महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति शुक्रबार नेपाली सेनाको हेलिकप्टरमार्फत व्याँसको माल पुगेको छ । बिहीबार भारतीय बाटो हुँदै घट्नास्थल पुगेको छानबिन समितिको टोली नेपालतर्फको घट्नास्थल हेर्न हेलिकप्टर मार्फत आज त्यहाँ पुगेको हो ।
व्याँस गाउँपालिका २ मालघाटको स्थलगत निरीक्षण गर्न तथा पीडित परिवारसँग छलफल गर्न टोली गएको हो । बिहिबार नेपालतर्फ स्थलगत रुपमा टोली अध्ययन गर्न नआएको भन्दै स्थानीय र नेकपा विप्लव समूहका कार्यकर्ताले नारा जुलुस गरेका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली गत मंगलबार देखि दार्चुलामा छ । साउन १५ गते माल गाउँबाट सदरमुकाम खलंगा आउने क्रममा जयसिह महाकाली नदीमा वेपत्ता भएका थिए ।
प्रत्यक्षदर्शीले भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन फुकालिदिदा धामी वेपत्ता भएको बताएपछि घट्ना अन्तर्राष्ट्किरण भएको छ । घट्नाको अनुसन्धान गर्न दबाब बढेपछि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।