गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग
2021/08/12, 6:06
 
ss

२८ साउन, धनगढी । कैलालीको गेटामा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग गरिएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै विभिन्न आठ विद्यार्थी संगठनले मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याएर सञ्चालन गर्न माग गरेका हुन् ।

गेटालाई मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन गर्ने भन्ने बहस चलिरहेका बेला विद्यार्थी संगठनहरुले भने मेडिकल कलेजलाई विश्वविद्यालय मातहत ल्याउन माग गरेका छन् । शिक्षाको क्षेत्र फराकिलो बनाउन नसकिने प्रतिष्ठान जस्तो पुरानो प्रणालीमा नलगेर मेडिकल कलेजकै रुपमा सञ्चालन गर्नुपर्ने उनीहरुको आग्रह छ ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेमा नेकपा एमाले निकट अनेरास्ववियू, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा विप्लव निकट अनेरास्ववियू क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौं, राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र वैज्ञानिक समाजवादी विद्यार्थी सगठन छन् ।

 विद्यार्थी संगठनले ज्ञापन पत्र पठाउँदै तत्काल शैक्षिक कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन्। ‘हालसम्म पनि मेडिकल कलेज संचालनको सन्दर्भमा राज्यले देखाएको उदासिनताले हामी सबै चिन्तित भएका छौँ,’ ज्ञापना पत्रमा भनिएको छ, ‘प्रस्तावित गेटा मेडिकल कलेजको प्रक्रिया अगाडी बढाउने सन्दर्भमा शैक्षिक कार्यक्रम संचालनको मोडेल अझै तयार भएको छैन। अहिले आएर मेडिकल कलेजको रुपमा अगाडि बढाउने वा छुट्टै स्वायत्त प्रतिष्ठान बनाएर संचालन गर्ने भन्ने विषयमा छलफल भएको देखिन्छ। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत ल्याएर मेडिकल कलेजको रुपमा अगाडि बढाउन सान्दर्भिक र वैज्ञानिक हुनेछ।’

मेडिकल कलेजलाई तत्काल सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत ल्याएर शैक्षिक कार्यक्रम संचालनको नमूना तयार गरि आगामी वर्षदेखि प्रारम्भिक चरणको अध्ययन÷अध्यापन सुचारु गर्न राज्यसंग विद्यार्थी संगठनले माग गरेका छन्। गेटा मेडिकल कलेजको निर्माण अन्तिम चरणमा पुगेपनि सञ्चालनको प्रारुप भने अझै टुंगो लागेको छैन। मेडिकल विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेज कुन प्रारुपमा सञ्चालन गर्ने विषयमा टुंगो नलागेको हो। 

2