कैलालीको कर्णाली नदीमा स्कारपियो गाडी खस्दा बेपत्ता भएका दुई जना अझै भेटिएका छैनन् । कैलाली मोहन्याल गाउँपालिका वडा नम्बर ७ बाँका स्थित चिसापानीदेखि सोल्टा जाने कच्ची सडक खण्डमा जिप सडकमा ब्याक गर्ने क्रममा सडकबाट करीव ३ किमी उत्तरस्थित सडकखण्डबाट तीन सय मिटर तल कर्णाली नदीमा खसेको थियो । नेपालगञ्जबाट उपचार गरेर घर फर्किएका उनीहरु कुईने घुम्न जादै गर्दा उनीहरु चढेको स्कारपियो मोहन्याल गाँउपालिकाको बाँकामा सडकबाट कर्णाली नदीमा खसेको थियोे ।
एकै परिवारका ५ जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो । जीपमा सबार तीन जनाको उद्धार गरिएको थियो भने डडेल्धुरा घर भई हाल डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जोशी दम्पतीलाई अझै फेला पार्न नसकिएको बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले अबेर रातिसम्म खोजी गरेको र दुबै जना फेला नपरेपछि आज बिहानदेखि फेरि खोजी सुरु गरिएको पैवक्ता विष्टले बताए । उनका अनुसार दुर्घटनाग्रस्त जीप भने कर्णाली नदीमा टुक्राटुक्रा भएको अवस्थामा भेटिएको छ । सडकबाट झण्डै तीन सडक मिटर तल नदीमा खसेको जीप टुक्राटुक्रा भएको अवस्थामा फेला परेको छ । केही पार्ट निकालिएको छ । मुख्य पार्ट निकाल्न बाँकी रहेको उनले बताए ।
गाडीमा सवार चन्द्रप्रकाशकी १२ वर्षीया छोरी लक्ष्मी, ४ वर्षीया सावित्री र ३ वर्षीय भुवन जोशीको उद्धार गरिएको थियो । उनीहरुको अहिले कोहलपुरमा उपचार भइरहेको छ । नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्नेक्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।