गर्मी सिजनमा शितल । एकै छिनमा बादल, वर्षा र फेरी घाम । यो विशेषता हो कैलालीमा रहेको खानीडाँडाको । ‘चारैतिर मनोरम दृश्य र यहाँको शितलता मात्रै खानीडाँडाको पर्याप्त पहिचान होईन’, होटल व्यवसायी श्याम महरा भन्छन्–‘यो ठाउँ अब तनाव व्यवस्थापन स्थलको रुपमा पनि परिचित हुन थालेको छ ।’
गर्मी याममा कैलालीको सदरमुकाम धनगढीमा खप्नै नसक्ने गर्मी हुने गर्दछ । तर, सदरमुकाम भन्दा करिब ४५/५० किलोमिटर दूरी अन्तरमा रहेको खानीडाँडा (पहाडी क्षेत्र) को वातावरण भने एकदमै फरक छ । त्यहाँको चिसो मौसम र मनै लोभ्याउने दृश्यले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तान्ने गर्दछ ।
कैलाली, कञ्चनपुरदेखि बर्दिया, बाँकेसम्मका आन्तरिक पर्यटकहरु यहाँ रमाउन पुग्ने गर्दछन् । नेपालगञ्जमा अत्यधिक गर्मी भएपछि त्यहाँका ठूला व्यापारी, सरकारी कर्मचारी, युवायुवती पनि खानीडाँडा आउने गरेको स्थानीयबासी बताउँछन् ।
‘भारतीय पर्यटकहरुलाई पनि यो ठाउँ बढी मन पर्ने गरेको छ’, एक जना किराना पसल व्यापारी भन्छिन्–‘पलिया, लखनऊ, हरियाणा, बरेली लगायतबाट भारतीयहरु घुम्न र गर्मी छल्न यहाँ पुग्ने गरेका थिए ।’ पछिल्लो समय भने कोरोना महामारीका कारण भारतीय पर्यटक आउन पाएका छैनन् ।
गर्मीमा खानीडाँडा पुगेका पर्यटकहरुको रोजाई लोकल झिनुवा चामलको भात, ठूलीगाडको माछा, लोकल कुखुराको मासु र काफल हुने गरेको बताइएको छ । यीनै परिकार चाख्नकै लागि पनि कतिपय विभिन्न ठाउँका पर्यटक खानीडाँडा पुग्ने गरेका छन् ।
खानीडाँडा बजारकै नजिक रहेको कम्पासेधुरा डाँडा पर्यटकहरुको अर्को रोजाईको स्थान हो । जुन डाँडाबाट भारतको लखनऊ र बरेली प्रष्टै देखिने गरेको स्थानीय शिवराज जोशी बताउँछन् ।‘कम्पासेधुरा डाँडाबाट भारतको दुई ठूला सहर दुरुष्टै देखिन्छ’, उनी भन्छन्–‘यहाँ आएका भारतीयहरु त्यो डाँडाबाट आफ्नो सहर हेर्न समेत रुचाउने गरेका छन् ।’
भारतबाट विशेष गरी अफिसर, सरकारी कर्मचारी, परियोजनाका मान्छेहरु बिदा मनाउन खानीडाँडा पुग्ने गरेका थिए । खानीडाँडा भन्दा पाँच किलोमिटर माथि रहेको भासु भीड हेर्न समेत भारतीय पर्यटकहरुले रुचाउने गरेका थिए । तर, पछिल्लो समय भारतीय पर्यटकबिहीन भएको, खानीडाँडा ।
खानीडाँडा सम्भावनाको खानी रहेको व्यापारीहरु बताउँछन् । उनीहरुले राज्यको ध्यानाकार्षण र स्थानीयको गतिलो प्रयास हुन सकेमा खानीडाँडा पर्यटन ‘हब’ बन्न सक्ने सुनाउँछन् । तर, पर्यटन विकासको लागि सरकारी तथा अन्य निकायबाट यथेष्ट पहल नभएको उनीहरुको गुनासो छ ।कैलालीको चुरे गाउँपालिकामा पर्ने खानीडाँडा आसपासमा दुई सय १४ घरपरिवारको बसोबास रहेको छ । तरकारी, काफल, दूध लगायतका स्थानीय उत्पादनबाट दैनिक ३३ हजार रुपैयाँ (औसतमा) किसानलाई आम्दानी हुने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।
सुदूरपश्चिमको पहाडी सात जिल्लामा जाने बाटोमै परेकाले खानीडाँडामा आन्तरिक पर्यटकको जुनसुकै बेला भीड रहने गरेको छ । तर, बजारको राम्रो व्यवस्थापन र पर्यटनको गतिलो विकास भने अझै हुन सकेको छैन ।सरकारी पहल नभएका कारण सम्भावनाको खानी रहेको खानीडाँडामा पर्यटन व्यवसाय व्यवस्थित र सम्भावना अनुसार फष्टाउन नसकेको व्यवसायी बताउँछन् ।
‘पर्यटन सम्भावन ठूलो छ भनेर हामीले भन्दै आएको धेरै भईसक्यो । तर, हाम्रो आवाज सुनि दिने निकायको अझै ध्यान पुग्न सकेको छैन ।’ स्थानीय भीष्मराज सापकोटाले भने ।
खानीडाँडाको सम्भाव्यताले त्यहाँको जग्गा समेत अत्यन्त महँगो भएको छ । हिजोआज जग्गाको महँगोमा खरिद बिक्री भइरहेको सैपाल रिसोर्टका प्रोप्राइटर श्याम महराले जानकारी दिए । उनले ठूला व्यापारी, अफिसर तथा सरकारी कर्मचारीले हिजोआज खानीडाँडालाई तनाव व्यवस्थापन स्थलको रुपमा लिने गरेको सुनाए । ‘ब्यस्तता र भीडले तनावमा परेका मानिसहरु खानीडाँडालाई ‘रिफ्रेस सेन्टर’ को रुपमा लिने गरेका छन्’, महराले भने–‘यहाँको सुन्दर, शान्त वातावरण र चिसो मौसमले उनीहरुलाई तनावबाट मुक्ति दिने गरेको छ ।’
विक्रम सम्वत २०२८ सालमा खानीडाँडामा किराना पसल र साना होटल सञ्चालनमा आएको थियो । बजार स्थापनाको लामो समय भइसक्दासम्म बजारको विकास भने चित्त बुझ्दो अझै हुन नसकेको घुम्न आएकाहरुले प्रतिक्रिया दिने गरेका छन् ।बसोबासका लागि केही सुविधा सम्पन्न रिसोर्ट र होटल खुलिसकेका छन् । पछिल्लो समय डोटीको बुडरस्थित छहरा झरना आन्तरिक पर्यटकको लागि गन्तव्य बनेको छ । तराईबाट बुडर पुग्ने धेरै आन्तरिक पर्यटकको फिर्ती बासदेखि लिएर नास्ता, खानपान खानीडाँडामा भइरहेको छ । छहरा झरनाले तराईको पर्यटक तानेपछि त्यसको केही फाइदा खानीडाँडालाई पनि भइरहेको छ । झरना पुग्ने तराईका आन्तरिक पर्यटक खानीडाँडा पनि घुम्ने गरेका छन्।
पछिल्लो सयम कोरोनाका कारण शिथिल बनेको पर्यटन व्यवसाय विस्तारै उठिरहेको छ । यसैक्रममा खानीडाँडामा पनि चहलपहल हुन थालेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर एक पटक भए पनि पुग्नै पर्ने ठाउँ हो खानीडाँडा । जाने हैन त ?