भारतले सुरु गर्‍यो सुख्खा बन्दरगाह जोडने सडक निर्माण प्रक्रिया
2021/09/20, 5:20
 
dd

महाकाली पारी चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण स्थलसम्म भारतले चार लेन सडक जोडने तयारी शुरु गरेको छ । भारतीय सडक बिभाग एनएचआईले प्रस्तावित बन्दरगाहलाई भारतको राजमार्गसंग जोडनका लागि सिमांकन कार्य अन्तिम चरणमा पुगेको छ ।

भारतीय अखबार अमर उजालाले एनएचआईका उपप्रबंधकलाई उधृत गर्दै बनबासा नजिकैको जोगबुडा पुल छेउबाट ३.८६ किलोमिटर लम्बाइ र ६० मिटर चौडा नेपाल–भारत सीमा सम्म सिमांकन गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । सिमांकन कार्य सकिए लगत्तै जग्गाधनीहरुलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाइने भएको छ । अमर उजालाका अनुसार उक्त क्षेत्रमा देवीपुरा गाउँका ८ परिवारको जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ ।

नेपाल सरकारले दोधारा चाँदनी नगरपालिका १ को मायापुरी र गौरीशंकर सामुदायिक वनमा सुख्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मुल्याकंनको काम गरिरहेको छ । सुख्खा बन्दरगाहकै पुर्वाधारका लागि महाकाली नदीमा ४ लेनको पुल र पूर्वपश्चिम राजमार्गको अन्तिम विन्दु गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्म करिब ८ किलोमिटर ६ लेन सडक समेत निर्माणधीन अवस्थामा छ ।

झण्डै एक वर्षअघि तत्कालिन बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले मायापुरी र गौरीशंकर वनमा सुख्खा बन्दरगाह निर्माणका लागि स्थान प्रस्तावित गरि कार्य अगाडी बढाएका थिए । यसअघि दोधाराको कञ्चनभोजमा प्रस्ताव गरिएको सुख्खा बन्दरगाह स्थानीयको विवादका कारण चाँदनीमा सरेको हो ।

नेपाल–भारतको सहमतिमा सुख्खा बन्दरगाह बन्न लागेको हो । कञ्चननभोजमा प्रस्ताव गरिएको क्षेत्रमा भारतीय पक्षले चासो देखाएको थिएन । स्थान अवलोकनका लागि कञ्चनभोज पुगेको भारतीय टोलीलाई स्थानीयले ढुंगामुडा गरेपछि उक्त क्षेत्र विवादित बनेको थियो । ठुलो प्रयासपछि पनि स्थानीय सहमतिमा नआएपछि चाँदनीमा बन्दरगाहको सम्भाव्यता अध्ययन गरिएको हो ।

चाँदनीमा प्रस्तावित बन्दरगाह महाकालीको चार लेन पुललको पश्चिममा पर्छ । त्यहाँबाट भारतको बनबासा राष्ट्रिय राजमार्ग ३.८६ किलोमिटर दुरीमा छ । सुख्खा बन्दरगाह संगै एकिकृत जाँच चौकी पनि निर्माण गरिने भएको छ । चाँदनीमा निर्माण हुने बन्दरगाह नेपालकै ठुलो बन्दरगाहका रुपमा हेरिएको छ । नेपाल सरकारले एक हजार विघा जमिन सुख्खा बन्दरगाहको लागि प्रस्ताव गरेको छ । सरकारले चाँदनी क्षेत्रमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाह एवम्  एकीकृत जाँच चौकी (आईसीपी)को वातावरणीय प्रभाव मूल्यांकन अध्ययन शुरु गरेकाे छ ।

मायापुरी सामुदायिक वन र गौरीशंकर सामुदायिक वन क्षेत्रमा प्रस्तावित हाल करिब २८० बिगाहा क्षेत्रफलमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, रेल्वे प्लेटर्फम, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेन्टाइन लगायतका लागि आवश्यक भौतिक संरचना निर्माण हुने क्षेत्रको वातावरणीय अध्ययन शुरु भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

बन्दरगाह क्षेत्र हाल महाकाली नदीमा निर्माणाधिन ४ लेनको पक्की पुलदेखि पारीपट्टी करिब १२ सय मिटरको दूरीमा छ । सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भई गुरु योजनासमेत तयार भइसकेको र हाल वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको कार्यसमितिले छनोट गरेको परामर्शदाताबाट शुरु गरिएको छ ।

चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह भारतको आन्ध्र प्रदेशको विशाखावपटनम र गुजरातको मुन्द्रा पोर्टबाट नजिक पर्छ । भारतको राजधानी दिल्ली साढे ३ सय किलोमिटर दुरीमा छ । यसैगरि उत्तराखण्डको औद्योगिक क्षेत्र (सिटकुल) रुद्रपुर सय किलोमिटर दुरीमा रहेको छ ।

बन्दरगाह निर्माणपछि पुर्वी क्षेत्रबाट भित्रिने मालासमान तथा कच्चा पदार्थ यहिबाट भित्रिने छ । जसको ढुवानी भाडा आधाले घट्ने अनुमान गरिएको छ । यो बन्दरगाहलाई नेपालको महत्वपुर्ण व्यापारिक नाकामा रुपमा हेरिएको छ । बन्दरगाह निर्माणले सुदूरपश्चिम प्रदेश देशकै प्रमुख नाका बन्ने छ । यस क्षेत्रका स्थानीयले रोजगारीसंगै अन्य व्यापार व्यवसायमा पनि जोडिनेछन् ।