आकाशमा बादल देखेपछि तर्सिन्छन् कैलालीको भजनीका नागरिक
छैन बाढीको पूर्व तयारी: जनता सधैं बिचल्लीमा
2021/08/12, 6:12
 
dd

वर्षायाममा कैलालीको भजनीका नागरिक हरेक वर्ष समस्यामा पर्छन्। वर्षौदेखि नदी कटान र डुबानको समस्या खेप्दै आएका भजनीबासी हरेक वर्ष आफ्ना पीडा पोख्दै विभिन्न निकायमा पुग्दछन् । तर, हालसम्म आफ्ना पीडा बुझ्ने सरकार उनीहरुले पाएका छैनन्। देशमा ३ तहको सरकार हुँदा पनि भजनीबासी पीडा सुन्ने निकाय भेटिएको छैन।

पूर्वतर्फ कर्णाली नदी, दक्षिणमा मोहना, उत्तरबाट बग्ने कान्द्रा, काँडा र पथरैयाको बीचमा भजनी नगरपालिका पर्छ। अलि ठूलो पानी पर्नेबित्तिकै कुन नदी गाउँमा पस्ने हो भन्ने चिन्ताले पिरोलिन्छन् नगरबासी। ‘चारैतिर नदी भएपछि वर्षायाममा सुरक्षित हुने कुरै भएन,’ भजनी नगरपालिका-४ का प्रविन चौधरीले भन्छन्, ‘वर्षा सुरु हुनेबित्तिकै बाढीको चिन्ताले तर्साउँछ, ३ महिना राम्ररी सुत्न पनि सकिँदैन।’ 

भजनी-८, का करकबहादुर शाहीलाई वर्षायाममा आकाशमा बादल लाग्दा पनि डर लाग्छ। पानी परेको रात उनी निदाउँदैनन्। गतवर्ष साउनको बाढीले उनलाई जीवनभर नभुल्ने पीडा दियो। घरबाट निस्केर सुरक्षित ठाउँमा जान पनि मुस्किल भयो। घर डुबानमा परेको खबर पाएर टीकापुरमा रहेका उनका ३५ वर्षीय छोरा इश्वर आफन्तलाई सुरक्षित स्थानमा सार्न भनेर भजनी जाँदै थिए। भजनीको काँडाढिकनजिकै हुलाकी सडकबाटै बाढीले बगाउँदा उनीसहित तीन जनाले ज्यान गुमाए। 

बाढीबाट विस्थापित भएका कारण मृतकका परिवारले राम्ररी दाहसंस्कार र काजकिरिया गर्नसमेत नपाएको स्थानीय बताउँछन्।  ‘साउन १४ गते घटना भयो। बाढीले त्यही दिन हामी विस्थापित भयौँ। बाढी नसुक्दै पानी पर्ने गरेकाले भदौ १ गते मात्र घर फर्कन पाएका थियौँँ’ करक बहादुर गतवर्षको पीडा सुनाउँछन्। यसपाली पनि त्यस्तै बाढी दोहोरिएला भन्ने डरले साउन महिनाभर राति सुत्न नसकेको उनले जानकारी दिए।

चुरेमा पानी पर्दा नदीमा आउने बाढीले समेत यो क्षेत्र डुबानमा पर्ने भएकाले बादल लाग्दा पनि स्थानीय त्रसित हुन्छन्। अत्यधिक वर्षा हुँदा पथरैया र काँडा नदी तथा गौरीनालालगायत खोलामा आउने बाढी पस्दा वडा नम्बर ८ का अधिकांश बस्ती डुबानमा पर्छन्।

यो वडामा मात्रै गत वर्ष साउनमा एक हजार परिवार विस्थापित भएका थिए। सतहभन्दा अग्लो भएकाले डुबान हुँदा अधिकांश विस्थापित हुलाकी सडकमा बस्ने गर्छन्। त्यति धेरै वर्षा नभएकाले यसपालि बाढी र डुबानको समस्या आइसकेको छैन।

न पूर्वाधार निर्माण न पूर्वतयारी

यहाँका स्थानीयले बाढी र डुबानको समस्या हरेक वर्षायाममा भोग्नुपर्छ। तर, समस्या न्यूनीकरणका लागि कुनै पनि तहका सरकारले चासो नदिएको उनीहरूको गुनासो छ। बाढी नियन्त्रणका लागि नदीमा तटबन्ध, बाढी आएका बेला बस्न सुरक्षित सामुदायिक भवनको व्यवस्था जस्ता तयारी हुन सकेको छैन। न प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने पहल भएको छ। 

