कैलालीमा नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवाका ६ जनाबीच प्रतिस्पर्धा हुदै 
2021/07/28, 6:22
 
aa

 कैलालीमा नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवा पक्षधर ६ जना सभापतिका आकांक्षी देखिएका छन् । बिगतमा भन्दा कमजोर भएको कोईराला पक्षधर भने सभापतिको आकांक्षी देखिएका छैनन । यसअघि जिल्ला सभापतिमा प्रतिस्पर्धा गरिसकेका भीम बडुवालले यस पटक पनि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनी आफूलाई देउवा समर्थक बताउँछन् । उनले आफ्नो नेता देउवा भएको बताए । मेरो नेता देउवा हुन्, उनले भने, म देउवाकै उम्मेदवार हुँ ।

सभापतिको अर्को आकांक्षी हु्न्, प्रकाश बम । उनलाई पार्टी सभापति नरनारायण शाह मनुको साथ र समर्थन छ । यद्दपि सभापति शाहका ३ जना उम्मेदवार छन् । तर शाहको पहिलो रोजाईमा बम पर्छन ।  शाहको अर्का उम्मेदवार हुन्, खेमराज चौधरी । कैलाली थारु बहुल जिल्ला भएकोले थारु समुदायको व्यक्ति पार्टी सभापति हुदा राम्रो सन्देश जाने शाहको बुझाई छ । तर बम सभापति हुन नसक्ने अवस्थामा मात्र चौधरीलाई उम्मेदवार बनाउने शाहको योजना छ ।

पार्टी सभापतिको तेस्रो रोजाई हुन्, धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड । वडलाई नगर प्रमुख बनाउन पनि शाहको मुख्य भूमिका थियो । कार्यकर्ता माझ भिजेका वडलाई नेपाली काँग्रेस सुदू पश्चिम प्रदेश सभाका संसदीय दलका नेता डा. रण बहादुर रावलले पनि साथ दिने संकेत छ । रावल र वड दुबै जना पार्टी सभापति देउवा र देउवा पत्नी डा. आरजु देउवासंग नजिक छन् । 

सजिलै सभापति हुने अवस्था भएका पार्टी सभापति शाहले बमलाई उम्मेदवार बनाउने छन् । तर फरक गुट र समूहसंग भिड्नु पर्ने अवस्था आएमा उनले वडलाई सभापति पदमा अघि सार्नेछन् । यद्दपि वडलाई अघि सार्दा उनले पुनः धनगढीको प्रमुख हुने आकांक्षा भने त्याग्नु पर्ने दवाव छ । पार्टी सभापति देउवा र देउवा पत्नी डा. आरजु देउवासंग नजिक मानिने नारायणदत्त भट्ट र गणेश देउवा पनि सभापतिको दौडमा छन् । भट्ट शुरु देखि नै देउवा पक्षधर हुन् । गणेश देउवा भने बिगतमा कोईराला क्याम्पमा थिए । डा.आरजुले सभापति बनाउने आश्वासन दिएकोले आफू देउवा क्याम्पमा आएको उनले बताउने गरेको काँग्रेस बृतमा चर्चा छ ।

भट्टलाई नेपाली काँग्रेसका नेता पुष्कर ओझाको समेत साथ रहने बताईएको छ । यद्दपि डा. आरजुको उम्मेदवारका रुपमा भट्ट प्रस्तुत भए उनले ओझाको साथ भने गुमाउने छन् । किनकी डा. आरजु र ओझाबीच छत्तिसको आँकाडा छ । भट्टलाई सभापतिका रुपमा बर्तमान सभापति शाहले पनि स्वीकार गर्दैनन । देउवा पत्नी डा. आरजुको साथ र समर्थनमा शाह पार्टी सभापति भएपनि यतिबेला भने उनीहरुबीच राम्रो सम्बन्ध छैन । डा.आरजुका स्वकीय सचिव प्रकाश देउवाले त सार्वजनिक रुपमै शाहलाई बिबेकशीलको आरोप लगाउछन् ।

डा. आरजु र शाहका बीचमा  फाँटो ल्याउन प्रकाश देउवाका अभिव्यक्तिले पनि काम गरेको छ । सभापति पदमा एउटै आफ्नै खेमाबाट छ जना आकांक्षी देखिएकोले पार्टी सभापति देउवा र देउवा पत्नी डा. आरजुलाई सकस परेको छ । उनीहरुले अहिलेसम्म कसैलाई आफ्नो आधिकारिक उम्मेदवारका रुपमा घोषणा गरिसकेका छैनन । यद्दपि सबैले आफूलाई पार्टी सभापति देउवा र उनकी पत्नी आरजुको साथ रहने बताउदै आएका छन् ।