युवक बेपत्ता प्रकरण: भारतले भन्यो- ‘एसएसबीले तुइन काटेको हल्ला गलत’
2021/07/31, 9:19
 
corona

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ । शनिवार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले एसएसबीको संलग्नता अस्वीकार गरेका हुन् । 

मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा एसएसबीका जवानले तुइनको डोरी काटेपछि  धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । तर, आनन्द स्वरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई लेखिएको पत्रमा भनिएको छ– ‘एसएसबीले तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत छ ।’ 

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भारत पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको पुष्टि गरिन् । जोशीले रातोपाटीसँग भनिन्– ‘जवाफ आएको छ, पिथौरागढका जिल्ला अधिकारीले हिजोको घटना सम्बन्धमा एसएसबीको टोली घटनास्थल पुग्नुभन्दा अघि नै दुर्घटना भएको जानकारी गराउनुभएको छ ।’ 

भारतले यसअघि पनि अनधिकृत तुइन हटाउँदै आएको जानकारी गराउँदै शुक्रवार करिब ३० मिटर तलबाट मानिस कराएको आवाज सुनेपछि पट्रोलिङमा जाँदा मानिस नदीमा खसेको थाहा पाएको दाबी गरेको छ ।  भारत पक्षले पनि नदीमा बेपत्ता युवा खोज्न टिम गठन गरेको नेपाल पक्षलाई जानकारी गराएको छ ।