झोलुंगे पुल नबनाएका ठेकेदारले स्थानीय बासिन्दाको रकम समेत फिर्ता गरेनन्
2021/08/03, 4:10
 
aa

दुई वर्ष अघि महाकाली नदीको मलघट्टमा झोलुंगे पुल बनाउन आएपछि दार्चुलाको व्यास गाउँपालिका– ४ मलघट्टका बासिन्दा कम्ति खुशी भएनन, उनीहरुले ठेकेदारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । दिनहुँ महाकाली नदीमाथि तुईन तर्दाको जोखिम र कठिनाईको अन्त्य हुने उनीहरुको विश्वास थियो । त्यही विश्वासको फाईदा उठाउदै ठेकेदार धन बहादुर कुवँरले स्थानीयबासिन्दाका खसी पनि उधारोमा खाए । उनले सीमावर्ती भारतीय बजारबाट सिमेण्ट पनि स्थानीय बासिन्दाकै जमानीमा उधारोमा लिए । र त्यति मात्र होईन, कुवँरले त स्थानीय बासिन्दासंग दुई लाख रुपैया सापटी पनि लिए ।

त्यसपछि भने कुवँर मेलघट्ट फर्केनन । न त स्थानीय बासिन्दासंग लिएको उधारो तिरे । न त स्थानीय बासिन्दाको उनले फोन नै उठाउछन् ।आफू जमानी बसेर कुवँरलाई सीमावर्ती भारतीय बजारबाट सिमेण्ट उधारोमा उपलब्ध गराउने प्रेमसिंह धामीका भाईलाई केही साता यता उधारो नतिरेको भन्दै बन्धक बनाए, उनी १२ हजार रुपैया तिरेर मुस्किलले उम्किए । तिनै प्रेम सिंह धामीबाट कुवँरले दुई लाख रुपैया लिएको दुई वर्ष भयो, त्यो रकम पनि अहिलेसम्म तिरेका छैनन ।

दुई वर्षअघि स्थानीय प्रेम सिंह धामी, धनसिंह धामी र दमनराम कामीका तीन वटा खसी उधारोमा खाएका कुवँरले ती खसीको मूल्य पनि अहिलेसम्म नतिरेको स्थानीय बासिन्दाहरु गुनासो गर्छन ।त्यतिमात्र होईन, स्थानीयबाट उधारोमा खाएको खानाको रकम पनि कुवँरले तिरेका छैनन, स्थानीय भूपेन्द्र धामीले भने, न पैसा दिन्छन, न फोन उठाउछन् । उल्टै धम्क्याउछन् ।

कुवँर राजनैतिक पहूँचका भरमा अहिलेसम्म जोगिएका छन् । उनलाई प्रशासनले समेत केही गर्न सकेको छैनन ।झोलुंगे पुल तर्ने सपना त पुरा भएन, धामीले भने, तुईन समेत एसएसवीले काटिदिएपछि छाक कसरी टार्ने चिन्तामा छौ ।यस विषयमा कुवँरसंग सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन । उनको मोवाईल बन्द छ । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले झोलुंगे पुलको निर्माण झोलुंग पुल निर्माणका लागि ठेकेदारहरुलाई ताकेता गरिरहेको बताए । प्रजिअ जोशीले निर्माणका लागि थप गरिएको म्याद गुजारेका ठेकेदारहरुलाई प्रशासन कार्यालयमा हाजिर हुन पत्र काटेको बताए ।