हेर्दाहेर्दै एसएसबीले तुइन काटिदिए, अनि धामी महाकालीमा बेपत्ता भए 
2021/08/01, 9:54
 
dd

दार्चुलाको ब्याँस गाउँपालिका–२ को मालघाटमा रहेको तुइन चढ्ने क्रममा भारतीय सीमा सुरक्षा बलले डोरी काटिदिएपछि जयसिंह धामी बेपत्ता भए । शुक्रबार बिहान तुइन चढेर सदरमुकाम जाने क्रममा भारतीय बाटो प्रयोग गरेको भन्दै एसएसबीले तुइन काटिदिएको थियो ।

शुक्रबार बिहान कल्याणसिंह धामीले तुइनबाट मान्छे तार्ने क्रममा भारतीय सुरक्षा बलले तुइन काटिदिएको थियो । तुइन काट्नुअघि चारजना पार गरिसकेका थिए भने बाँकी तीनजना थिए ।  भारतीय बाटो प्रयोग गरिएको भन्दै बेला बेलामा दुःख दिने गरेको भारतीय सीमा सुरक्षा बलले एक्कासी आएर तुइन काटिदिएको कल्याणसिंह धामीले जानकारी गराएका छन् ।

डोरी काटिदिएर एसएसबी एक्कासी भागेको थियो । अनि तुइनमा रहेका धामी महाकाली नदीमा खसे । केहीबेर नदी छेउमा रहेकाहरुले छेउतिर जान संकेत गरेको भएपनि धामी महाकालीमा बेपत्ता भएका थिए । दार्चुलाको उक्त क्षेत्रमा २१ वर्षदेखि तुइनमार्फत सर्वसाधारण वारपार गर्दै आएका थिए । बेला बेलामा एसएसबीले गाली गर्ने, कुट्ने, धम्क्याउने काम गर्दै आएको भए पनि तुइन काटिदिएको थिएन ।

एकहप्ताअघि पनि एसएसबीले तुइन निकालिदिएको थियो । दार्चुलाका ब्याँस नगरपालिकाबाट सदरमुकाम जान पनि भारतीय बाटो प्रयोग गर्नुपर्छ । यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षसँग यसबारेमा जानकारी माग गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले विज्ञप्ति जारी गर्दै सत्यतथ्य जानकारी गराउन पत्राचार गरिएको जानकारी गराएकी छन् ।