महाकालीमा तुईन काट्ने एसएसबी विरुद्ध भारतीय प्रहरीमा उजुरी, घटनास्थलतर्फ नेपाली सुरक्षा अधिकारी
2021/07/31, 9:06
 
bb

दार्चुलाको व्यास गाउँपालिका–२ को मालघाटमा महाकाली नदी माथी तुईन तरेर भारततर्फ जाने क्रममा वेपत्ता भएका पुरुषले भारतीय प्रहरीमा उजुरी दिएका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुईन काटीदिदाँ वेपत्ता भएका व्यासका स्थानीय जयसिह धामीका आफन्तले भारतीय प्रहरीमा उजुरी दिएका हुन् । 

तुईन काट्ने एसएसबीका जवानहरु विरुद्ध वेपत्ता धामीका आफन्तले तुईन नजिकको क्षेत्रमा रहेको भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलको पागला प्रहरी थानामा उजुरी दिएका छन् । भारत स्वतन्त्र हुनुभन्दा पहिलेदेखि नेपाल भारतको क्षेत्रमा आवतजावतका लागि तुईनहरु लगाइँदै आएको तथा नेपाल भारतका नागरिकहरुको आपसी सम्बन्धका कारण पनि यसरी सीमा क्षेत्रमा आवतजावत हँुदै आइरहेको उजुरीमा भारतीय प्रहरीलाई जानकारी गराइएको छ ।

घटना भएपछि एसएसबीका जवानहरु भागेको तथा त्यस क्षेत्रमा रहेका नेपालीहरुलाई यसबारे कसैलाई नभन्न धम्क्याएको समेत उजुरीमा प्रहरीलाई जानकारी गराइएको छ । सो घटनाबारे मुचुल्का लिई प्राथमिक रिपोर्ट बनाउनका लागि पागला प्रहरीलाई स्थानीय बहादुरसिह धामी र जोगा सिह धामीले उजुरीपत्र दिएका हुन् । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न आफन्तहरुले दार्चुला र भारत दुबैतर्फका प्रशासनलाई अनुरोध गरेका छन् ।

एसएसबीले तुईन काट्दा धामी नदीमा खसेको भन्दै तुईन काट्ने एसएसबीका जवानहरुलाई कारवाही हुनुपर्ने माग सहित व्यासका स्थानीयहरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापन पत्र बुझाएका छन् । व्यास गाउँपालिका–२ मालका पाँच÷छ जना स्थानीय शुक्रबार मालघाटमा महाकाली नदी माथि तुईन तरेर भारतको बाटो हुदै दार्चुला सदरमुकाम खलंगा बजार आउन लागेका थिए । दुई जना महाकाली नदीमा तुईन तरि भारतको सडकमा पुगिसकेका थिए । तुईनमा तर्ने पालो जयसिह धामीको थियो । धामी तर्ने बेला दुई जना भारतीय एसएसबी पुगेको तथा तुईनमा तर्दै गर्दा तार काटीदिदाँ तार सहित मान्छे नदीमा खसेको स्थानीयको भनाई छ ।

अनिता धामी, कल्यानसिंह धामी र विक्रमसिह रङकोलीले सो घटना प्रत्यक्ष देखेको प्रमुख जिल्ला अधिकारीलाई दिएको ज्ञापन पत्रमा उल्लेख छ । बाँच्न पाउने मानिसको न्युनतम् अधिकारलाई चुनौती दिँदै तुईन काटेर ज्युदै मान्छे नदीमा बगाएको हुदाँ उक्त घटना गराउने भारतीय एसएबीहरुलाई कडा कारवाहीका लागि पहल गरिदिन आफन्तहरुले प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका छन् ।

महाकाली नदीमा तुईन तरेर भारत जादाँ नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानविन गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गरेका छन् । इमेलबाट पिथौराढका जिल्ला अधिकारीलाई पत्राचार गरेका छौ । सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले भनिन्, ‘बोधार्थमा पिथौरागढको धार्चुला तहशिलका उपजिल्ला अधिकारी अनिल कुमार शुक्लालाई पनि सम्बोधन गरेका छौ ।’ नेपाल तर्फबाट पनि घटनाबारे छानविन भइरहेको उनको भनाई छ ।

