घरमा एक छाँक खानै धौधौ रहेका राजन्ती धामीको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । घरमा कमाउने श्रीमान जयसिह वेपत्ता भए पछि घरमा चुल्हो बल्ने अवस्था नभएपछि भेट्न पुग्ने व्यक्तिले आर्थिक सहयोग गरेका हुन् ।
शुक्रबारसम्म विभिन्न निकाय र व्यक्तिबाट ४१ हजार रुपैयाँ आर्थिक सहयोग जम्मा भएको छ । वेपत्ता जयसिहका भाई नरेन्द्रसिह धामीका अनुसार छानबिन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई भेटी १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
यस्तै व्यास गाउँपालिकाले २५ हजार, नेकपा माओवादी विप्लव दार्चुलाका सचिव भरत मल्लले ५ हजार तथा सशस्त्र प्रहरीका नरेन्द्र बडालले एक हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । वेपत्ता धामीका घरमा एक छोरा, एक छोरी र श्रीमति छन् । छोराछोरी सानै छन् । विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने एकातिर छ ।
खेतबारी नभएपछि बैदेशिक रोजगारी खोज्न काठमाण्डौ जाने क्रममा जयसिह महाकालीमा एसएसबीले तुइन फुकालिदिदा वेपत्ता भएको स्थानीयहरुले बताउदै आएका छन् । यसअघि जयसिह दुई पटक विदेश गएका थिए । तर सोचे अनुसार काम नपाइनु तथा कोरानाका कारण छिट्टै फर्किएका थिए ।
विदेश जाँदा लागेको सात आठ लाख रुपैयाँ ऋण तिर्न नसकेपछि उनी पुन बैदेशिक रोजगारीमा जाने योजनामा थिए । घरमा कमाउने व्यक्ति वेपत्ता भएपछि घरमा निकै समस्या भएको आफन्तले बताएका छन् ।