डोटी जिल्ला सदरमुकाम सिलगढीबाट सोमबार बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि सरकारी डोल गएको छ। जनै पूर्णिमाको दिन लाग्ने मेलाका लागि उक्त डोल डोटीको सिलगढीबाट पठाइएको हो।
सिलगढीमा रहेको रुद्रध्वज गणको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारी सहितको सरकारी डोल बाजुरमा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो।
राणाकालदेखि जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवतरूपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहँदै आएअनुसार सरकारी डोल पठाएको निमित्त प्रमुख जिल्ला अधिकारी मधुकृष्ण पौड्यालले बताए। सरकारी डोल बडिमालिका मन्दिरमा पुग्न कम्तीमा पनि एक हप्ताको समय लाग्ने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ। बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट बर्सेनि डोल लैजाने चलन छ।
सुदूरपश्चिम प्रदेशको बाजुरामा रहेको बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र भएका कारण जनैपूर्णिमाको समय उक्त मन्दिरमा भक्तजनको निकै घुइँचो लाग्ने गरेको छ। बडिमालिकामा जनैपूर्णिमाको दिन राति १२ बजेदेखि नै तीर्थयात्री पूजा गर्नका लागि लाम लागेर बस्ने चलन छ। पौराणिक कथाअनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्ने समयमा महादेवले नबोलाएको र सतिदेवीले दक्ष प्रजापतिको यज्ञस्थलमा गएर पितासित आफ्ना पति महादेवलाई नबोलाएका कारण सोधेकी थिइन्।
दक्ष प्रजापतिले महादेव भाङ, धतुरो खाने, समसानमा बास बस्ने, घाँटीमा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरि खरानी घस्ने, बाँघको छालाको पहिरन गर्ने भएकाले यज्ञमा बस्ने शोभा नभएको बताएका थिए। दक्षले त्यस्तो उत्तर दिएपछि सतिदेवीले यज्ञकुण्डमा हामफालेर देह त्यागेकी थिइन्। सतिदेवीको मृत शरीर बोकेर हिँडेका महादेव त्यहाँ पुगेपछि सतिको शरिर पतन भएकाले त्यसको नाम बडिमालिका राखिएको किंवदन्ती रहेको स्थानीयवासी बताउँछन्।