नदी उत्खननले बाढीको जोखिममा टीकापुर
2020/06/13, 4:18
 
sima

कैलाली जिल्लाको टीकापुर नगरपालिकाअन्तर्गत पर्ने कर्णाली नदीबाट जथाभावी नदीजन्य पदार्थको उत्खनन हुन थालेपछि टीकापुर बाढी र डुबानको उच्च जोखिममा परेको छ। नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि निश्चित मापदण्ड बनाएर ठेकेदार कम्पनीलाई ठेक्का सम्झौता दिएको भए पनि ठेकेदार कम्पनीले मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरेपछि टीकापुर बाढी र डुबानको जोखिममा पर्ने देखिएको हो।

रेखा निर्माण सेवालाई वार्षिक ५२ लाखमा नगरपालिकाले ठेक्का दिएको भए पनि नदीबाट जथाभावी उत्खनन गरिँदा नदीले कटान शुरु गरेसँगै टीकापुर नगरपालिका बाढी र डुबानको  उच्च जोखिममा परेको छ। गत वर्ष पनि वर्षात्को समयमा कर्णाली नदीले कटान गर्न थालेपछि टीकापुरवासीले त्रासमा बस्नुपरेको थियो।

स्थानीयवासी उपेन्द्र साउदले नदीजन्य पदार्थको उत्खनन गरी आम्दानीको स्रोत बनाउनु राम्रो भए पनि त्यसको अनुगमन हुन नसक्दा ठेकेदारको मनपरीले विपत्ति ल्याउने बताए। कर्णाली नदीसँगै सामुदायिक वनसमेत जोडिएका छन्। अहिलेसम्म सयौँ बिघा वन क्षेत्र नदीको चपेटामा परिसकेको छ भने रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गर्दै आएको तटबन्धको काम पूरा हुन नसक्दा जोखिम कम हुन नसकेको गुनासो वर्षेनी आउने गरेको छ।

नगरपालिकाका इञ्जीनियर नवराज जोशीले ठेक्का सम्झौताको बारेमा आफूहरुलाई थाहा नहुने बताउँदै राजश्व शाखालाई देखाएका छन्। “नदीजन्य पदार्थको उत्खननको कुरा हामीलाई थाहा छैन”, इञ्जीनियर जोशीले भने, “त्यो राजश्वले हेर्छ।”

त्यस्तै टीकापुरमा सडक निर्माण कार्य सञ्चालन नहुँदा वर्षात्को समयमा डुबानको जोखिम बढेको छ। नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट टीकापुर नगरपालिका–१ को ‘ब्लक ए’ भित्रका सडक कालोपत्र र नाली निर्माणको काम लकडाउनका कारण रोकिएको छ भने टीकापुरको जमरा पुलदेखि बसपार्कसम्म निर्माण भइरहेको ६ लेनको सडक निर्माणकार्यसमेत सञ्चालन हुन नसकेपछि सडक किनारामा भइरहेको ढल निर्माण कार्य पनि रोकिएको छ। निर्माण कम्पनीले निर्माण सामग्री लथालिङ्ग अवस्थामा छोडेका कारण वर्षात्को समय शुरु नहुँदै सामान्य झरीमै बजार क्षेत्रमा डुबान हुन थालेको छ।

डुबान हुन थालेपछि टीकापुर नगरपालिकाले आफ्नो स्काभेटरको प्रयोग गरी केही ठाउँमा निकास खोल्ने कामसमेत गरेको छ। नाली बनाउँदा थुपारेको माटोका कारण पानी निकास हुने अवस्थामा छैन। निर्माण कम्पनीका इञ्जीनियर गगनसिंह शाहीले अहिलेकै अवस्थामा काम अगाडि बढाउन नसकिने भन्दै डुबानको जोखिमलाई कम गर्न निकास खोलिने बताए। उनले बन्दाबन्दीको समयमा काम गर्न खोजेको बताउँदै नगरपालिकाले कामको अख्तियारी नदिएको बताए।