घोडाघोडी सिमसारलाई बर्ड 'सेन्चुरी’ बनाइने
2021/09/22, 9:45
 
ss

चरा अवलोकनका लागि प्रसिद्ध कैलालीको घोडाघोडी सिमसार क्षेत्रलाई चरा अभय आरण्य क्षेत्र (बर्ड सेन्चुरी) बनाइने भएको छ । घोडाघोडी नगरपालिकाले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रलाई नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र बनाउने निर्णय गरेको हो । नगरपालिकाको १३ औं नगर सभाले सो निर्णयलाई सर्वसम्मतले पारित गरेको छ ।

चरा अभय आरण्य क्षेत्र भनेको भयरहीत वातावरणमा चराले स्वतन्त्रपूर्वक आहारविहार गर्न पाउने चरा संरक्षित क्षेत्र बुझिन्छ । नेपालमा अहिलेसम्म कहि पनि बर्ड सेन्चुरी बनेको छैन । चराको संरक्षण र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ नगरपालिकाले घोडाघोडी सिमसार क्षेत्रलाई ‘बर्ड सेन्चुरी’ बनाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीले बताए । ‘बर्ड सेन्चुरी बनाउने विषय नगर सभाबाटै पारित भएको छ’, उनले भने । निर्णय अनुसार नगरपालिकाले चालु आर्थिक वर्षभित्रै घोडाघोडी सिमसारलाई चरा अभय आरण्य क्षेत्र घोषणा गर्ने जनाइएको छ ।

प्रसिद्ध घोडाघोडीसहित ठूलासाना २४ वटा ताल रहेको घोडाघोडी सिमसार क्षेत्रमा ३६० प्रजातिका चरा पाईन्छन् । जसमध्ये कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसे फिस्टो, लघु महाचिल लगायत १२ प्रजातिका चरा विश्वमै दुर्लभ रहेका छन् । कुल १० हजार ५७० हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारमा जलचरा ६४ प्रजातिका पाइने गरेको जनाइएको छ ।

बाँकी २९६ प्रजातिका चरा थलचर रहेका छन् । घोडाघोडी सिमसारलाई नगरपालिकाको पहिचान र गौरवको विषयको रुपमा चरा अभय आरण्य क्षेत्र घोषणा गरिने बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका कार्यकारी उपाध्यक्ष डीआर चौधरीले बताए ।

उनका अनुसार विश्वमा दुर्लभ चरा प्रजातिकोसमेत बसोबास रहेको यो सिमसारलाई मुलुकमा विद्यमान वन सम्बन्धी ऐन, कानून अनुसार ‘बर्ड सेन्चुरी’ घोषणा गरिनेछ । ‘बर्ड सेन्चुरी नेपालको लागि नयाँ विषय हो र यस सम्बन्धी छुट्टै ऐन, कानून छैन’, उनले पश्चिम टुडेलाई भने । ‘वनसम्बन्धी विद्यमान सङ्घीय कानूनमा टेकेर चरा अभय आरण्य क्षेत्र घोषणा हुनेछ ।’

पछि गएर सङ्घीय ऐनसहित स्थानीय ऐन बनाएर बर्ड सेन्चुरीको संरक्षण र व्यवस्थापन गरिने चौधरीको भनाइ छ । बर्ड सेन्चुरी बनेपछि चरालाई पहिलो प्राथमिकतामा राखेर वनजङ्गल, सिमसार, जलाधार क्षेत्रको संरक्षण हुने उनले बताए । ‘संरक्षण र पर्यापर्यटनलाई संगसंगै अगाडि बढाउने उद्देश्यका साथ यो गौरवको विषय अगाडि बढाउन लागिएको हो’, चौधरीले बताए ।

‘बर्ड सेन्चुरी एउटा ब्राण्ड हुनेछ र त्यहि अनुसार अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गरिनेछ ।’ घोडाघोडी सिमसारमा रैथाने प्रजातिका सङ्ख्याको साथै चरा प्रजाति सङ्ख्या बढ्दै गएको छ । यसैगरी, अन्यत्र बासस्थान नपाएका चरा यहाँ आउने गरेका छन् । मङ्गोलियन र साइबेरियन चराको लागि नेपालको चार रुटमध्ये घोडाघोडी सिमसार पनि एउटा रुट हो ।

जाडो छल्नका लाथि त्यहाँबाट चराहरु यहाँ आउने गर्दछन् । घोडाघोडी ताललाई अलिकति व्यवस्थित बनाए पाहुना चरा अझ बढी आउने चराविदसमेत रहेका चौधरीले बताए । ‘मङ्गोलिया र साइबेरियाबाट आउने चरालाई सफा पानी चाहिन्छ’, उनले भने । ‘घोडाघोडीलाई थोरै व्यवस्थित बनाए, त्यस्ता चरा अझ बढी आउनेछन् ।’ यसैगरी, भारतको केरलामा पाइने नादुल हाँसले सन २०१४ देखि घोडाघोडीमा पनि ‘ब्रिडीङ’ गर्दै आएका छन् । पहिले पाहुना चराको रुपमा केरलाबाट घोडाघोडी पुग्ने नादुल हाँस अब यहाँको रैथाने भइसकेको चराविदहरुको भनाइ छ ।

‘अब यो हाँसको यहाँ नियमित बसोबास छ’, चौधरीले भने । चरा पर्यटनका लागि उपयुक्त गन्तव्यको रुपमा रहेको घोडाघोडी सिमसारलाई स्थानीय सरकारले चरा अभय आरण्य क्षेत्र बनाउने निर्णयको संरक्षणकर्मीले स्वागत गरेका छन् । स्थानीय सरकारको यो कदम सह«ानीय रहेको घोडाघोडी सिमसारमा संरक्षण सम्बन्धी काम गर्दै आएका चराविद हिरुलाल डङ्गौराले बताए ।

‘हामीले गर्दै आएको काममा स्थानीय सरकारले अगुवाई लिनु नै ठूलो कुरा हो’, उनले भने । ‘स्थानीय सरकारको यो कदमले उत्साह बढेको छ ।’ चरा अभय आरण्य क्षेत्र बनेपछि चरा संरक्षणलाई केन्द्र बिन्दुमा राखेर धेरै कुरालाई अगाडि बढाइने डङ्गौराको छ । उनले चरा संरक्षणसंगै वनजङ्गलको संरक्षण, पर्यापर्यटनको विकास, स्थानीयवासीको आयआर्जन र जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सहयोगी निकायले केही समयका लागि काम गर्न सक्ने भएका कारण दीगो रुपमा संरक्षण र व्यवस्थापनका लागि स्थानीय सरकार नै अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो । घोडाघोडी सिमसारमा चरा अवलोकन पर्यटनलाई उजार गर्ने उद्देश्यका साथ सोही नगरपालिकाको माघी गाउँमा थारु होमस्टे पनि सञ्चालनमा रहेको छ । यद्यपि, अहिलेसम्म अपेक्षाकृत रुपमा सो होमस्टे फष्टाउन सकेको छैन । घोडाघोडी सिमसार क्षेत्र चरा अभय आरण्य क्षेत्र बनेमा होमस्टेको पर्यटन विकासमा पनि टेवा पुग्ने बताइएको छ ।