मनसुन नगएपछि कैलालीका किसान हतार–हतारमा धान भित्र्याउँदै
2021/09/30, 11:01
 
kk

मनसुन नगएपछि कैलालीका किसान हतार–हतारमा धान भित्र्याउन थालेका छन् । पानीले नोक्सान गर्न सक्ने डरले किसानले हतार–हतारमा धान भित्र्याउन थालेका हुन ।काटेको धानलाई पानीले भिजाएमा खेतमै धान उम्रिने र झरेर नोक्सान हुने गर्दछ । यसैगरी, हावापानी आएमा पाकेको तर नकाटेको धान ढलेर नोक्सान हुने गर्दछ । खेतमा धान पाकेर तयार भएकाले हतारमा काटेर हतारमै भित्र्याइरहेको किसानको भनाइ छ ।

‘पानीले नोक्सान गर्ने डरले काटेको धानलाई एक÷दुई दिनमात्रै सुकाएर थ्रेसिङ गरिरहेका छौं’, भजनी नगरपालिका–४ खैलाडका कृषक बाँधुराम चौधरीले भने । ‘गाउँका किसानले धमाधम धान भित्र्याइ रहेका छन् ।धान खेतीका लागि उर्वरभूमि मानिने कैलालीमा मुख्य बालीको रुपमा धान खेती गरिदैं आएको छ । केही मात्रामा किसानले चैते धान खेती गरे पनि जिल्लाका धेरैजसो किसानले बर्खे धान खेती गर्दै आएका छन् । बर्खे धान पाकेर तयार भएको छ । खेतमा धान पाकिसकेकाले उनीहरुले धमाधम भित्र्याउने कार्य पनि गरिरहेका छन् ।

बेला बखतमा पानी परिरहेकाले खेतमै थ्रेसिङ गरेर धान भित्र्याइ रहेको किसानको भनाइ छ । खेतमा थ्रेसिङ गरेर दानामात्रै घर ल्याउने गरेको र पराल आवश्यकतानुसार पछि उठाएर ल्याइ रहेको उनीहरुले जनाएका छन् । अलि–अलि सुकेपछि थ्रेसरमा धान मज्जाले थ्रेसिङ हुने गरेको बताइएको छ ।गतविगतमा किसानले धान घरमै धान बोकेर ल्याउने र घरको आँगनमै राखेर दाइँ गर्ने गरेका थिए । अचेल आधुनिक थ्रेसिङ मेसिनको प्रयोग बढेपछि उनीहरुले खेतमै ‘थ्रेसिङ’ गर्ने कार्य बढेको छ । यसैगरी, कतिपय ठाउँमा ठूलो मेसिन ‘कम्पेन’ ले पनि धान काट्ने गरिएको छ । कम्पेनले धान काटेर सिधै दाना निकाल्ने गरेको छ । 
 

यस्तै, पछिल्लो समय घर–घरमा पावर ट्रिलर भएपछि रिपरले धान काट्ने र थ्रेसिङ गर्नेक्रम पनि बढेको छ। रिपरले काट्न सजिलो र छिटो हुने गरेको कृषक खेमराज चौधरीले बताए । ‘मान्छेले काटेकोभन्दा रिपरले काट्दा समयको बचत हुने गर्दछ’, उनले भने ।

यो वर्ष आवश्यकतानुसार पानी परेका कारण धान खेती राम्रो भएको किसानले बताएका छन् । खेती सप्रेकाले उत्पादनमा पनि वृद्धि हुने उनीहरुको अपेक्षा छ । तर, गत भदौमा आएको बाढीका कारण भने केही ठाउँमा धान उत्पादन प्रभावित भएको बताइएको छ । धान पसाउने बेला आएको बाढीका कारण दाना कम लागेको कैलारी गाउँपालिका–७ तिघरीका कृषक जालुराम चौधरीले बताए । उनले आफ्नोतिर धान राम्रो देखिए पनि दाना कम रहेको बताए ।

‘टाढाबाट हेर्दा त धान धेरै राम्रो देखिन्छ’, उनले भने । ‘तर, दाना त्यति धेरै लागेको छैन ।’ धान पसाउने बेला आएको बाढीले धानको फूल झारेपछि दाना कम लागेको उनको भनाइ थियो ।तर, बाढीले प्रभावित नगरेको क्षेत्रमा धान उत्पादन अत्यन्त राम्रो रहेको छ । यसवर्ष पर्याप्त पानी परेकाले धनगढी क्षेत्रमा धान खेती सप्रेको धनगढी उपमहानरपालिका–१० घुईयाघाटका रामप्रसाद रानाले बताए । उनले धमाधम धान काट्ने र भित्र्याउने कार्य पनि सुरु भइसकेको जानकारी दिए ।

कृषि ज्ञान केन्द्रका अनुसार कैलालीमा यस वर्ष ७० हजार हेक्टर जमिनमा धान खेती गरिएको छ । यो जिल्लामा उत्पादन भएको धान यहाँको लागि पर्याप्तमात्रै नभइ बचत पनि हुने गर्दछ । यहाँको उत्पादनले सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी जिल्लासम्म खाद्यान्न आपूर्ति गर्ने गरिएको छ । सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्लालाई कैलाली र कञ्चनपुरको उत्पादनले धानेको छ ।किसानले धमाधम थान भित्र्याउन सुरु गरेको बेला नेपाल सरकारले धानको समर्थन मूल्य तोकेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य दुई हजार ७५२ रुपैयाँ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकिएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल १७ ले धानको मूल्य वृद्धि भएको छ ।

गत वर्ष असारे धान लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेको थियो । गत वर्ष मोटा धान प्रतिक्विन्टल दुई हजार ७३५ र मध्यम धानको मूल्य दुई हजार ८८५ रुपैयाँ तोकिएको थियो ।समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।