सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पताल भरिभराउ, स्थानीय तहलाई आईसोलेसन भवन निर्माण गर्न पत्राचार
2020/06/13, 2:08
 
korona

सुदूरपश्चिम प्रदेशमा कोराना संक्रमितको सख्या बढ्दै गएपछि अस्पतालमा जनशक्ती र ठाउँको अभाव खट्किन थालेको छ । सुदूरपश्चिममा कोभिड १९ को रिफर सेन्टरको रुपमा रहेका सेती प्रादेशिक अस्पतालले विशेषज्ञ सेवा दिनुपर्ने बाहेकका संक्रमितलाई जिल्ला तथा स्थानीय तहलाई रिफर नगर्नु भनिसकेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयले एकदमै जटिल केसका संक्रमितलाई बाहेक अन्यलाई बेड भर्ना गर्न नसकिने बताए । ’प्रदेश सरकारले कोभिड १९ को लागि निर्माण गरेको ५० बेड क्षमताको भवनमा सेती अस्पतालले संक्रमितलाई भर्ना गरेर सेवा दिन थालेको छ,’ उनले भने, ’अहिले यहाँ ३४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।’ जनशक्ती अभावले ५० जनाभन्दा बढी संक्रमितलाई सेवा दिन सक्ने अवस्थामा नरहेको उनी बताउँछन् । ‘सेतीले दैनिक ३ सयभन्दा बढी अन्य बिरामीलाई पनि सेवा दिनु परिरहेको छ,’ उनले भने ।

सेतीमा चाप घटाउन अन्य जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रको क्षमता र सेवा विस्तार गर्नुपर्ने उनको सुझाव छ । अस्पतालमै भर्ना गर्नु नपर्ने लक्षण नदिएका संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था स्थानीय तह आफैले गर्नुपर्ने उनले बताए । सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी पनि कोरोना पोजिटिभ देखिएका सबैलाई अस्पतालमा भर्ना गर्न नसकिने अवस्था रहेको बताउँछन् ।

‘लक्षण नदेखिएका संक्रमितलाई घर वा स्थानीय तहले बनाएका आइसोलेसनमा राख्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मात्रै अस्पताल पु¥याउने भनेका छौं ।’ उनका अनुसार सुदूरपश्चिमका ८८ वटै स्थानीय तहलाई ५०, ५० बेडको आईसोलेसन भवन समेत तयार पार्न पत्र नै पठाईएको छ ।


एक महिनामा एक लाख भित्रिए
भारतबाट सुदूरपश्चिम भित्रिने चार नाकाबाट जेठ महिनामा एक लाखभन्दा बढी नेपाली भित्रिएका छन् । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै हालसम्म साढे ७२ हजार भित्रिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । सुदूरपश्चिमको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको नाकाबाट ३० हजारभन्दा बढी भित्रिएको स्थानीय प्रशासनले जनाएका छन् ।

यो साता गौरीफन्टा नाकाबाट भित्रिनेको संख्यामा भने कमी आएको छ । भारतबाट आउनेका लागि जेठ ७ गते गौरीफन्टा नाका खुला गरिएको थियो । सुरुवाती सातामा दैनिक ५ हजारको संख्यामा नेपाली भित्रिएका थिए ।