बैतडीको पाटन नगरपालिका वडा नं ८ झौलेकमा पहिरो खस्दा अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अझै सुचारु भएको छैन् ।
गएको आइतबार सडक तलतिरबाट पहिरो खसेपछि अवरुद्ध भएको राजमार्ग खुलाउन पहल भईरहेको भएपनि पर्खाल लगाउने काम नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
गएको चारदिनदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधन र अन्य सवारी साधन बीचबाटोमै रोकिएका छन् । जिपहरुले यात्रुहरुलाई झौलेक सम्म पुर्याउने गरेका छन् भने त्यहाँबाट अर्को सवारी साधनमा जानुपर्ने बाध्यता रही आएको छ ।
मालवाहक ट्रकहरु भने चारदिनदेखि बीचबाटोमै रोकिएको चालक किशोर मडैले बताए । जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने र बझाङबाट अन्यत्र जाने सवारी साधन बीचबाटोमै रोकिएका छन् ।
बैतडीको पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका लगायतका ठाउँबाट अन्यत्र जाने यात्रुहरु पनि मार्कामा परेका छन् ।