नाकामा आवागमन सहज
2021/08/06, 9:43
 
dd

साउन पहिलो सातासम्म उपचारका लागि जाने, पेनसन बुझ्ने र रोजगारीको खोजीमा जानेलाई मात्रै गड्डाचौकी नाकाबाट भारततर्फ जान दिइन्थ्यो । उनीहरूलाई फर्किने बेला मालसामान ल्याउन पाइँदैनथ्यो । तर अहिले स्थानीयले घरायसी उपभोगका सामग्री किनमेलदेखि अन्य कामका लागि सहजै आउजाउ गर्न दिइएको छ ।

नाकामा आवागमन सहज भएपछि स्थानीय साइकल तथा मोटरसाइकलमा सीमावर्ती बजार वनबासा र खटिमासम्म पुगेर घरायसी उपभोगका सामग्रीहरू ल्याउन थालेका छन । व्यापारिक प्रयोजनका लागि साइकलमै हुने ढुवानीको काम पनि फाटफुट रूपमा सुरु भएको छ ।

‘अहिले सानोतिनो मालसामान किनमेलका लागि सहज भएको छ,’ कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का दीपक जोशीले भने, ‘चिनी चियापत्तीदेखि तरकारीलगायत घरायसी सामान ल्याउन पाइएको छ ।’ उनका अनुसार नाकामा आवागमन बन्द हुँदा स्थानीय बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य निकै बढेको थियो । चिनी, चियापत्ती, तरकारी, दाल र चामललगायतको मूल्य निकै बढेको थियो ।

प्रहरीका अनुसार अहिले रोजगारीका लागि गड्डाचौकी नाकाबाट भारततर्फ दैनिक ४/५ सय जना जाने गरेका छन् । सीमावर्ती बजारसम्म किनमेलका लागि डेढ/दुई हजारसम्म जाने गरेका छन् । उनीहरू आफ्नै सवारीसाधनमा आउजाउ गरिरहेका छन् ।

सीमा क्षेत्रमा वारिपारिका बासिन्दाबीच बिहेबारी हुने गरेको छ । लामो समयदेखि आफन्तसँग भेटघाटसमेत रोकिएको थियो । दुवैतर्फ आफन्त भेटघाटका लागि समेत नाकामा आवागमन सहज हुनुपर्ने दबाब थियो । सीमावर्ती भारतीय क्षेत्रका व्यवसायीले व्यापार व्यवसाय ठप्प हुन पुगेको भन्दै नेपालीहरूलाई स्थानीय बजारसम्म आउजाउ गर्न दिनुपर्ने भन्दै दबाब दिँदै आएका थिए । ‘अहिले आकस्मिक रूपमा आउजाउ गर्न दिइएको छ, साइकल र मोटरसाइकलमा सीमावर्ती बजारसम्म पुग्नेले सानोतिनो किनमेल पनि गरेर ल्याउन थालेका छन्,’ सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरले भने, ‘ठूला सवारीसाधन भने अहिले जान दिइएको छैन ।’ उनका अनुसार गड्डाचौकी र गौरीफन्टा दुवै नाकामा आउजाउ सहज भएको छ ।

पहिलो लहरको कोरोना संक्रमणका कारण बन्द भएको नाका झन्डै एक वर्षपछि सबैका लागि सहज पारिएको थियो । दोस्रो लहरको संक्रमण सुरु भएपछि पुनः वैशाख दोस्रो सातादेखि नाकामा आवागमन बन्द गरिएको थियो । भारतमा रोजगारी गरेर घर फर्किने र उपचार तथा पेन्सन बुझ्न जानेबाहेक अरूलाई आउजाउ गर्न रोक लगाइएको थियो । ‘सामान्य किनमेलका लागि अब केही सजिलो भएको छ,’ भीमदत्त नगरपालिका–१० जिमुवाका नरेन्द्र साउदले भने, ‘आफन्त भेटघाट गर्न पनि पायौं ।’

सीमावर्ती बजार वनबासाबाटै विवाह गरेका उनले लामो समयदेखि आफन्तसँग भेटभाट गर्न पाएका थिएनन् । नाकामा केही सहज भएपछि किनमेलसँगै आफन्तसँग पनि भेटघाट भएको उनले बताए । यसरी नाकामा भारततर्फ आउजाउ गर्दा सम्बन्धित व्यक्तिको परिचय खुल्ने कागजपत्र, नागरिकता, सवारी चालक अनुमतिपत्र वा अन्य परिचयपत्र साथ हुनुपर्ने व्यवस्था गरिएको छ । सीमामा तैनाथ भारतको केन्द्रीय सुरक्षा बल एसएसबीले चेकजाँचका बेला ती कागजपत्र हेरेर मात्र भारततर्फ जान दिएको छ । यस्तै, वनबासा पुल पारिरहेको हेल्थ डेस्कले कोरोना परीक्षण गरे/नगरेकोसमेत जानकारी लिन थालेको छ । कोरोना परीक्षण नगरेकाहरूको एन्टिजेन परीक्षणपछि नेगेटिभ देखिएमा मात्र भारत जान दिने गरेको छ ।