कर्णाली नदीमा गाडी सहित खसेका जोशी दम्पत्तीको शव गाडी भित्र भेटिएन
2021/08/01, 10:24
 
dd

शुक्रवार दिउँसो गाडी सहित कर्णाली नदीमा खसेर बेपत्ता भएका डडेल्धुराका चन्द्र प्रसाद जोशी र उनकी पत्नी रुपी जोशीको शव गाडी भित्र नभेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको गोताखोरहरुको टीमले गाडी भित्र जोशी दम्पत्तीको शव नभेटेको बताए ।

‘गाडी क्षतविक्षत अवस्थामा छ, पानीको तिब्र बहाव र दुर्घट्नास्थल अत्यन्त जोखिमपूर्ण स्थानमा रहेकोले जोशी दम्पत्तीको अवस्था पत्ता लगाउन कठिनाई भयो’ एसपी अधिकारीले भने, ‘यद्दपि कर्णाली नदीभित्र रहेको गाडीमा जोशी दम्पत्तीको खोजी गर्दा उनीहरु भेटिएनन् ।’ गाडी भित्र नभेटिएकोले जोशी दम्पत्ती बगेर गएको हुनसक्ने आशंकाले कर्णालीको सत्तीघाटसम्म खोजी गरिएको र खोजी कार्य जारी रहेको समेत एसपी अधिकारीले जानकारी दिए ।

कर्णाली नदीमा गाडी देखिएपनि पानीको सतह बढि भएकोले गाडी निकाल्न सकिएको छैन । सडकबाट करीव तीन सय मिटर भीरमा ठोक्क्दिै कर्णाली नदीमा खसेकोले गाडी टुक्रा टुक्रा भएको एसपी अधिकारीले बताए । उनले गाडीमा रहेका जोशी दम्पत्तीका दुई छोरी र एक छोरा गाडीबाट उछिट्टिएर भीरमा खसेको अवस्थामा पाएको र उनीहरुको अवस्था गम्भीर रहेको बताए । तीनै जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाको बगरकोट स्थायी घर भएका जोशी बिगत डेढ दशकदेखि डोटीको आदर्शगाउँपालिका बस्दै आएका थिए ।

उपचारका लागि सपरिवार डोटीबाट नेपालगञ्ज गएका जोशी एक रात धनगढी बसेर घुम्नका लागि कैलालीको चिसापानी हुदै कुईने गईरहेका थिए । बाटोमा अवरोध देखेपछि फर्किन गाडी घुमाउदै गर्दा कर्णालीमा खसेको थियो ।