सुदुरपश्चिममा पिसीआर परिक्षणको माग गर्दै स्वस्फुर्त रुपमा युवाहरुको मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन र धर्ना (भिडियो सहित) 
2020/06/10, 2:26
 
korona

सुदुरपश्चिममा पिसीआर परिक्षणको माग गर्दै स्वस्फुर्त रुपमा युवाहरुले प्रदर्शन गरेका छन् । सुदुरपश्चिममा कोरोना परिक्षणको दायरा वढ्न नसकेको फेशवुकबाट जोडिएका युवाहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । प्रचण्ड गर्मीमा पसिना चुहाउँदै धनगढीका विभिन्न स्थानहरुबाट आएका युवाहरुले पिसिआर परिक्षणको माग गरेका हुन् । उनीहरुले प्लेकार्ड सहित मुख्यमन्त्री कार्यालयको गेट अगाडी धर्ना समेत दिएका छन् । 

आरडिटी परिक्षण बन्द गरिनुपर्ने माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिईएको हो । धनगढीका युवाहरुले कोरोना रोग पत्ता लगाउन प्रयोगमा ल्याइएको आरडिटी परिक्षण बन्दको माग गर्दै धर्ना दिएका हुन । उनीहरुले विश्व स्वास्थ्य संगठनले नै आरडिटी विधि विश्वसनीय नभएको प्रमाणित गरेको दाबी गर्दै नेपालमा भने अझै प्रयोग गरी स्वास्थ्य परिक्षण गर्ने गरेको भन्दै यसलाई रोक्न माग गरेका छन । उनीहरुले तत्कालै सो विधी हटाई पिसीआर विधिबाट स्वास्थ्य चेकजाँच गर्न माग गरेका हुन् । विश्व स्वास्थ्य संगठनले नै रयापिट टेष्ट विधी विश्वसनीय नभएको प्रमाणित गरेको अवस्थामा नेपालमा अझै र्यापिट टेष्टकै प्रयोग गरी स्वास्थ्य परिक्षण गर्ने गरेको भन्दै युवाहरुले तत्कालै सो विधी हटाई पिसीआर विधिबाट स्वास्थ्य  चेकजाँच  गर्न माग गरेका हुन् ।

‘इनफ इज इनफ’ फेसबुक पेजमा पोष्ट गरिएको ‘र्यापिट टेष्ट विधी बन्द गराउन दबाव’ लाई हेरेर आफुहरु स्वस्फुर्त रुपमा मुख्यमन्त्री कार्यालय अगाडी पुगेको धनगढी–२ का गौरभ कुँवरले बताए । गौरीफण्टा नाकाबाट दैनिक पाँच हजार भन्दा बढी नागरिक भित्रिरहँदा सुदूरपश्चिम प्रदेशमा २, ३ सयको मात्रै पिसीआर स्वास्थ्य चेकजाच हुने गरेको भन्दै धर्नामा सहभागी किरन बमले सरकार जनताको स्वास्थ्य प्रति गम्भीर बनोस भनेर धर्ना दिएको बताए । 

युवाहरुले ‘कि सुरक्षा निभाउ हैन भने मरिरहेका जनताको जिमेवारी लेउ, जनता कोरोनाले हैन, लापरवाहीले मर्दैछन्, सरकारले जिम्मेवारी पुरा गरे हाम्रो साथ छ, नागरिकलाई भौकै मार्न पाईदैन, आवश्यक स्वास्थ्य सामाग्री ल्याउ, र्यापिट टेष्ट बन्द गर’ लेखेका पम्प्लेट बोकेर धर्ना दिएका थिए । ‘इनफ इज इनफ’ फेसबुक पेज मार्फत संयोजन गरेका विनोद देउवाले जनता कोरोनाको महामारीसंगै भोकले मरिरहेका बेला प्रदेश सरकार निष्कृय बनेका कारण धर्ना कार्यक्रम आयोजना गरिएको बताए । युवाहरुले बुधबार बिहान एघार बजेदेखि आधा घण्टा कार्याल्य अगाडी धर्ना दिएका थिए ।