सुदूरपश्चिमका ३ लाख ३० हजारलाई खोप दिइँदै, १ लाख ६७ हजारले पाएनन् खोपको दोस्रो मात्रा
2021/07/29, 8:37
 
bb

सुदूरपश्चिमका विभिन्न जिल्लामा बुधबारदेखि कोरोना विरुद्धको खोप अभियान फेरि सञ्चालन गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस प्रदेशका वासिन्दाले भेरोसेल र जोन्सन एन्ड जोन्सन कम्पनीका गरी करिब ३ लाख ३० हजार डोज खोप पाउने छन् । निर्देशनालयका अनुसार २ लाख डोज भेरोसेल र करिब १ लाख ३० हजार डोज जोन्सन खोपको मात्रा धनगढीबाट जिल्लामा पठाईएको छ ।

कैलाली, कञ्चनपुर र डडेलधुरामा बुधबारदेखि खोप अभियान सुरु भएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । अन्य जिल्लामा पनि खोप अभियानको तयारी भइरहेको छ । विश्वविद्यालय, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायात क्षेत्रका चालक तथा सहचालक, अत्यावश्यक सेवामा कार्यरत कर्मचारी र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप दिईरहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

जोन्सन एन्ड जोन्सन खोप भने ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण तथा अति अशक्त, शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पाउने भएका छन् । कैलालीमा भेरोसेलको पहिलो मात्रा ६३ हजार र जोन्सन एन्ड जोन्सनको ४८ हजार ५ सय मात्रा खोप प्राप्त भएकोले सोही अनुसार लगाईरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ‘बुधबारदेखि सबै पालिकामा एकैसाथ सुरु गरेका छौं,’ धामीले भने । 

बैतडीमा बिहीबारदेखि तेस्रो चरणको खोप सुरु हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिश भट्टले बताए । उनका अनुसार १५÷१६ गतेबाट पछिल्लो चरणको खोप लगाउने तयारी भइरहेको छ । पहिलो चरणको कोभिड सिल्ड र दोस्रो चरणमा भेरोसेल खोप पाएका छन । पहिलो मात्रा लगाउने १९ हजार बढी भए पनि दोस्रो मात्रा ६ हजार ३ सय ५ जनाले मात्र पाएका छन् ।

कञ्चनपुरमा भेरोसेलपछि जोन्सन
कञ्चनपुरमा तेस्रो चरणको खोप अभियान अन्तर्गत बुधबारदेखि भेरोसेल खोप लगाउन सुरु भएको छ भने त्यसपछि मात्रै जोन्सन एन्ड जोन्सनको लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबारदेखि ५५ वर्षमाथि उमेरका र यसअघि तोकिएको विभिन्न समूहका छुटेका व्यक्तिलाई भेरोसेलको पहिलो मात्रा खोप लगाउन सुरु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शिक्षक, यातायात मजदुरलगायतलाई पनि उक्त खोप दिइदैछ । कार्यालयका अनुसार बुधबारदेखि ४ दिन ३६ हजारलाई भेरोसेल खोप अभियान सञ्चालन भईरहेको छ । त्यसका लागि जिल्लाका ९ वटै स्थानीय तहमा ३८ बढी केन्द्र तोकिएका छन । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार स्थानीय तहहरू मार्फत नै खोप लगाउने व्यवस्था मिलाईएको छ । 

व्यासमा ३५ देखि ३९ वर्षकालाई 
दार्चुलामा साउन १६ गतेदेखि खोप अभियान सञ्चालन हुने कोरोना विरुद्धको खोप अभियान अन्तर्गत ५५ वर्ष उमेरमाथिको समूहकालाई भेरोसेल खोप लगाइने भए पनि व्यास गाउँपालिकाको हकमा ३५ देखि ३९ वर्ष उमेर समूहकालाई खोप लगाइने स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

दार्चुलामा भेरोसेलको १० हजार १ सय ६० डोज खोप बुधबार बेलुकी दार्चुला पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले साउन १६ गतेदेखि १८ गतेसम्म भेरोसेल र साउन २० गतेदेखि २२ गतेसम्म जोन्सन एन्ड जोन्सनको खोप लगाउने निर्णय गरेको कार्यालयले जनाएको छ ।

१ लाख ६७ हजारले पाएनन् खोप
सुदूरपश्चिममा यसअघि कोभिसिल्ड र भेरोसेलको पहिलो र दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ४२ हजार ८ सय ८३ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन । तीमध्ये दोस्रो मात्रा लगाउनेको संख्या ३४ हजार ५० जना छ ।
यस्तै, यस प्रदेशमा कोभिसिल्ड पहिलो मात्रा २ लाख ५ हजार ५ सय ६ जनाले पाएका छन । तीमध्ये ३७ हजार ९ सय ६ जनाले मात्रै दोस्रो मात्रा पाएको निर्देशनालयको तथ्यांक छ ।