हालसम्म घटनाबारे सत्य तथ्य नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबमं सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेका छन् । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् । जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिइएको छ ।
भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक जानकारी नआएको प्रशासनको भनाइ छ । तुइन तर्दा तर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका संलग्न व्यक्तीलाई कारबाहीको माग राख्दै व्यासका स्थानीयका साथै विभिन्न राजनीतिक दल र नागरिक सामाजका तर्फबाट आवाजहरु उठेका छन् ।

मानिसले बाच्न पाउने अन्तर्राष्ट्रिय मानव अधिकार, न्युनतम् मानवीय मूल्य मान्यता र नेपाल–भारत सीमा क्षेत्रमा चलीआएको व्यवहारिक सम्बन्ध जस्ता सामाजिक मुल्य मान्यतालाई चुनौती दिँदै तुइन तरिरहेको अवस्थामा तुइन काटेर जिउँदै मानिस नदीमा बगेको हुँदा उक्त घट्नामा संलग्न एसएसबीलाई कारबाही गर्न प्रशासनलाई स्थानीयले निवेदन दिएका छन् ।

उक्त घट्नालाई तोडमोड गरी घट्नाको सत्यतथ्य लुकाउन प्रत्यक्षदर्शीलाई नियन्त्रणमा राखिएको निबेदनमा उल्लखे गरिएको छ । बैदेशिक रोजगारीमा जानका लागि गाउँबाट काठमाण्डौँ हिडेका धामी घर नजिकै महाकालीमा बेपत्ता भएपछि परिवार शोकमा छ ।
 

सदरमुकाम खलंगााबाट घटनास्थलतर्फ नेपाली सुरक्षा अधिकारी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिएपछि महाकाली नदीमा खसेर नेपाली युवा बेपत्ता भएको भोलिपल्ट दार्चुला सदरमुकामबाट सुरक्षा अधिकारीहरु घटनास्थलतर्फ लागेका छन्।  वैदेशिक रोजगारीका लागि भारतीय बाटो प्रयोग गरेर सदरमुकाम आउने क्रममा एसएसबीले तुइन काटिदिएपछि महाकाली खसेर बेपत्ता भएका ब्यास गाउँपालिका-२ का ३५ वर्षीय युवक जयसिंह धामीको अवस्था अझै खुल्न सकेको छैन। 

महाकालीमा ठूलो बाढी आएकाले उनी जीवितै भेटिने सम्भावना अत्यन्तै कम रहेको छ। नेपाली युवक महाकालीमा खसेर बेपत्ता भएको घटनाको अध्ययन गर्न सदरमुकामबाट तीनवटा सुरक्षा निकायका अधिकारी घटनास्थल गएका हुन्।  सशस्त्र प्रहरी बल गण नम्बर–४४,  जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धानको टोली घटनास्थलतर्फ गइसकेको दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) ले जानकारी दिएकी छन्। 

जोशीका अनुसार उक्त घटनाबारे सत्यतथ्य जानकारी लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भारतीय पक्षलाई पत्र पठाइसकिएको छ। शुक्रबार दिउँसो ब्यास गाउँपालिका-२ खाङदाङ मालघाटबाट तुइन चढेर भारतको बाटो हुँदै खलंगा आउने क्रममा धामी महाकालीमा खसेका थिए। सदरमुकाम आउने क्रममा उनी सवार तुइन भारतीय एसएसबीका जवानले काटिदिएका थिए। 

यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल र भारतबीचको सम्बन्धमा खलल पार्ने तथ्यहीन समाचार प्रकाशन-प्रशारण नगर्न पनि सञ्चारमाध्यमसँग आग्रह गरेको छ। धामी सवार तुइन एसएसबीले काटिदिएको देख्ने नेपालीहरुले जानकारी गराउँदा पनि प्रशासनले घटनाबारे भ्रामक समाचार प्रसारण प्रकाशन भइरहेको जनाएको छ। प्रशासनले भारतीय पक्षलाई नै बल पुग्ने गरी विज्ञप्ति निकालेको भन्दै आलोचना भइरहेको छ। 

सहायक प्रजिअ जोशीले तुइनबाट झरेर महाकाली नदीमा वेपत्ता भएका धामीबारे अनुसन्धान र छानविन भइरहेकाले सत्यतथ्य पुष्टि नभइसकेको पनि दाबी गरेकी छन्। घटनाको वास्तविकता जानकारी गराई आवश्यक प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिएको पनि उनले जनाएकी छन्।