​​​​​​​सुदूरपश्चिम प्रदेशको मुख्य दुई नाका पूर्ण रुपमा खुलेपछि निजी क्षेत्र उत्साहित
2021/10/05, 10:26
 
ss

सुदूरपश्चिम प्रदेशको मुख्य दुई नाका गौरीफन्टा र गड्डाचौकी पूर्ण रुपमा खुलेपछि निजी क्षेत्र उत्साहित भएको छ । भारतीय पर्यटक आफ्नो सवारी साधन सहित आएमा कोरोनाका कारण प्रभावित व्यापार व्यवसाय थोरै भए पनि फष्टाउने भन्दै निजी क्षेत्र उत्साहित भएको हो ।

ढिलै भएपनि नेपाल सरकारले नाका पूर्ण रुपमा खुला गरेर प्रशंसनीय कार्य गरेको होटल व्यसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए । ‘हामीले नाका पूर्ण रुपमा खुलाउनका लागि विभिन्न फोरममा कुरा उठाउँदै आएका थियौं’, उनले भने । ‘ढिलै भए पनि नाका खुलेको छ । जोखिमका बीच यो हाम्रो लागि सुखद् कुरा हो । खुशी भएका छौं ।’

कोरोना महामारीका कारण बन्द भएको नाकाहरु डेढ वर्षपछि पूर्ण रुपमा खुलेका हुन । संघीय सरकारको निर्णय अनुसार स्थानीय प्रशासनले शनिबारदेखि नाका पूर्ण रुपमा सहज पारेको हो । अब भारतीय नागरिकले सुरक्षाको मापदण्ड पूरा गरेर आफ्नै निजी सवारी साधनमा नेपाल प्रवेश पाउने व्यवस्था गरिएको छ ।

यसअघि, उनीहरुलाई निजी सवारी साधनसहित आउन दिइएको थिएन । तर, उनीहरुले ७२ घण्टाभित्र पीसीआर विधिबाट परीक्षण गराएको कोरोना नेगेटिभ रिपोर्ट, सीसीएमसीमा अनलाइन मार्फत भरेको फारामको प्रिन्टकपी लिएर आएमा प्रवेश पाउने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले जानकारी दिए । यसैगरी दुई डोज खोप लगाएको प्रमाण पनि हुनुपर्ने जनाइएको छ ।

केही दिन अगाडि संघीय सरकारले सम्पूर्ण नाकाहरु खुल्ला गर्ने निर्णय भएपछि यहाँको नाका पनि खोलिएको हो । स्वास्थ्य मापदण्ड पूरा गरेर अब भारतीय नागरिकहरु निर्वाध रुपमा आउन पाउने पाण्डेयले जानकारी दिए । पहिलो लहरको कोरोना सुरु भएपछि २०७६ चैतबाट नाका बन्द गरिएको थियो।

‘नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुल्ला गर्ने निर्णय गरेको थियो र सोही निर्णयलाई कार्यान्वयन गर्ने गरी हामीले पनि नाका खुल्ला गर्ने निर्णय गरेका छौँ’, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘तर आवतजावत गर्दा भने स्वास्थ्यका मपदण्ड पूर्ण रुपमा पालना गर्न भनेका छौँ ।’  यस अघि नाकामा भारतीय सवारीमा लगाइएको रोक लगाइएको थियो । तर गत शनिबारबाट त्यो समेत हटिसकेपछि दुवै नाका पूर्ण रुपमा सञ्चालनमा आएका हुन् । अब दुवै देशका नागरिक र सवारी साधन निरवाद रुपमा आवतजावत गर्न पाउने प्रजिअ पाण्डेयले बताए ।

‘यसअघि नाका आंशिक रुपमा मात्रै सञ्चालनमा आएको र भारतीय नागरिक र सवारी साधनलाई नेपाल प्रवेश गर्न रोक लगाएको थियो, भने तर नेपालीहरू भने भारत जानमा कुनै रोकटोक गरिएको थिएन । सीमा नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै नेपाल भारत मैत्री बस सेवा ,भारतीय सवारी साधनहरू र अन्य सवारी साधन र मानिसहरू सहजै आवतजावत गर्न सक्नेछन्’, उनले भने ।

