लागि निर्माण हुने नहरको हालसम्म कुनै टुंगो छैन । उक्त क्षेत्रमा पनि नेपाल–भारत सीमासम्म १२ सय मिटर नहर भारतले नै निर्माण गर्नुपर्नेछ ।