दार्चुका जयसिह धामीको घट्नाका प्रत्यक्षदर्शी कल्यानसिह धामी, विक्रम रंकोली र अनिता धामीलाई प्रहरीले बिहीबार नेपालकै बाटो भएर गाउँ पुर्याएको छ । साउन १८ गते सोधपुछको लागि प्रहरीको निगरानीमा खलंगा पुर्याइएका तीनै जनालाई सोधपुछ पछि गाउँ पुर्याइएको हो ।
खलंगामा रहँदा उनीहरुलाई भेट्न पत्रकार मानवअधिकारकर्मीलाई रोक लगाइएको थियो । बुधबार सोधपुछ सकिएपछि राती अवेर आफन्तको जिम्मामा लगाएका तीनै जनालाई बिहीबार बिहान ५ बजे खलंगाबाट हिडाइएको हो । बाटोमा गाउँका स्थानीय गए पनि उनीहरुसँग सम्पर्क गर्न दिएका थिएनन् । प्रत्यक्षदर्शी र गाउँका स्थानीयलाई अलग अलग हिड्न लगाइको थियो । प्रत्यक्षदर्शीबाट लिइएको बयानमा दस्तखत गर्न प्रहरी तिमुरपाटा पुगेको थियो ।
बुधबार दिनभरी जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिकाभित्र उनीहरुको बयान लिइएको थियो । तर दस्तखत गर्न छुटेको भन्दै प्रहरीले उनीहरुलाई तिमुरपाटामा रोकाएर दस्तखत गराएको थियो । प्रत्यक्षदर्शीसँग दुई जना प्रहरी पठाइएको छ ।