कञ्चनपुरमा परिवारकै सदस्यबाट १८ दिनमा चार जनाको हत्या
2020/03/18, 12:15
 
HATYA

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा समेत घर भई डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर २ जुगेना बस्दै आएका २६ बर्षीय भरत घण्डारी आफ्नै मोटरसाईकलमा १३ फागुनमा सवारी चालक अनुमती पत्र लाईसेन्सको परिक्षा दिन महेन्द्रनगर आए।

परिक्षामा अनुत्तिर्ण भएपछि उनी डडेल्धुरास्थित आफ्नो घर तर्फ लागे तर कैलालीको गोदावरी नगरपालिका पुगिसकेपछि उनी कलुवारका लागि फिर्ता भए। सोही राती कलुवापुर घर पुगेका भण्डारीसंग बुवा ५२ बर्षीय जयलाल भण्डारीले सामान्य कुराकानी गर्दै सुत्न गए।

भरतले त्यसपछि कान्छि आमा धनासंग पनि सम्पत्ति भोगचलनका विषयमा कुराकानी गर्दा वादविवाद भयो। उनले मदिरा पिएका थिए र धारिलो हतियार प्रयोग गरी सुरुमा धनाको हत्या गरे। घर सल्लाह नगरी कान्छि भित्र्याएको भन्दे भरतको जयलालसंग पनि विवाद हुँदै आउको थियो। घर भित्र सुतेका जयलालको पनि उनले सोही हतियार प्रयोग गरी हत्या गरे। हत्यापछि उनी सोही राति डडेल्धुराका हानिए दोश्रो दिन आमाबुवाको दाहसंस्कारका लागि कलुवापुर आए। त्यसपछि फेरी डडेल्धुरा गएर हिन्दु संस्कार अनुसार काजकिरिया पनि गरे। तर अहिले हत्यामा भरतकै संग्लनता देखिएको प्रहरीले अनुसन्धानबाट खुलाएपछि भरत जिल्ला प्रहरी कार्यालयको थुनामा छन्। 

दम्पत्ति हत्याको दुई साता पनि बितेको थिएन फेरी कञ्चनपुरमै अर्को बिभत्स हत्याको घटना सार्वजनिक भयो। जिल्लाको  भीमदत्तनगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ वर्षिया छोरा सुर्वण चन्दको छुरा प्रहार गरी हत्या गरे। डम्बर चन्दले गत फागुन २२ गते सहोदर दाजु गणेश चन्दलाई पनि चिरपटले हानेर घाइते बनाएका थिए। प्रहरीलाई खबर गरेपछि सोही दिन कुटपिट गर्ने चन्द प्रहरी नियन्त्रणमा पनि पुगेका थिए।

कुटपिट भएको दोस्रो दिन फागुन २३ गते भाइको कुटाइबाट घाइते भएका गणेश ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगे। चन्दको मुद्दा सुनुवाइ नभएको एक साता नबित्दै कुटपिट गर्ने डम्बरले २८ गते बुधवार साँझ आफ्नै छोरा १४ वर्षीय सुर्वणको हत्या गरेका हुन्। लामो समयदेखि मादक पदार्थ सेवन गरेर घरेलु हिंसा गर्दै आएका अभियुक्त डम्बरले छोराको घाँटीमा कैँची प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

बुवाले नै छोराको हत्या गरेको उक्त घटनामा प्रहरी अनुसनधान नै गरिरहेको थियो फेरी कञ्चनपुरमै लाठी प्रहार गरी श्रीमतीको हत्या भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्वर ८ क गाउँमा ६३ वर्षीया सफली बयाडीले ६० वर्षीया श्रीमती खन्जरी बयाडीको हत्या गरेका हुन्। आईतवार लाठी प्रहारबाट घाईते भएकी खन्जरीको मंगलवार मृत्यु भएको हो। नेपालगञ्जबाट उपचार गराएर घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन्। खन्जरीको मृत्युपछि मात्रै उक्त घटना बारे प्रहरीलाई जानकारी दिईएको थियो। अहिले हत्यामा संग्लन भनिएका सफली प्रहरी नियन्त्रणमा छन्।

कञ्चनपुरमा भइरहेका अधिकांस यस्ता घटनामा मादक पदार्थको प्रभाव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए। उनले भने, ‘पछिल्लो समय सार्वजनिक भएका तीन वटै केसमा मादक पदार्थ सेवन गरेरै अपराध भएको थियो। भरतले आमाबुवाको हत्या गर्दा, डम्मरले छोराको हत्या गर्दा र सफलीले श्रीमतीको हत्या गर्दा तीनै जनाले नै मादक पदार्थ सेवन गरेका थिए।’ उनका अनुसार पारिवारीक झै–झगडा र सम्पत्तिको भोगचलन विवादका कारण अपराध बढ्दै गएको छ।