सुदूरपश्चिम प्रदेशमा थपिदैं होमस्टे
2021/09/05, 11:39
 
dd

सुदूरपश्चिम प्रदेशमा होमस्टे थपिदैं गएको छ । पछिल्लो समय स्थानीय समुदायको पर्यटन व्यवसायमा आकर्षण बढेसंगै होमस्टे सङ्ख्या बढ्न थालेको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार प्रदेशभरि १३ वटा होमस्टे दर्ता भएका छन् । दर्ता भएका होमस्टेहरु सात वटा सामुदायिक र छ वटा निजी रहेका छन् । प्रदेशमा रहेका १३ वटा होमस्टेमध्ये १० वटा मन्त्रालयमा दर्ता रहेको जनाइएको छ ।

कैलालीमा सबैभन्दा बढी सामुदायिक होमस्टे सञ्चालन भएका मन्त्रालयका भरत श्रेष्ठले जानकारी दिए । यो जिल्लामा भादा थारु गाउँ सामुदायिक होमस्टे, माघी थारु सामुदायिक होमस्टे, बसन्ता कोरीडोर थारु होमस्टे र बसेरा थारु होमस्टे सञ्चालनमा रहेको छ ।यस्तै कञ्चनपुरमा राना थारु सामुदायिक होमस्टे, विजयसाल होमस्टे, बझाङमा मुनाल कृषि तथा पर्यटन होमस्टे, बैतडीमा सुशीला होमस्टे, विष्णा होमस्टे, डडेल्धुरामा डोटेली होमस्टे, डोटीमा खप्तड होमस्टे र अछाममा कैलाशवेशी एग्रो होमस्टे सञ्चालनमा रहेका छन् ।

सामुदायिक होमस्टेमा थारु समुदायको आकर्षण बढी देखिएको मन्त्रालयले जानकारी दिएको छ । होमस्टेको सङ्ख्या बढ्दै जानूले पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।प्रदेशमा सन २०११ को भ्रमण वर्षको अवसर पारेर सबैभन्दा पहिले भादामा भादा थारु गाउँ सामुदायिक होमस्टे सञ्चालन भएको थियो । स्थानीय कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन र स्थानीयस्तरमा पाइने परिकारकारलाई व्यवसायीकरण गरेर आर्थिक लाभ गर्ने उद्देश्यका साथ सो होमस्टे सञ्चालन गरिएको थियो ।

होमस्टेप्रति स्थानीय समुदायको आकर्षण बढ्दै गएको छ । यसैगरी, होमस्टेमा विदेशी र स्वदेशी पर्यटक पनि पुग्ने गरेका छन् । यद्यपि, पछिल्लो समय कोभिडका कारण समग्र पर्यटन व्यवसाय नै थला परेको छ । थारु समुदायले समुदायले सञ्चालन गरेको सामुदायिक होमस्टेमा विशेष गरेर अन्दीको भात, घोङ्घीको तरकारी, गङ्गटाको चट्नी, ढिक्री, फुलौरी, खरिया जस्ता परिकारको स्वाद लिन पाईन्छ । यसैगरी, स्थानीय सखिया, झुमरा, हुर्डुङ्ग्वा, होरी जस्ता नृत्य पनि अवलोकन गर्न पाईन्छ ।