दार्चुलाको व्यासमा हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी
2021/10/03, 9:04
 
ss

दार्चुलाको व्यास गाउँपालिकामा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी थालिएको छ। सडक सञ्जालले नजोडेको उत्त गाउँपालिकामा खाद्यान्न अभाव भएपछि गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले गत २ भदौमा गृहमन्त्रीलाई भेटेर खाद्यान्न ढुवानीको माग गरेका थिए।

भारतीय बजारबाट तुइनमार्फत खाद्यान्न आपूर्ति हुने व्यासका गाउँमा यस पटक जयसिंह धामी प्रकरणपछि भारतीय एसएसबीले महाकाली नदीमाथिका तुइनहरू हटाएको छ। तुइन हटाएपछि व्यासका नागरिकले खाद्यान्नको अभाव झेलिरहेका हुन। गृह मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई खाद्य ढुवानीका लागि जिम्मा दिएको थियो।

व्यापार कम्पनीले एक्सेस सिपिङ एण्ड एयर लजिष्टिक प्रा.लि. काठमाडौंसँग ढुवानी सम्झौता गरी खाद्यान्न ढुवानी गरेको हो। हेलिकोप्टरमार्फत वडा नम्बर १ को छाङरुमा १ सय २५ क्विन्टल र तिंकरमा ७५ क्विन्टल, वडा नम्बर २ को दुम्लिङमा ४० क्विन्टल, मालमा ४० क्विन्टल, राप्लामा २० क्विन्टल, वडा नम्बर ३ सिनामा एक सय क्विन्टल र वडा नम्बर ४ सुन्सेरामा २ सय क्विन्टल चामल ढुवानी गरिएको छ। 

धनगढीबाट दार्चुला सदरमुकाम खलंगासम्म ट्रकमा र दार्चुला सदरमुकाम खलंगाबाट हेलिकोप्टरमार्फत ढुवानीका लागि सम्झौता भएको छ। हेलिकोप्टर उडान सहजका लागि अघिल्लो क्षेत्रसम्म ट्याक्टरमा लगेर ढुवानी भइरहेको बुझिएको व्यास गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए। ढुवानी गरिएको चामल दशैँअघि नै व्यासका जनतालाई बाँडिने अध्यक्ष बुढाथोकीले बताएका छन्।