सुकुम्वासीले पाएकाे जग्गा ७ दिनमै विक्री
2021/08/05, 6:43
 
dd

भूमिहीनका लागि सुकुम्बासी समस्या समाधान आयोगबाट प्राप्त भएको जमिन ७ दिनमै विक्री भएको पाइएको छ । कैलालीको गोदावरी नगरपालिका- १ स्थित ४ कठ्ठा जमिन भूमिहीनका नाममा दर्ता भएको ७ दिनमै विक्री भएको हो ।

विगतमा जंगलको नाममा रहेको जमिनलाई भूमिहीनका नाममा गराउन गत २०७७ फागुन २१ गते कैलाली जिल्ला अदालतले आदेश दिएको थियो । गोदावरी नगरपालिका- १ बस्ने राजाराम चौधरी, अम्मर चौधरी र अगनिया चौधरीका नाममा सो जमिन नामसारी गराउन कैलाली जिल्ला अदालतले मालपोत कार्यालय कैलालीलाई आदेश दिएको थियो । सो आदेशसँगै कैलाली जिल्ला मालपोत कार्यालयले जमिन पास गरेको छ । तर भूमिहीनका नाममा जमिन पास गरेको एक साता नबित्दै जमिन अर्कै व्यक्तिलाई विक्री भएको पाइएको हो ।

२०७७ फागुन २८ गते सो जमिनको तीनै कित्ता (१४४८, १४४९, १४५०) गंगाराम कँडेल जैशीको नाममा पास भएको पाइएको छ । सोही जमिन छेउमा बस्दै आएका तुलसी भट्टराइले भूमिहीनका नाममा दर्ता भएको जमिन विक्री गर्न नपाइने बताए । उनले भने, ‘भोगचलन अर्कै व्यक्तिले गरिरहेको जमिनलाई अदालतले भूमिहीनलाई दिन आदेश दियो अनि  मालपोतले भूमिहीनबाटै अर्कैको नाममा जमिन नामसारी गरेको छ । यो कस्तो नियम हो ? यसमा कस-कसको मिलेमतो छ, यो सत्य बाहिर आउनुपर्छ ।’

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीलाई यसबारे जानकारी लिन खोज्दा अनविज्ञता प्रकट गरे । उनले पास गर्ने र रुजु गर्ने व्यक्तिलाई थाहा हुनुपर्ने भन्दै आफू पन्छिए । मालपोतकै कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर भूमिहीनका नाममा भएको जमिन अर्कै व्यक्तिलाई विक्री गरेको आरोपसमेत लागेको छ । मालपोत अधिकृत जनक मिश्रले भने २५ वर्ष नाघेको भए विक्री गर्न मिल्ने तर्क गरे । तर एक सातामै विक्री भएको भन्ने प्रश्नमा उनले पनि बोल्न मानेनन् । ‘कागजपत्र हेर्ने व्यक्तिलाई थाहा हुनुपर्छ’ भन्दै उनी पनि पन्छिए ।

जमिन कित्ताकाटका लागि वडा कार्यालयको समेत सिफारिस भेटिएको छैन । सोही जमिनका सँधियार एक व्यक्तिले भने, ‘बाटोसमेत पास भएको पाइएन । ३० लाख सरकारी दर रेट भएको जमिनको सरकारी दर ६ लाख हालेर विक्री गरेको पाइयो । मालपोतका कर्मचारीहरुलाई प्रश्न गर्दा उल्टै थर्काउँछन् ।’