कैलाली प्रहरीले झन्डै आधा किलो सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। कतारको बिल देखाउने कैलालीको अत्तरियास्थित शैलेश्वरी सुनचाँदी पसलका सञ्चालक समीर सिजापति, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरे पक्राउ परेका हुन्।
उनीहरू बुधवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीले भने, ‘सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय माला खेतीको संयुक्त टोलीले ४ सय ४९.७७ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो।’
काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ८३४९ नम्बरको महाकाली यातायातको बसमा आज दिउँसो चेक गर्दा उक्त बसका कन्डक्टर घिमिरेको साथबाट ४९.९५ ग्राम अवैध सुनको बाला र नगद २६ हजार बरामद भएपछि थप अनुसन्धानका क्रममा झन्डै आधा किलो सुन फेला परेको हो।
भवानी घिमिरे र समीर सिजापतिको साथमा कतार दोहाको बिल रहेको तर किन्ने व्यक्तिको विवरण फरक रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।