संरक्षण क्षेत्र नरहेको कैलालीमा चराको उपस्थिति बढ्दै गएको छ । ठूला सिमसार लगायत बढी वन क्षेत्र रहेका कारण यो जिल्लामा चराको उपस्थिति बढ्दै गएको हो । जिल्लामा ४९६ प्रजातिका चरा पाइने गरेका छन् । विश्वरामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमामात्रै ३६० प्रजातिको चरा पाइने गर्दछन् । पछिल्लो समय मोहना नदीमा हजारौंको सङ्ख्यामा पानी गौथली चरा फेला परेका छन् । नेपालमा संकटको नजिक पुुगेको पानी गौथली कैलारी गाउँपालिका–४ स्थित भितरियामा फेला परेका हुन ।
सो ठाउँमा तीन हजार ५६४ वटा पानी गौथली भेटिएको चराविदसमेत रहेका पंक्षी संरक्षण संघ नेपालका प्रतिनिधि हिरुलाल डङ्गौराले जानकारी दिए । गतवर्ष सोही ठाउँमा १० हजार १० हजार ५५३ वटा पानी गौथली फेला परेका थिए । ‘यो वर्ष कम पानी गौथली फेला परे पनि यो नेपालकै ठूलो धेरै संख्या हो’, डंगौराले भने । ‘मुलुकको अन्य ठाउँमा हालसम्म यति धेरै संख्यामा पानी गौथली फेला परेका छैनन् ।’ नेपालमा रातो सूचीमा रहेको पानी गौथली नेपालसहित विश्वको २० देशमा पाइन्छन् । नेपालमा पहिलो पटक काठमाण्डौं उपत्यकामा पानी गौथली अभिलेख गरिएको थियो । १९ औं शताब्दीमा हडग्सन नामक व्यक्तिले काठमाण्डौंमा पानी गौथली अभिलेख गरेका थिए ।
त्यसपछि, सन १९९० अगाडि चितवनको मेघौलीमा देखिए । त्यहाँ दुई हजारको संख्यामा पानी गौथली रहेका थिए । सन २०१२ मा चितवनमै तीन हजार ४६७ देखिएको चराको क्षेत्रमा काम गर्ने संस्था पक्षी संरक्षण सङ्घ (बीसीएन) नेपालले जनाएको छ । यसैगरी, सन २०१५ मा कोशी नदी क्षेत्रमा तीन हजारभन्दा बढी सङ्ख्यामा र बर्दियामा एक हजारको सङ्ख्यामा पानी गौथली चरा अभिलेख गरिएको थियो । सिमसार क्षेत्रमा बसोबास गर्न रुचाउने यो चरा प्रजाति बर्दिया राष्ट्रिय निकुञ्जस्थित कर्णाली नदी पाइन्छ । यसैगरी, नवलपुरको अरुण खोला, चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदी, कोशी नदी, दाङको राप्तीमा पनि यो चरा पाइन्छन् । बसोबास स्थानको विनाश, नदी क्षेत्रबाट बालुवा र गिट्टी उठाउने कार्यले पानी गौथली अस्तित्वमा चुनौती थपिदैं गएको छ ।
बासस्थानको विनाशका कारण यो चरा लोप हुने खतरा नजिक पुग्दैछन् । पानी गौथली मुख्य गरी बालुवा तथा ढुङ्गे नदी र तालतलैयाहरुमा पाइने गरेको बताइएको छ । मोहना नदीमा ठूलो बगालमा पानी गौथली फेला परेको बेला कैलालीकै पुरैना तालमा दुर्लभ सारसको पुनरागमन भएको छ । सो तालमा १२ वर्षपछि सारसको पुनरागमन भएको हो । कुनै बेला सारसको बसोबास क्षेत्र मानिने पुरैना ताल मासिएपछि सारस पनि त्यहाँबाट हराएका थिए । यो वर्ष पुनः आफ्नो घरमा सारस फर्केका छन् । त्यहाँ एक जोडी सारस देखा परिरहेको जनाइएको छ ।
बसन्ता जैविकमार्ग र दुधुवा नेशनल पार्क जोड्ने पुरैना ताल विगतमा सारसको बासस्थानको रुपमा चिनिएको थियो । तर, सन २००९ मा मोहना नदीको बाढीले तालको स्वरुप तहसनहस गरेपछि सारस पनि गायब भएका थिए । नदीले बिगारेको तालमा मानवीय हस्तक्षेप बढेपछि अहिले तालको नामोनिसान छैन । खेतीयोग्य जमिनमा परिणत भइसकेको ताल क्षेत्रमा पानी जमेपछि यो वर्ष सो ठाउँमा सारस आइपुगेको चराविद् हिरुलाल डङ्गौराले बताए । ‘ताल क्षेत्रमा पानी र अग्ला अग्ला धान छ’, उनले भने । ‘त्यहि धानमा एक जोडी सारस देखा परिरहेका छन् ।’
पुरानो थातथलोमा सारसको पुनरागमन भएपछि संरक्षणकर्मीमा उत्साह छाएको छ । एक दशकभन्दा अगाडि नै छोडिसकेको ठाउँमा फेरि पनि सारस आइपुग्नु सुखद् रहेको डङ्गौराले उल्लेख गरे । संरक्षणको अवस्था सुधारोन्मुख बन्दै जाँदा कैलालीमा सारस देखा परिरहेको उनको भनाइ छ । दुई वर्ष अगाडि भजनी नगरपालिकाकै मन्त्रीफाँटामा तीन वटा सारस देखा परेका थिए । यसैगरी, गतवर्ष कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पुरैनी तालमा र बेल्डाँडी गाउँपालिकाको चवन्नी, कालीकिच क्षेत्रमा सारस देखिएका थिए ।
सारसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले विश्वमा दुर्लभ चराको सूचीमा राखेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार नेपालमा यसलाई संरक्षित पक्षी मानिन्छ । यसको सिकार वा अण्डा नष्ट गर्ने कार्य गरेमा पाँच सयदेखि एक लाख रुपियाँसम्म जरिवाना वा तीन महिनादेखि दुई वर्षसम्म कैद अथवा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।
कुनै बेला नेपालको तराई क्षेत्रमा धेरै मात्रामा देखिने सारस हाल रुपन्देही र कपिलवस्तु जिल्लामा सीमित भएका छन् । पंक्षी संरक्षण संघ (बीसीएन) नेपालका अनुसार नेपालमा करिब ४०० देखि ७५० वटासम्म सारसको सङ्ख्या रहेको छ । विश्वमा पाइने १५ प्रजातिका सारसमध्ये हाम्रो देशमा कालो टाउके, लक्ष्मण, क¥याङ–कुरुङ र सारस गरी चार प्रजातिका सारस पाइने गर्दछन् ।
सारस विश्वकै सबैभन्दा अग्लो स्थानसम्म उड्ने चरा हुन । करिब पाँच फिट अग्लो हुने यो चराको तौल १० केजीसम्म हुन्छ । सारसले खुल्ला सिमसार, सिंचित धान खेत, पोखरी, ताल आसपासका क्षेत्रमा अण्डा पारेर बच्चा कोरल्ने गर्दछन् ।
यी चराले सर्पको संख्या नियन्त्रण गर्नुका साथै बालीका लागि हानिकारक शङ्खे र अन्य किरा तथा स–साना अरु जीवलाई खाएर अन्न उत्पादनमा सहयोग पु¥याउने गरेको बताइन्छ ।