‘जुन ठाउँबाट नदीको भंगालो गाउँ पस्छ, ती ठाउँमा समेत तटबन्ध बनेका छैनन्’ वडा नम्बर ८ का वडा सदस्य कृष्णलाल धमला भन्छन् ‘उच्च ड्याम सहितको तटबन्ध बन्न सके डुबानको समस्या धेरै हदसम्म कम हुन्थ्यो।’ रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाले केही ठाउँमा तटबन्ध निर्माणका लागि सम्झौता गरे पनि काम नभएको उनले बताए।

 बाढी आएका वेला सुरक्षित स्थानमा जान बस्तीमा डुंगा, लाइफ ज्याकेटलगायत सामानको समेत अभाव रहेको धमलाले जानकारी दिए।  भजनीस्थित चर्राका स्थानीय रमेश डगौराका अनुसार भजनीका नागरिकले नदीमा स्थायी ड्याम निर्माण गरिनु पर्ने वा बाढी नलाग्ने सुरक्षित स्थानमा स्थायी बसोवास गर्न दिइनु पर्ने माग राख्दै आएका छन्। तर, दुईवटै माग वर्षौदेखि कसैले सुनेका छैनन्। 

‘हाम्रा दुई वटा मात्रे माग छन्,’ डगौराले भने, ‘वर्षौँदेखि हाम्रा माग पूरा भएका छैनन्। अन्तै गएर बस्न पनि सकिँदैन।’स्थानीय लखन चौधरीका अनुसार यी मागलाई सुदूरपश्चिम प्रदेश सरकारले पूरा गर्ने आश्वासनसमेत दिएको थियो। प्रदेश सरकारको आश्वासनले पनि कुनै काम नगरेको यस वर्षको बजेटमा यो विषय कतै नसमेटिएको चौधरी बताउँछन्। ​

डुबानपछि हरेक पटक राहत र क्षतिपूर्तिमै सरकारका ठूलो रकम खर्च हुने गरे पनि स्थायी समाधानको उपायतर्फ ध्यान नदिएको भजनीका शिक्षक रमेश बोहराको गुनासो छ। डुबान हुने स्थानमा बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरे समस्या दिगो रुपमा समाधान हुने उनी बताउँछन्। 

‘हामीले हरेक वर्ष सरकारलाई सुरक्षित स्थानको माग गर्दै आएका छौँ,’ शिक्षक बाहराले भने, ‘तर, सरकार डुबानपछि चाउचाउ र चिउरा लिएर आउँछ। हामी यसरी कहिलेसम्म बाँच्ने?’ सुरक्षित स्थानमा एकिकृत बस्ती बनाएर बस्न दिए भजनीबासीले हाल प्रयोग गर्दै आएको जमिनमा खेती गरेर बाँच्न सक्ने उनको भनाइ छ। 

‘डुबानपछि सस्तो लोकप्रियता कमाउन धेरैले दुई/चार पाकेट चिउरा र चाउचाउ लिएर आउने गरेका छन्,’ उनले भने, ‘त्यसले हाम्रो एक छाक टर्ला। तर, मनको त्रास र चिन्ता त हट्दैन। हामीलाई भोक भन्दा वर्षेनीको त्रास हटाउने ‘राहत’ चाहिएको छ।’ 

चुनावका बेला उम्मेदवार बनेका मेयर, वडा अध्यक्ष, प्रदेशसभा सदस्य तथा संघीय सांसदको एउटै एजेन्डा भजनीको डुबान समस्या समाधान नै हुन्छ। तर, त्यो आश्वासन चुनावी नारामै सीमित हुने गरेको स्थानीयको गुनासो छ।

‘चुनावतामा भोट माग्ने सबैले डुबान समस्या समाधान गर्ने आश्वासन दिए,’ स्थानीय देवीलाल डगौरा भन्छन्, ‘अहिले कोही फर्केर आउँदैनन्।’  हरेक वर्ष वर्षायाम सुरु भएपछि बाढी नपस्ने ठाउँ जंगल रोज्न हतारिनु पर्ने आफूहरुको बाध्यता रहेको वडा नम्बर-७ कै राम प्रसाद डगौरा गुनासो गर्छन्।

