सुदूरपश्चिमका चार लाख २० हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाईएको छ । सुदूरपश्चिम प्रदेशका झण्डै १५ प्रतिशत नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चार लाख २० हजार नागरिकले खोप पाएका हुन् ।
उनीहरुमध्ये अधिकासंले दोस्रो डोज भने पाउन बाँकी छ । प्रदेश सरकारले कोरोना खोप लगाउनुपर्ने नागरिकको तथ्याँक संकलन नगरेको भएपनि झण्डै ८५ प्रतिशत नागरिकले अझै खोप पाउन बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले संघीय सरकारले पठाएको खोप प्रदेशका नौँ वटै जिल्लाका नागरिकलाई लगाइएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले प्रदेशका सबै जिल्लामा साउन १३ गतेदेखि १७ गतेसम्म भेरोसेल र साउन १८ गतेदेखि २१ गतेसम्म जोनसोन एण्ड जोनसन खोप लगाउन निर्देशन दिएको थियो ।
भेरोसेल खोप ५५ वर्षदेखि माथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सह–चालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई लगाउन निर्देशन दिइएको थियो । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बाजुरामा खोप अभियान जारी रहेको बताए ।
जोनोसेन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) का नागरिक, हाल नेपालमा बसोबास गर्दै आएको शरणार्र्थी, स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई लगाइने भनिएको थियो । तर उक्त समूहका नागरिक सबैले भने अझै खोप पाएका छैनन् ।