अहिले नेपालीहरुको मुख्य चार्डपर्व दशै तिहार छठ पर्व नजिपकदै जाँदा यी दुई नाकाबाट दैनिक हजारौ नेपालीहरूको भिड लाग्ने गरेको छ । भारतीयको आवागमनसंगै पर्यटकीय क्षेत्र, व्यापार व्यवसायमा चहलपहल बढ्ने निजी क्षेत्रको अपेक्षा छ । कोरोनाका कारण डेढ वर्षदेखि पर्यटन क्षेत्र थला परेको छ । यसैगरी, बन्दाबन्दीका कारण व्यापार व्यवसायसमेत ठप्प भएको थियो । 

सुदूरपश्चिको लागि विदेशी पर्यटक भनेकै भारतीय पर्यटक रहेकाले उनीहरु आएमा व्यापार, व्यवसाय र पर्यटन क्षेत्रमा केही राहत हुने होटल व्यवसायी संघका अध्यक्ष बमले बताए । ‘हाम्रो लागि विदेशी पर्यटक भनेकै भारतीय पर्यटक हुन’, उनले थपे । ‘उनीहरुको लागि नाका सहज भएपछि हामी निजी क्षेत्र खुशी भएका छौं ।’ 

कोरोना महामारी र बन्दाबन्दीका कारण यहाँको होटल व्यवसायले ठूलो आर्थिक नोक्सान ब्यहोर्नु परेको छ । पहिलो लहरको कोरोनाको क्रममा भएको बन्दाबन्दीका कारण होटल व्यवसायमा चार अर्ब भन्दा बढी रुपैयाँको आर्थिक नोक्सान भएको थियो । दोस्रो लहरको बन्दाबन्दीको क्रममा झन्डै दुई अर्ब रुपैयाँ बराबरको आार्थिक नोक्सान भएको अध्यक्ष बमले बताए । 

‘दोस्रो लहरको कोरोनाको क्रममा बन्दाबन्दी धेरै लामो नभएपछि केही हद्सम्म होटल सञ्चालन भएको छ’, उनले भने । ‘तर, पहिलो चरणको कोरोना लहरको क्रममा धेरै दिन बन्दाबन्दी हुँदा ठूलो आर्थिक नोक्सान भएको थियो ।’ होटल व्यवसायमा भएको आर्थिक नोक्सानीका कारण कैयौं होटल व्यवसायी पलायन हुने अवस्थामासमेत पुगेको बताइएको छ । नाका पूर्णमा रुपमा सञ्चालनले थोरै भए पनि राहत महसुस हुने अध्यक्ष बमले उल्लेख गरे । तर, भारतीय नागरिकलाई चेकजाँचको क्रममा धेरै झन्झट गर्न नहुने र सहज रुपमा आउन दिनु पर्ने उनले बताए ।

सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डा चौकी नाकाबाट भारतीय पर्यटक घुमघामका लागि नेपाल आउने गर्दछन् । उनीहरु शुक्लाफाँटा, खानीडाँडा लगायतका ठाउँमा घुमघाम र धनगढी, महेन्द्रनगर, अत्तरिया बजारमा किनमेलका लागि आउने गर्दछन् । यसैगरी, धनगढीमा रहेको क्यासिनोमा भारतीय नागरिक पुग्ने गरेका छन् । उनीहरु यहाँ आएको बेला विभिन्न होटल, रेस्टुरेन्टमा खानपान गर्ने, किनमेल गर्ने गरेकाले व्यापार व्यवसायलाई राहत हुने बताइएको हो ।जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकाको त्रिनगर भन्सार नाका र टीकापुर नगरपालिकाको खक्रौला नाकाबाट ओहोरदोहोर गर्न पाउने निर्णय गरेको छ ।