नदीमा पानीको सतह बढेसँगै बस्तीमा ५/६ फिट पानी जम्ने राम प्रासादले जानकारी दिए।  यस्तो अवस्थामा एक हप्ता भन्दा बढी जंगलको बास हुने गरेको उनले सुनाए।  गाउँको बीचमा बाँध जस्तै अग्लो हुलाकी सडक निर्माण भएपछि लालबोझीमा झनै डुबान समस्या बढेको स्थानीयको भनाइ छ। 

भजनीको लालबोझिसँगै चर्रा, लवास्टपुर र दक्षिणपुर गाउँ मोहना र कान्द्रा नदीको डुबान चपेटामा पर्दै आएका छन्। नदीमा ड्याम बनाएर डुबान समस्या समाधान गर्ने योजना रहे पनि बजेट अभावले समस्या हुने गरेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरी बताउँछन्।   

भजनीका करिब दुई हजारदेखि पच्चीस सय परिवार वर्षेनी डुबानको मार खेप्दै आएका छन्। ‘ठूलो बस्ती भएकाले स्थानान्तरणको सम्भावना छैन। बरु नदीमा उचो ड्याम बनाएर डुबान समस्या समाधान गर्न सकिन्छ’ नगर प्रमुख चौधरी भन्छन्। 

वर्षेनी सबै भन्दा बढी क्षति कान्द्रा नदीले पुर्याउँदै आएको उनले बताए। ‘सो नदीको दुवैतर्फ तटबन्ध निर्माण गर्दै ड्याम निर्माण गर्न सके समस्या केही समाधान हुने देखिन्छ’  चौधरी भन्छन्, ‘यसका लागि प्रदेशदेखि केन्द्रीय सरकारसँग बजेट माग गरेका छौं,’ उनले भने। यस वर्ष वडा नम्बर ५ का १३ परिवार बाहेकले घर छोड्नु नपरेको उनीहरुले बताएका छन्।

घर नदीले कटान गरेपछि आफन्तको शरणमा

भजनी नगरपालिकाका-५ का आशाराम चौधरी र उनका भाइ बुधराम चौधरीको घर कान्द्रा नदीले कटान गरेको छ। साउन दोस्रो साता आएको वर्षाले उनीहरु घरसहित जमिन नदीले कटान गरेको हो।

उनीहरु अहिले आफन्तको घरमा बसिरहेका छन्। आशारामको घर भन्दा अगाडि नदीतर्फ भाइ बुधरामको घर थियो। उनीहरुको घर भएको जमिन अहिले नदीमा पर्छ। घरको अगाडि नल्का हालेको ठाउँ अहिले नदीको बीचमै पर्छ।

‘हाम्रो नल्का उ त्यहीँ थियो’ औँलाले देखाउँदै बुधरामकी श्रीमती गीता भन्छिन्, ‘धन्न हामी बाच्यौँ, तर जमिन गयो।’ अहिले गीताको पाँच जनाको परिवार माइतीको शरणमा छ।

भाइको घर भत्काए पनि आफ्नो घर त जोगिएला कि भन्ने आशा थियो आशारामलाई त, भर थिएन। भाइको घर भत्काएको पछिल्लो दिन नै उनले आफ्नो घर पनि भत्काउनुपर्यो। हेर्दाहेर्दै उनको घर भएको जमिन पनि नदीले लगिछाड्यो।

यसअघि भाइको घर भएको पूरै जमिन नदीमा छ भने आशारामको चार/पाँच धुर जमिन मात्रै बँचेको छ। बाँकी जमिन पनि नदीले बिस्तारै काटिरहेको छ। उनले ५ गते भाइको घर भत्काएका थिए भने आफ्नो घर ६ गते भत्काए। दुई भाइको गरेर दुई कट्ठा जमिन नदीमै गयो।

घडेरी नै नदीमा गएपछि अहिले उनीहरू बिचल्लीमा परेका छन्। बाढीले गर्दा घर भत्काउनुपरेपछि अहिले उनीहरू आफन्त र छिमेकीको शरणमा छन्। आशारामका श्रीमती, छोराबुहारी, नातीलगायतको ६ जनाको परिवार गीताको माइतीमै बसिरहेको छ।  घरमा बचेको खाद्यान्न वल्लोपल्लो घरमा राखेका छन्।