भौगोलिक विकटताले निम्त्याएको दुःखद् दुर्घटना 
2021/08/05, 3:48
 
aa

कर्णाली नदीको वारि राँगा मलेखा गाउँ र पारि सुर्खेत चौकुने गाउँपालिका–४ स्थित बिजौरा बजार । बिचमा नदी परे पनि दूरीको हिसाबले दुई फरक जिल्लाका यी स्थान नजिक छन् । त्यसैले सुगम जिल्ला कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित राँगा मलेखा गाउँ आफ्नै पालिकाको सुगरखालबाट टाढा र सुर्खेतको बिजौरासंग निकटमा छ ।

भौगोलिक रुपमा विकट भएका र करिब सात किलोमिटर दूरी पैदल यात्रा गर्नु पर्ने कारणले राँगा मलेखावासी सुगरखाल सजिलै आउन सक्दैनन् । नून, सियो, धागोदेखि लिएर दैनिक उपभोग्यका सामान लिन उनीहरु बिजौरा बजार नै पुग्ने गरेका छन् । त्यहि बाध्यताको एउटा निरन्तरता थियो, बिजौरा बजारमा रहेको स्वास्थ्य चौकीमा गएर बच्चालाई खोप लगाउने कार्य ।  तर, सोही क्रममा गएको आइतबार कसैले नसोचेको अकल्पनीय घट्ना घट्न पुग्यो ।

राँगा मलेखावासी बिजौरा बजारस्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा महिला बालबालिका सवार डुङ्गा कर्णाली नदीमा पल्टिंदा एक जनाको घटनास्थलमै मृत्यु भयो भने तीन जना अझै बेपत्ता छन् । यो घटनाले सिङ्गो राँगा मलेखा गाउँ शोकमा डुबेको छ । डुङ्गामा रहेका दुई जना चालक सहित छ जनाको ज्यान भने जोगिएको छ ।

‘यहाँ पहिलो पटक यस्तो दुःखद् घटना घटेको हो’, वडा नम्बर ३ का अध्यक्ष नन्दराम गिरीले भने । ‘घटनाले गाउँनै शोकमा डुबेको छ ।’नदी पारि तर नजिक रहेको स्वास्थ्य चौकीमा चाँडै पुगेर सेवा लिन खोज्दा दुःखद् घटना घट्न पुगेको उनले बताए । ‘नदीमात्रै हो, नत्र राँगा मलेखा गाउँबाट बिजौरा बजार निकै नजिक छ’, गिरीले भने ।

उनले मोहन्याल गाउँपालिकामा स्वास्थ्य चौकी र स्वास्थ्य इकाई भए पनि राँगा मलेखावासी बिजौरा नै जान रुचाउने गरेको बताए । राँगा मलेखा गाउँबाट दुई किलोमिटर तल झोलुङ्गे पुल छ । अहिले नदीमा पानी बढेकाले स्थानीयले झोलुङ्गे पुलको प्रयोग गर्नु पर्दथ्यो । तर, छिटो पुग्ने भन्दै राँगा मलेखावासीले पुलको प्रयोग गर्ने गरेका छैनन् । त्यसैगरी, बच्चा सहित एउटै डुङ्गामा १० जना चढ्नु नै ठूलो गल्ती भएको वडा अध्यक्ष गिरी बताउँछन् । ‘उनीहरु झोलुङ्गे पुलबाट नदी तरेको भए यो दुःखद् दुर्घटना हुने थिएन’ उनले भने।

जिल्ला प्रहरी कार्यालयका अनुसार डुङ्गामा एक गर्भवती सहित पाँच महिला, तीन बालबालिका र दुई जना चालक थिए । जसमध्ये २२ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको छ । डुङ्गाबाट खसेकी धनसरा र उनको २४ दिने छोरा कर्णको डुङ्गा चालक दिनेश भनिने २६ वर्षीय बिनोद सलामीले उद्धार गरेका थिए । तर, गम्भीर घाइते धनसराको ज्यान जोगिएन । घाइते कर्णलाई भने सोल्टा स्वास्थ्य चौकीमा उपचारपछि घर पठाइएको थियो । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

यस्तै, अर्का डुङ्गा चालक दिपेन्द्र आलेमगरले आफ्नो, आफ्नी श्रीमती २० वर्षीया हर्षना आलेमगर र चार महिनाको छोरा सुशान्त आलेमगरको ज्यान जोगाउन सफल भए । घटनामा परी बालक सुशान्त घाइते भएका थिए । उनको बिजौरास्थित स्वास्थ्य चौकीमा उपचार पश्चात अवस्था सामान्य बनेको जनाइएको छ । यस्तै, घटनामा परेकी २६ वर्षीया प्रेमिका आलेमगर सकुशल छिन् ।

डुङ्गा पल्टिदा २० वर्षीया उर्मिला सलामी मगर, उनको १० दिनको छोरी प्राप्ति र २० वर्षीया गर्भवती पार्वती थापा मगर भने बेपत्ता छन् । बेपत्ताहरुको अवस्था अहिलेसम्म अज्ञात छ ।इलाका प्रहरी कार्यालय सोल्टाबाट खटेका प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिले बेपत्ताहरुको खोजीकार्य जारी राखेको वडा अध्यक्ष गिरीले बताए । ‘नदी धेरै गहिरो छ’, उनले भने । ‘अहिलेसम्म केही अत्तोपत्तो भएको छैन । खोजी भइरहेको छ ।’