पश्चिम नेपालको कञ्चनपुर र कैलालीमा मात्रै बसोबास गर्ने राना थारु समुदायको परम्परागत ‘तीज’ पर्वको रौनक यति बेला बस्तीमा छाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमण लाई बिर्सँदै उनीहरू तीज पर्वमा रमाएका छन् ।
राना थारु बस्तीमा डोला (पिङ) हालिएका छन् । परम्परागत पोशाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै साउनका परम्परागत गीत गुनगुनाउन सुरु गरेका छन् । विवाहित छोरीचेली माइती फर्किएका छन् । नेपाली समाज भाषा संकृतिले सम्पन्न छ । ठाउँ ठाउँमा आजका दिन तीज कार्यक्रम गरिँदै छ ।
विभिन्न जातजातिका विभिन्न संस्कृति छन् । राना थारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक गरी मनाइन्छ । एक महिनासम्म तीज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ । त्यसरी हालिएको पिङलाई डोला भनिन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् ।
पिङ हाल्न दाजुभाइ–दिदीबहिनी मिलेर जङ्गलबाट बाबियो काटेर ल्याउँछन् । र, त्यसलाई बाटेर पिङको लठ्ठा बनाइन्छ । यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको रानाथारू संस्कृतिकी जानकार प्रेमवती रानाले बताइन् । बेलडाँडी गाउँपालिकामा पनि राना थारुहरूको बाक्लो बस्ती छ ।
अन्य समुदायजस्तै रानाथारूहरु पनि रहनसहन, परम्परा, रीतिरिवाज तथा खानपिन र कला संस्कृतिमा धनी छन् । हिन्दु धर्मावलम्बीहरूले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको व्रत बस्ने धार्मिक मान्यता छ । तर, राना थारूले समुदायमा भने तीजलाई फरक तरिकाले मनाइन्छ । राना थारु समुदायमा राम्रो बरका लागि र श्रीमानको दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्यता र दीर्घायुका लागि तीज मनाइन्छ । व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, गुलगुला, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन् ।
व्रतालु महिला साँझ परेपछि नदी किनारमा गएर पूजा गर्छन् । गडरौदा जातको घाँस वा कुसमा विवाहितले सात र अविवाहितले पञ्च गाँठा पारी त्यसको पूजा गर्छन् । पूजा सकिएपछि चाँदीको गहना वा सिक्काले त्यसलाई काट्छन् अनि प्रसादको रूपमा खानाका परिकार राखेर नदीमा बगाउँछन् ।
व्रत विसर्जन गर्न नदी किनारमा जाँदै गर्दा दाजुभाइले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने गर्छन् । रानाथारू संस्कृतिमा स्नातकोत्तर तहको शोध गरेकी जीवनका अनुसार परापूर्व कालमा बेहमैयाले तिजको व्रत बसेको र त्यहीबाट यसको सुरुवात भएको विश्वास छ ।
बेहमैयाले गडरौदा जातको घाँस गँठो पारी आफ्ना भाइ भतिजाको नाम लिएर बगाउँदा बग्यो, तर त्यत्तिकै बगाउँदा बगेन । नबगेपछि बेहमैया रुन थालिन्, जुन शिव–पार्वतीले देखे । र, उनलाई रुनुको कारण सोधे । शिव–पार्वतीले बेहमैयालाई आफ्ना भाइ भतिजाका लागि व्रत बस्न र दीर्घायु कामनाका साथ गडरौदामा गाँठो पारेर नदीमा बगाउनु भनेपछि व्रत बस्ने चलन सुरु भएको किंवदन्ती छ ।
अन्य समुदायमा श्रीमानको दीर्घायुको कामना गर्दै तिज व्रत बस्ने चलन छ । यो समुदायमा भने दाजुभाइ र भतिजाको दीर्घायुको कामना गरिने रानाथारू संस्कृतिका जानकार धनीराम बताउँछन् ।
सरकारले यो समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । नेपाल रानाथारू समाजका अनुसार यो समुदायको जनसङ्ख्या करिब साढे तीन लाख छ । दुई जिल्लामा एक सय ३४ वटा गाउँमा रानाथारूको बसोबास छ । आफ्नो समुदायको भाषा, रीतिरिवाज, चाडपर्व, संस्कृति र जीवनशैली अन्य समुदायको भन्दा पृथक रहेको कृपाराम रानाले बताए ।