कैलालीमा पर्यटन सम्भावनाको ताल ओझेलमा
2021/09/26, 9:38
 
ss

कैलालीमा पर्यटन सम्भावना बोकेका थुप्रै ताल ओझेलमा छन । त्यसैमध्येका दुई हुन, लट्ठहुवा र कमल पोखरी । कैलारी गाउँपालिकामा रहेको यी दुवै ठूला ताल ओझेलमा परेका छन् । पर्याप्त मात्रामा प्रचारप्रसार र व्यवस्थापन हुन नसक्दा दुवै ताल ओझेलमा परेका हुन । लट्ठहुवा ताल वडा नम्बर १ स्थित मंझरा र कमल पोखरी वडा नम्बर ३ को भडरीमा पर्दछ । कैलारीकै वडा नम्बर ९ मा रहेको कोइलही तालमा आन्तरिक पर्यटकको आवागमन भइरहे पनि सोही गाउँपालिकाकै यी दुई ठूला ताल भने सुनसान छन् । दुवै ताल ‘भर्जिन’ स्थलको रुपमा रहेको छ । पछिल्लो समय कोरोना महामारीका कारण समग्र पर्यटन क्षेत्र नै शिथिल बनेको छ । कोरोनाका कारण पर्यटन क्षेत्र प्रभावित भएको बेलामा यी दुवै ताल पनि अछुतो छैन । ओझेलमा रहेको दुवै ताल अचेल झनै सुनसान छन् ।

करिब २४ बिघा क्षेत्रफलमा फैलिएको लट्ठहुवा प्राकृतिक ताल हो । बसन्ता कोरीडोरमा पर्ने यो ताल ठूलो सिमसारको रुपमा पनि रहेको छ । यद्यपि, पर्यटनका लागि व्यवस्थित भने छैन । ‘हामीसंग पर्याप्त मात्रामा स्रोत साधन नभएका कारणले पर्यटनका लागि व्यवस्थापन गर्न सकेका छैनौं’, वडा नम्बर १ का वडा अध्यक्ष बालकृष्ण चौधरीले भने–‘तर, तालको संरक्षण गरिरहेका छौं ।’ उनले पर्यटन गतिविधि अगाडि बढाउन गाउँपालिकाबाटै व्यवस्थापनको पहल भइरहेको जनाए ।  नजिकै वनदेवी मन्दिर रहेकाले लट्ठहुवा तालमा आन्तरिक पर्यटकको घुइँचो लाग्न सक्ने सम्भावना छ । वनदेवी मन्दिरमा माघी, गङ्गा दशहरा लगायतको बेलामा मानिसहरुको ठूलो चहल पहल हुने गर्दछ । त्यसैले सो समयमा धेरै आन्तरिक पर्यटक आउन सक्ने वडा अध्यक्ष चौधरीको बुझाइ छ । 

ताललाई व्यवस्थित गरेर व्यावसायिक रुपमा डुङ्गा सञ्चालन गरेमा घुम्न आउनेहरुको ओइरो लाग्ने वडा अध्यक्ष चौधरीले बताए । ‘मन्दिरको दर्शन गर्न आउने नै ताल घुम्न आउन सक्नछन्’, उनले भने–‘तर, अहिलेसम्म व्यवस्थापन गर्न नसकिंदा पर्यटक छैनन् ।’  पर्यटकको पर्खाइमा रहेको यो तालमा हाल व्यावसायिक रुपमा माछा पालनाको कार्य भइरहेको छ । माछा पालनका लागि सो ताल ठेक्का दिइएको छ । यसैगरी, यो तालको पानीले मंझरा गाउँका किसानले खेतीपाती सिँचाइ गर्दै आएका छन् ।  

गाउँपालिकाको केन्द्रविन्दु र सबैको पायक पर्ने ठाउँमा रहेको कमल पोखरी ताल भने कृत्रिम हो । खेतीपातीमा सिँचाइ गर्नका लागि स्थानीयले कैयौं दशक अगाडि पोखरी बनाएका थिए । जङ्गलबाट बगेर आइ पोखरीमा जम्मा भएको पानीले उनीहरु खेतीपातीको काम गरेको बताइएको छ । झन्डै ३५ बिघाको उक्त तालले मुलुकमा चलेको १० वर्षे द्वन्द्वको बेला संरक्षण पाएन । संरक्षण अभावमा पुरिदैं हाल करिब १६ बिघा क्षेत्रफलमा खुम्चिएको छ । 

वडा नम्बर ३ मा कमल पोखरी ताल प्रमुख पर्यटकीय क्षेत्र रहे पनि अहिलेसम्म ओझेलमा रहेको सो वडाका वडा अध्यक्ष कैलाश चौधरीले बताए । ‘यो तालको प्रचार प्रसार हुन सकेको छैन’, उनले भने–‘यद्यपि, गाउँपालिकाको कार्यालयले कमल पोखरी, लट्ठहुवा ताल र वनदेवी मन्दिरलाई समेटेर पर्यटन विकासको पहल गरिरहेको छ ।’  पछिल्लो समय तालमा पर्यटकका लागि चाहिने आवश्यक संरचना निर्माणको कार्य भइरहेको छ । गाउँपालिकाको कार्यालयले १२ वर्षका लागि धनगढीका राजु चन्दलाई ताल ठेक्का दिएको छ ।    

‘वार्षिक १७ लाख रुपैयाँ तिर्ने गरी ठेक्का सम्झौता भएपछि मैले पर्यटन विकासका लागि संरचना निर्माणको काम थालेको छु’, चन्दले भने । उनले माछा उत्पादन, बङ्गुर र हाँस पालनसंगै पर्यटकीय गन्तव्य बनाउने गरी काम गर्ने गाउँपालिकाको कार्यालयसंग सम्झौता भएको जनाए । कैलारी गाउँपालिकाभरि ठूलासाना गरी ४९ वटा ताल रहेका छन् । जसमध्ये प्राकृतिक ताल बढी छन् । प्राकृतिक र धार्मिक विषयवस्तुसंग जोडेर पर्यटन विकासका लागि गुरुयोजना अनुसार काम हुने गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताउँछन् । ‘गाउँपालिकालाई साँस्कृतिक र कृषि हवको रुपमा अगाडि बढाउने र पर्यटन विकासका लागि अगाडि बढेका छौं’, उनले भने ।

पर्यटकको पर्खाइमा रहेको तालहरुको प्रचार प्रसार गर्नेदेखि लिएर तालको आसपासमा बाल उद्यान, मिनी पार्क निर्माण गरिने अध्यक्ष चौधरीले बताए । उनले पर्यटकले फिसिङ गर्न सक्ने गरी पर्यटकीय क्षेत्र बनाउने बताए । सो गाउँपालिकाले चालू आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माण र पर्यटकीय क्षेत्र व्यवस्थापनका लागि प्रमुखताका साथ बजेट विनियोजन गरेको छ ।थारु जातिको बाहुल्यता रहेको कैलारी गाउँपालिकामा दुई वटा होमस्टेसमेत सञ्चालनमा रहेका छन् । थारु समुदायका संस्कृति, संस्कार र प्राकृतिक तालतलैया हेरेर रमाउन चाहने पर्यटकका लागि यो गाउँपालिका उपयुक्त गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।