भारतमा मृत्यु भएका एकै परिवारका तीन जनाको हत्याको आशंका
2023/01/03, 5:52
 
ss

भारतको मेरठमा सुतेकै कोठामा ज्यान गुमाएका कैलालीस्थित गौरीगङ्गा नगरपालिका–१ गोप्काका एकै परिवारका तीन जना मंगलवार अन्त्येष्टि गरिएको छ । भारतबाट शव ल्याएर अन्त्येष्टि गरिएको गौरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष डबलबहादुर दियाकोटी बोहराले जानकारी दिए । भारतको उत्तर प्रदेशस्थित मेरठमा उनीहरुको कोठामा मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा गोप्काका चन्ने भुल, उनकी श्रीमती कुमारी भुल र पाँच वर्षीया छोरी अञ्जली रहेका छन् ।

रेलमा प्रयोग गरिने कोइला राति कोठामा बालेर सुतेको बेला निस्सासिएर मृत्यु भएको भनिए पनि घटना शङ्कास्पद् रहेको वडा अध्यक्ष बोहराले बताए । चन्नेको शरीर र हातमा घाउ देखिएको र मुख पनि बाङ्गिएको उनको भनाइ छ । शरीरमा देखिएको घाउ र भारतीय प्रहरीले उपलब्ध गराएको फोटो हेर्दा हत्या भएको जस्तो देखिएको वडा बोहराले बताए ।

मृतक भुल परिवार गरिबीको कारण भारतमा काम गर्दै आएका थिए । भुल मेरठमा काम गरेको छरसात वर्ष भइसकेको छ । आमाबुबासहित बहिनीको मृत्यु भएपछि घरमा रहेको तीन बालबालिकाको बिचल्ली भएको छ । घरमा दुई छोरी र एक छोरा रहेका छन् । उनीहरु टुहुरो भएका छन् ।