सन्दर्भ विश्व रक्तदाता दिवसः सुदूरपश्चिममा बढे रक्तदाता
2020/06/14, 6:45
 
korona

रक्तअल्पताका बिरामीलाई रगत चाहिएमा नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवामा रहेको ढड्डा पल्टाएर रक्तदाताको नम्बर खोज्दै रगत माग्नुपर्ने अवस्था थियो कुनै समय सुदूरपश्चिममा ।  तर, पछिल्लो समयमा भने स्वयंसेवी रक्तदाता बढेसँगै त्यो समस्या भने समाधान भएको छ ।  पत्नीलाई रगत चाहिएमा ‘ब्लड ग्रुप’ मिलेका पतिले रगत दिन डराउने र रगत दिँदा कमजोर भइन्छ भन्ने गलत मानसिकताका कारण सुदूरपश्चिममा दुई वर्ष अघिसम्म पनि रक्तदाता पर्याप्त थिएनन् । सामाजिक सञ्जाल र विभिन्न संघ संस्थाको वार्षिक कार्यक्रममा रक्तदान कार्यक्रमको आयोजना गरिन थालिएसँगै पछिल्लो समयमा भने रक्तदाताको संख्या सुदूरपश्चिममा बढेको रक्त सञ्चार सेवा केन्द्र धनगढीका प्रमुख धरणीधर पन्त बताउँछन् ।

कैलालीमा मात्रै दुई वर्ष अघि वार्षिक रुपमा चार हजार पिन्ट रगत संकलन हुने गरेको थियो भने पछिल्लो दुई वर्षको समयमा वार्षिक रुपमा आठ हजार पिन्ट रगत संकलन हुन थालेको छ । यसबाट के पुष्टि हुन्छ भने पछिल्लो दुई वर्षयता रक्तदाता ठीक दोब्बर बढेका छन् । रक्तदान गर्दा मानिस कमजोर हुँदैन, यो पुण्य कार्य हो भन्ने चेतना बढेसँगै रक्तदाता बढेको उनको बुझाइ छ । ‘रक्तदान गर्नु भनेको जीवन दान गर्नू हो भन्ने चेतना पछिल्लो समयमा बढेको छ,’ उनले भने, ‘त्यही भएर पनि रक्तदाता बढेका छन् ।’ सुदूरपश्चिममा अन्य उमेर समूह भन्दा युवाहरु नै रक्तदानमा बढी सक्रिय रहेको पनि उनले बताए । ‘प्रायः जुनसुकै कार्यक्रममा पनि रक्तदान गरिन थालिएको छ,’ उनले भने, ‘त्यस्तो कार्यक्रममा युवाहरु नै स्वतःस्फूर्तःरुपमा रक्तादान गर्न अघि सर्ने गरेका छन् ।  

पछिल्लो पटक वार्षिक रुपमा सुदूरपश्चिमका सात पहाडी जिल्लामा एक हजार दुई सय पिन्ट, कञ्चनपुरमा ६ सय र कैलालीमा आठ हजार पिन्ट रगत वितरण हुँदै आएको छ । अहिले सुदूरपश्चिम प्रदेशमा वार्षिक रुपमा ९ हजार ८ सय पिन्ट रगत खपत हुने गरेको उनले बताए । सुदूरपश्चिमको सबैभन्दा बढी रगत चाहिने सेती प्रादेशिक अस्पताल भएको बताउँदै उनले भने, ‘धनगढीमा रहेको सेती प्रादेशिक अस्प्तालमा बहुविशेषज्ञ सेवा थपिनुका साथै यहाँ धेरै निजी अस्पताल सञ्चालनमा आएपछि रगत खपत बढेको हो ।’ 

रगतको खपत बढेसँगै रक्तदाता पनि सोही रुपमा बढेको उनले बताए । अहिले सुदूरपश्चिममा ७० प्रतिशत रगत स्वयंसेवी रक्तदाता मार्फत् संकलन हुँदै आएको बताउँदै उनले भने, ‘विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गर्नु र त्यहाँ रक्तदान गर्नेहरुले नियमित रक्तदान गरिदिने गरेका छन् ।’  सुदूरपश्चिममा सबैभन्दा बढी ८० पटक रक्तदान गरेका धनगढीका दीपक नेपाल भन्छन्, ‘पहिले रक्तदान गर्न डराउनेहरु पनि अहिले भने स्वतःस्फूर्त रुपमा रक्तदान कार्यक्रममा सरिक हुन थालेका छन् ।’ आफन्तलाई रगत चाहिएमा सेना र प्रहरी खोज्दै हिँड्नेहरु अहिले भने रगत दान गर्न तम्तयार हुने गरेको बताउँदै उनले भने, ‘रक्तदान गर्दा शरीरलाई कुनै असर पर्दैन र यो पुण्य काम हो भन्ने चेतना फैलिँदा रक्तदान गर्न पछिल्लो समयमा युवाहरु आकर्षित भएका छन् ।’