कञ्चनपुरको महाकाली किनारको भाइरल रोडमा भोलीदेखि घुमफिर बन्द
2021/08/28, 11:17
 
ss

कञ्चनपुरको महाकाली नदी किनारमा निर्माणाधीन ६ लेन सडकमा अत्यधिक भीडभाड बढेपछि प्रशासनले घुमफिरका लागि बन्द गर्ने निर्णय गरेको छ । स्वास्थ्य मापदण्डको पालन नभएको र उच्छृंखल गतिविधिहरू बढेपछि प्रशासनले आइतबार (भोली)देखि उक्त क्षेत्र घुमफिरका लागि बन्द गरेको हो ।

महाकालीमा निर्माणाधीन ४ लेनको पक्की पुलसँगै ६ लेनको सडक हेर्नका लागि स्थानीयसँगै अन्यत्रबाट समेत ठूलो भीड लाग्न थालेको थियो । जसका कारण उक्त क्षेत्र कोरोना संक्रमणको हट स्पट बन्ने खतरासमेत बढेको छ । यसबाहेक अनियन्त्रित रूपमा सवारीसाधन हाँक्ने र महिला तथा युवतीमाथि दुर्व्यवहारसमेत बढेको कारण बन्द गरिएको प्रशासनले जनाएको छ ।

स्वास्थ्य मापदण्डका हिसाबले समेत उक्त क्षेत्रमा निकै जोखिम देखिएको र  उक्त क्षेत्रमा निर्माणको काम चलिरहेकोले निर्माण कम्पनीलाई समेत बाधा भएकोले बन्द गर्न लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । 

उनले कोरोना संक्रमणसँगै निर्माण कार्यमा भएको बाधा र युवाहरूबाट हुन थालेका अनैतिक गतिविधिका कारण उक्त क्षेत्र बन्द गर्नुपर्ने अवस्था आएको बताए । बिनाकाम बाहिरको मान्छेलाई उक्त क्षेत्रमा आउजाउ पुर्ण रुपमा रोक लगाईएको जनाएको छ । 

महाकाली नदी किनारमा निर्माणाधीन चिल्लो सडकमा टिकटक तथा भिडियो बनाउने भीड लाग्ने गरेको छ । बिदाका दिन अझ बढी भीड हुने गरेको छ । जसका कारण कोरोना संक्रमणको जोखिमसमेत बढाएको छ ।