दार्चुलामा तुइन तर्दै गर्दा एसएसबीकाले तार फुकालेर जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न गृहमन्त्रालयबाट आएको टोली बिहीबार घटनास्थल पुगेर फर्किएको छ। टोली भारतीय एसएसबीकै सहभागितामा भारतपट्टिको घटनास्थल पुगेर फर्किएको हो। सात दिनपछि घटनास्थल पुगेको उक्त टोलीले घटनास्थल निरीक्षण गरेको जनाएको छ।
गत १५ साउनमा सदरमुकाम खलंगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि व्याँस गाउँपालिका– २ मालगाउँका जयसिंह धामी महाकालीमा बेपत्ता भएका थिए । घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन गरेको टोली मंगलबार साँझ दार्चुला पुगेको थियो। बिहीबार बिहान टोली सीमावर्ती भारतीय बजार धार्चुला हुँदै घटनास्थल गस्कु–मालघाट पुगेको हो।
तर, धार्चुला पुगेको उक्त टोलीले घटनाबारे कुनै तथ्य, प्रमाण फेला परेको या नपरेको भने सार्वजनिक गरेको छैन। यस्तै जयसिंहका आफन्तले भारतीय प्रहरी थानामा दिएको उजुरीबारे टोलीले एसएसबीसँग सोधपुछ समेत नगरेको बताईएको छ। धामी बेपत्ता भएपछि उक्त घटनाको मुचुल्का लिएर अनुसन्धान गर्नका लागि पागला प्रहरीलाई स्थानीय बहादुरसिह धामी र जोगासिंह धामीले उजुरीपत्र (एफआइआर) दिएका थिए।
तुइनको डोरी काटेपछि एसएसबीका जवानहरू भागेको र धामी बेपत्ता भएको उक्त उजुरीमा उल्लेख गरिएको थियो। यता दार्चुला जिल्ला प्रशासनले भने त्यसबारे छलफल भईरहेको र थप अनुसन्धान जारी रहेको बताएको छ।