धान खेतभित्र माछा र हाँस पालन, अतिरिक्त आम्दानी
2021/08/18, 2:46
 
dd

कञ्चनपुरको बेलौरी नगरपालिका-६ हात्तिबोझाका आश्रय बडायकले ७ कठ्ठा जमिनमा धान खेती गरेका छन् । त्यसो त यो क्षेत्रका सबैको मुख्य बाली धान नै हो । तर बढायकले भने खेतमा धानबाहेक आम्दानीको अरु क्षेत्र पनि समेटेका छन् । उनले धान खेतभित्र माछा पालेका छन् र हाँस पनि पालेका छन् ।

आफूसँग भएको जग्गालाई भिन्न ढंगबाट प्रयोगमा ल्याए मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, बडायक । धान खेलमा माछा र हाँस पनि पाल्न थालेपछि उनीसँग यो विधि सिक्न आउने किसानहरूको पनि संख्या बढिरहेको छ । ‘धान मात्रै लगाएर पनि फाइदा भइरहेको थियो । त्यहिँ माछा र हाँस पनि पालेपछि तेब्बर फाइदा भइरहेको छ,’ उनले भने, ‘सानो क्षेत्रबाट पनि धेरै फाइदा लिन सकिन्छ भन्ने कुरा मैले अरू किसानलाई पनि सिकाउँदै आइरहेको छु ।’

गत वर्ष उनले धान र हाँस पालेका थिए । ७ कठ्ठामा २२ हजारको धान हुँदा ४८ हजारको हाँस बेचेको उनको अनुभव छ । यस बर्ष माछा पनि थप भएपछि थप फाइदा हुने भन्दै उनी उत्साहित छन् । ‘गत वर्ष सात कट्ठामा धान भित्र हाँस पालेको निकै राम्रो भयो । यस बर्ष त्यसमा माछा पनि थपेको छु’ उनले भने ‘अर्काे बर्ष देखि अझै धेरै जग्गामा उत्पादन गर्ने लक्ष्य छ ।’ साढे छ बिगा आफ्नो जग्गा र थप साढे ३ बिगा जग्गा लिजमा लिएर कृषि पेसा गरिरहेका छन् । घर ननिकै ७ कट्ठामा धान भित्र माछा र हाँस पालेको भएपनि अन्य क्षेत्रमा धान र उखु लगाएका छन् ।

प्रविधिको प्रयोग

बिहानै खेतबारी जाने आफ्नो उत्पादनको अवस्था हेर्ने र फर्किने । बडायकको दैनिक अहिले यसरी नै बितिरहेको छ । उनी आफू मात्रै होइन घरका अरू सदस्यलाई पनि कृषि पेसा तर्फ आकर्षित गरिरहेका छन् । ९ बर्ष पहिले बाट कृषि पेसामा रहेका रानाले पछिल्लो ६ बर्ष यता भने प्रविधिको माध्यमबाट उत्पादन बढाइरहेका छन् ।

‘कृषि पेसा मात्रै गर्न लागेको त १० वर्ष हुन थाल्यो’ उनी भन्छन् ‘तर पछिल्लो ६ वर्ष देखि प्रविधिको माध्यमबाट उत्पादन गरिरहेको छु ।’ उनले प्रविधिको माध्यमबाट उत्पादन गर्न थालेपछि मनग्गे आम्दानी समेत हुन थालेको सुनाए । उनी मौसम अनुसार धन ,गहुँ, आलु, तोरी मसुरो, उखु र मकै उत्पादन गर्ने गरेका छन् ।

बडायकले वार्षिक रुपमा २५ लाख भन्दा बढी आम्दानी गरिरहेको छन् । उनी धान रोप्ने देखि काट्ने सम्म प्रविधिकै माध्यबाट गर्छन् । यसले लागत कम हुने र आम्दानी बढि हुने गरेको उनी बताउँछन् । छरुवा धान प्रविधिबाट खेती गर्दा लागत कम हुने र उत्पादन बढ्ने गरेको उनले बताए ।

उखुको विउमा आफ्नै प्रविधि

उखुको बिउ पनि उनी आफै तयार गर्ने गरेका छन् । परम्परागत शैलीमा उखु लगाउँदा एक बिघा क्षेत्रफलका लागि ८० क्वीन्टल उखु चाहिन्छ । तर, उनले उत्पादन गरेको नर्सरी विधिबाट उखु लगाउँदा एक बिघाको लागि २० क्वीन्टल उखु भए पुग्ने उनको दाबी छ । ‘३० क्वीन्टल उखुको मूल्यले त सिंचाइ खर्च र लगाउँदाको लगानी पनि उठाउँछ’ उनी भन्छन् ‘यो विधिबाट लगाएको उखुको उत्पादन पनि निकै राम्रो छ ।’

उनका अनुसार परम्परागत शैलीले लगाएको उखुबाट प्रति बिघा ५ सय क्वीन्टल उखु उत्पादन हुने गरेको छ । उनले तयार गरेको नर्सरी विउबाट प्रति बिघा १५ सय क्वीन्टल उखु उत्पादन हुने गरेको उनी बताउँछन् । ‘यस वर्ष विउ अझै राम्रो भएको छ । त्यसैले एक बिघामा २ हजार क्वीन्टल उखु उत्पादन गर्ने मेरो लक्ष्य छ,’ उनी भन्छन् ‘कृषिबाट पनि धेरै आम्दानी गर्न सकिने रहेछ भनेर अरूलाई पनि सिकाउँदै आइरहेको छु ।’