भारतीय सुरक्षाकर्मीको अमानवीय क्रूरता !
2021/07/31, 10:15
 
corona

दार्चुलाको व्यास गाउँपालिका– २ मालघाटमा तुइनबाट महाकाली तर्न लागेका एक जना नेपाली जयसिंह धामी शुकवार नदीमा खसेर बेपत्ता भएका छन् । प्रत्यक्षदर्शीका अनुसार धामी चडेको तुइन भारतीय सुरक्षाकर्मीले चुँडाइदिँदा दुर्घटना भएको हो ।

सामान्य मनस्थितिको कुनै पनि व्यक्ति यति क्रूर हुन सक्तैन । त्यसमाथि छिमेकी मुलुकका सुरक्षाकर्मीले विनाकारण यसरी ज्यानै लिने अपराध गर्लान् भन्ने त सामान्यतः कल्पना पनि गर्न सकिँदैन । यसैले घटना सार्वजनिक हुनेबित्तिकै नेपाली जनमानस आक्रोशित भएको हो ।

सत्तारूढ नेपाली का‌ग्रेसका प्रवक्ताले नै घटनाको वास्तविकता सार्वजनिक गर्न र भारतीय पक्षसँग संवाद गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । सम्भवतः यस घटनाको विरोधमा सिङ्गो नेपाल नै एक ठाउँमा उभिनेछ । 

भारतीय सुरक्षाकर्मीको ज्यादती नेपाली नागरिकले बेलाबखत भोग्दै आएका छन् । विशेषगरी सीमा क्षेत्र त्यसमा पनि सुदूरपश्चिमका बासिन्दाका लागि त भारतीय सुरक्षाकर्मीको अत्याचार सहनु नियति नै बन्न पुगेको छ । 

आफ्नै जिल्लाको सदरमुकाम जान पनि भारतीय भूमि हुँदै आउनजान पर्ने बाध्यताले सीमा क्षेत्रमा हुने भारतीय सुरक्षाकर्मीका ज्यादतीका अधिकांश घटनाबारे धेरैलाई थाहा नै हुँदैन । र, यसरी थाहा नपाउने वा जानकारी पाएर पनि बेवास्ता गर्नेमा प्रमुख भने नेपाल सरकार नै देखिन्छ ।

दार्चुला घटनालाई नेपाल सरकारले सामान्यरूपमा लियो भने भारतीय सुरक्षाकर्मीको अत्याचार अझ बढ्नेछ । साथै, राज्यप्रति नेपाली जनताको विश्वास पनि घट्नेछ । यसैले सबैभन्दा पहिले घटनाको यथार्थ सार्वजनिक गरेर सरकारले जनताको साथ र समर्थन लिने प्रयास गर्नुपर्छ ।    

भारतीय सुरक्षाकर्मीबाट सीमाक्षेत्रमा नेपालीमाथि प्रायः हुनेगरेको ज्यादतीविरुद्ध नेपाल सरकारले अहिलेसम्म स्पष्ट अडान राखेको देखिँदैन । यसैले भारतीय सुरक्षाकर्मीले नेपालीलाई हेप्ने दुस्साहस गरिरहेको हुनुपर्छ । सरकारको यस्तो प्रवृत्तिले सबै नेपालीको शिर निहुरिन्छ ।  

सरकारले तत्काल कूटनीतिक र प्रशासनिक दुवै माध्यमबाट भारत सरकारसमक्ष नेपालको विरोध दर्ज गराओस् । साथै, आवश्यक बाटाघाटा बनाउने कार्यलाई युद्धस्तरमा अगाडि बढाएर नेपालीलाई आफ्नै भूभागमा जानआउन भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यताबाट मुक्त गरोस् ।

भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीको अमानवीय क्रूरतामा भारत सरकारले पनि आफ्नो धारणा स्पष्ट पार्नु जरूरी देखिन्छ । कूतनीतिक वा औपचारिक तहमा जति नै सुमधुर सुनिए पनि भारत सरकारको नेपालप्रतिको व्यवहारमा अपेक्षित न्यानोपन देखिँदैन । 

नेपालसँगको सम्बन्धलाई भनिएजस्तै महत्त्व दिने हो भने भारतले दार्चुला घटनामा जघन्य अपराध गर्ने भारतीय सुरक्षाकर्मीलाई हत्याको अभियोगमा कारबाही गरोस् । पीडित धामी परिवारसँग क्षमायाचना गर्ने र क्षतिपूर्ति दिने नैतिक साहस देखाओस् ।

यस्ता घटनाले नै शासकको चरित्र र अनुहार जनसमक्ष प्रकट हुने हो । नेपाल सरकारले तत्काल भारतसँग उपयुक्त माध्यमबाट घटनाप्रति चिन्ता प्रकट गर्दै ध्यानाकर्षण गरोस् । भारत सरकारले हेपाहा प्रवृत्ति त्यागेर यस्ता घटनामा यथार्थ स्वीकार गर्ने आँट गरे नेपाली जनतामा भारतप्रतिको सन्देह कम हुनसक्छ । के नेपाल र भारतका प्रधानमन्त्रीले नेपाली जनभावनाको सम्मान गर्लान् ?