सुदूरपश्चिममा १० वर्षको अवधिमा ८ जनाको छाउगोठमा मृत्यु
2025/07/21, 11:43
 
dd

सुदूरपश्चिम प्रदेशमा १० वर्षको अवधिमा आठ जनाको छाउगोठमा मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार १० वर्षको अवधिमा रजस्वला भएको समयमा घर बाहिर बसेका आठ महिला तथा किशोरीहरूको मृत्यु भएको हो।

कञ्चनपुरकी २८ वर्षीय कमला आउजी दमाईँको सर्पको टोकाइबाट मृत्यु भएसँग छाउगोठमा मृत्यु हुने महिलाको सङ्ख्या आठ पुगेको प्रहरीले बताएको छ। महिनावारी भएपछि देवता रिसाउने डरले पक्की घर छाडेर कच्ची छाउगोठमा बसेकी उनको शुक्रवार राति विषालु सर्पले टोकेपछि मृत्यु भएको थियो।

बाजुरामा २०७५ पुस २४ गते छाउगोठमा हृदयविदारक घटना घटेको थियो। रजस्वला भएपछि ३५ वर्षीय अम्बा बोहरा आफ्ना दुई छोरा १२ वर्षीय सुरेश र नौ वर्षीय रमितलाई लिएर छाउगोठमा बसेका बेला गोठ जल्दा तीनै जनाको मृत्यु भयो। जिल्लाको बुढीनन्दा नगरपालिका–९, अगाउपानीका उनीहरूको एकै चिहान भएको थियो। सुदूरपश्चिममा १० वर्षको अवधिमा एक जना बलात्कृत भएको र एक महिलामाथि बाघले आक्रमण गरेको प्रदेश प्रहरी कार्यालय, धनगढीले बताएको छ।

अछाममा चार, बाजुरामा तीन र कञ्चनपुरमा एक जनाको छाउगोठमा ज्यान गएको छ। २०७६ कात्तिक १५ गते अछामको साँफेबगर नगरपालिका–३, डिग्रेनीकी २२ वर्षीय पार्वती बुढा रावतको गोठभित्र सर्पदंशबाट ज्यान गएको थियो। यस्तै २०७३ कात्तिक ५ गते तिमिल्सेनकी४५ वर्षीय डम्मरा उपाध्यायले गोठभित्र निसासिएर ज्यान गएको छ। गाजराकी १५ वर्षीय रोशनी तिरुवाले २०७३ कात्तिक ५ र तुर्माखाँद गाउँपालिका–३ की २१ वर्षीय गौरी वयक बुढाले २०७४ पुस २७ गते निसासिएर गोठमा ज्यान गुमाउनु परेको छ।

प्रदेशमा २०७० सालभन्दा अगाडि पनि थुप्रै महिलाले छाउगोठमा अकालमै ज्यान गुमाएका छन्। यसै गरी घरभन्दा केही पर एक्लै गोठमा बस्ने कारणले उनीहरू गोठमै बलात्कारको सिकार पनि भइरहेका छन्। गत असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–२ की १६ वर्षीय किशोरी छाउगोठमा बलात्कृत भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ। यस्तै गएको माघ १४ गते कैलालीको मोहन्याल गाउँपालिका–७, कुइनेकी ४५ वर्षीय सरस्वती वन्यजन्तुको आक्रमणबाट घाइते भएकी छन्। छाउगोठमा सुतिरहेको अवस्थामा उनीमाथि बाघले आक्रमण गरेको प्रहरीले बताएको छ।

रजस्वला महिलाको प्राकृतिक र नियमित मासिक प्रक्रिया हो। तर, रजस्वला भएपछि छुवाछुत र देवीदेवताको डर मान्ने कुसंस्कारका कारण छाउगोठमा महिलाले अकालमै ज्यान गुमाउने क्रम रोकिएको छैन।

मुलुकी अपराधसंहिता ऐन, २०७५ ले छाउपडी कुप्रथालाई बन्देज गरेपछि २०७६ मा यस प्रदेशभरि प्रहरीले नै छाउगोठ भत्काउने अभियान थालेको थियो। अछाम, बाजुरा, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लामा छाउगोठ भत्काइए पनि फेरि त्यस्ता गोठ बनाइएको छ।

कमला आउजीको मृत्युपछि कञ्चनपुर जिल्लामा प्रशासनले सबै छाउगोठ भत्काउने अभियान चलाउन नौ वटै स्थानीय तहलाई पत्राचार गरेको छ।