सुदूरपश्चिम प्रदेश सभामा दुई विधेयक टेबुल भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा दुई वटा संशोधन विधेयक टेबुल गरिएको हो । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरे ।
सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँदले सुदूरपश्चिम प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिन् । प्रदेश सभामा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को बजेट खर्चबारे महालेखा परीक्षकले तयार पारेको वार्षिक प्रतिवेदन २०७८ पनि पेस गरिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले सोमबार प्रदेश सभामा सो प्रतिवेदन पेस गरे । सो प्रतिवेदनलाई अध्ययन छलफलका लागि संसद्को सार्वजनिक लेखा समितिमा पठाइने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।
प्रदेश सभा बैठकमा सामाजिक विकास समितिले तयार पारेको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।
सुदूरपश्चिम पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भइ तयार पारिएको प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले प्रस्तुत गरेकी हुन । प्रदेश सभामा ढ्याढ्यापे समय माग गरेर प्रदेश सभा सदस्य डिल्लीराज पन्त र गेल्बुसिंह बोहराले समसामयिक विषयमा बोलेका थिए । प्रदेश सभाको अर्को बैठक मङ्गलबार बोलाइएको छ ।