कृषि यान्त्रीकरण अनुदान कार्यक्रमः असारमा दिने सम्झौता, असोजमा पनि पाएनन्
2021/09/27, 5:10
 
dd

कैलालीको कैलारी गाउँपालिका–८ की देउकुमारी चौधरीले असारमा अनुदान सामग्रीका लागि सम्झौता गरिन् । उनले स्थानीय श्रमसिल महिला कृषि सहकारी संस्था लिमिटेडसँग अनुदानमा पाउने गरी २५ हजार बुझाइकी हुन् ।  ‘कृषि यान्त्रीकरण अनुदानका लागि फारम खुलेका थाहा पाएपछि सहकारी संस्थासँग अनुदान पाउने गरी पैसा दिएको हो’, उनले भनिन्, ‘असोजका आधा भइसक्यो अहिलेसम्म पाएको छैन ।’ 

पटक–पटक आग्रह गर्दा पनि आउँछ भन्ने मात्र जवाफ पाएको उनले बताइन् । ‘धान काट्न सजिलोका लागि रिपर (धान काट्ने मेसिन) पाउने आशामा पैसा बुझाएँ’, उनले दुखेसो पोख्दै भनिन्, ‘५ कठ्ठा धान काटी सके अझै आएको छैन् ।’ उनले ४ विघा जमिनमा धान खेती गर्दै आएकी छन् । छिटो र सजिलोका लागि उनले रिपर किन्न लागेकी हुन् । 

तर, अनुदान दिने संस्थाको ढिलाइले गर्दा उनलाई यस वर्ष पनि चिन्तित तुल्याएको छ । ‘रिपरका लागि सहकारीमा फोन गरेको गरै हुन्छु’,  उनले भनिन्, ‘मेरो टोलमा ५ जनाको रिपर परेको छ’, उनले भनिन्, ‘तर कसैले पनि पाएका छैनन् ।’ 

कैलारी गाउँपालिका–७ मोहनपुरका इन्चल चौधरी गाउँपालिकामा राखेको सम्पर्क कार्यालयमा असारमा रिपरकै लागि सम्झौता गरिन् ।  ‘धान रोप्नुभन्दा अगाडि सम्झौता भएको हो’, उनले भनिन्, ‘धान पाकिसक्यो तर, अहिलेसम्म आएन्।’ धान समेत काटिसकेको उनले बताए । ‘रिपरकै लागि राखेको पैसा खर्च भइसक्यो’, उनले भने, ‘कहाँ सम्पर्क गर्ने हो त्यो समेत थाहा छैन ।’

श्रमसिल महिला कृषि सहकारी संस्थाका अध्यक्ष सीता चौधरीले कृषि उपकरण खरिद गर्ने सप्लार्यसले नै ढिलाई गर्दा नै समस्या भएको बताइन् । ‘किसानहरुको सहजताका लागि हामीले फारम संकलन गरेको हुँ’, उनले भनिन्, ‘तर, उपकरण  ल्याउने टिकापुरको डिकम माईक्रो सिस्टम प्रालिले पुर्‍याउन नसक्दा समस्या भएको हो ।’  उनले आफूले नियमित ताकेता दिदैँ आएको बताईन् । ‘किसानको धान पाकी सक्यो तर, उपकरण आएन’, उनले भनिन् । 

कृषि विकास निर्देशनालय दिपायलले आर्थिक बर्ष २०७७/०७८ को कार्यक्रम अन्तर्गत कृषि अनुदान सहयोग कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका विभिन्न जिल्लामा कृषि उपकरण दिएको हो । निर्देशनालयले  मिनि टिलर, पावर टिलर, धान थ्रेसर, गहुँ थ्रेसर, रिपर, रोटा भेटर, सिड ड्रिल लगायतका सामग्रीका लागि अनुदान कार्यक्रमका लागि सूचना प्रकाशित गरेको थियो । 

किसानको निवेदनका आधारमा अनुदान दिएको निर्देशनालयले जनाएको छ । किसानसँग आधा रकम तिर्ने गरी अनुदान दिएको हो । कृषि ज्ञान केन्द्र र स्थानीय तहका सहकार्यमा अनुदानका लागि किसान छनौट गरेको हो ।  अनुदानका लागि ४ सय वटा निवेदन परेको निर्देशनालय डोटीले जनाएको छ । कोरोनाले गर्दा अनुदान कार्यक्रम केही प्रभावित बन्न पुगेको निर्देशनालय डोटीका सूचना अधिकारी केशव पाण्डेले बताए । 

‘अनुदानका लागि ५ करोड रुपैयाँ हो । विविध कारण सबै रकम खर्च हुन सकेन्’, उनले भने, ‘कोरोनाका कारण किसानको घरसम्म पुग्न नसक्दा डेढ करोड रुपैयाँ खर्च नभएको हो ।’  अर्थमन्त्रालयले अन्तिम समयमा रकम निकास दिँदा पनि समस्या भएको उनले बताए । ‘फिल्ड हेर्ने क्रममा छु । सबै फाइनल भएपछि नपाएकाहरूले कसले कहिले पाउने भन्ने हुन्छ । यदि सप्लायर्सहरूले बिल काटेको छ भने अहिले नै पाउँछन । बिल नकाटेको भए यस वर्षको बजेटमा पाउँछन् ।’  सप्लायर्सहरूले निर्देशनालयमा बिल पेस गरेको जति सबै निकास भइसकेको उनले जानकारी दिए ।