भारतले सीमा नदीका तुइन काटिदिएर व्यासमा नाकाबन्दी लगाएको दुई महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ । गत साउन १५ गते भारतीय एसएसबीले महाकाली नदीमा लगाइएका तुइन काटेको थियो । व्याँस २ मालका ३३ वर्षीय जयसिह धामी भारतीय एसएसबीले तुइन फुस्काइदिदा महाकालीमा वेपत्ता भएपछि भारतले नेपाल भारत जोड्न लगाइएका सबै तुइन काटिदिएको थियो ।
तुइन काटिएपछि नेपालतिर बाटो नहुँदा व्याँसमा खाद्यान्न ढुवानी हुन सकेको थिएन् । भारतीय सडक र भारतीय बजारमा निर्भर रहेका व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लीङ, राप्ला, माल, वडा नम्बर ३ को सीना, तुसरपानी र वडा नम्बर ४ को सुनसेरामा सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरेको हो ।
आइतबार देखि सिम्रिक एयरको हेलिकप्टरमार्फत व्याँसको खाद्यान्न अभाव भोगका वस्तीमा खाद्यान्न पुर्याएको हो । सोमबार राप्लामा २० क्विन्टल, दुम्लीङ र मालमा ४० क्विन्टल खाद्यान्न ढुवानी गरिएको व्याँस गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताए । यस्तै व्यास १ को तिङ्कर छाङ्गगरुमा पनि खाद्यान्न ढुवानी गरिएको छ । गाउँमा चामल नहुँदा स्थानीयले सास्ती भोगिरहेको बेला गाउँमा थोरै भए पनि चामल पुगेपछि स्थानीय खुसी भएका छन् । व्यास ३ सीनाका गजजरासिह धामीले अहिले दुई महिनापछि गाउँमा चामल देख्न पाएको बताए । उनले भने- भारतीय बजारबाट पहिले चामल दिनहुँ ल्याउने गरेका थियौं । घरमा मौज्दात कमै हुन्थ्यो, । भारतबाट सहजै चामल गाउँमा आउने भएकोले कसैले पनिबढि मौज्दात राख्दैन थिए । सुनसेरा खाद्य डिपोमा यसअघि नै चामल सकिएको थियो । डिपोको भन्दा भारतीय बजारबाट सस्तोमा चामल गाउँमा पुग्थ्यो । अहिले खाद्य संस्थानको चामल ३० केजीको दरले एक परिवारलाई वितरण गरिरहेका छन् ।
अहिले चामल गाउँमा पुगे पनि दशैसम्म पनि नपुग्ने गरी आएको व्याँस ३ का स्थानीय मञ्जु डडालले बताए । एक परिवारलाई ३० किलो चामलले कति दिन पुग्छ र ? उनले भने- १५ जनाको परिवार संख्या छ । यो चामल टिका लगाउनलाई पुग्ने जस्तो छ । गाउँमा चामल देख्न नपाएको महिनौं भयो, हेलिकप्टरमार्फत आएको चामल पनि प्रयाप्त नहुने भए पछि दशै कसरी मनाउने चिन्ता भएको बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यासको लागि ६ सय क्विन्टल खाद्यान्न ढुवानी गरेको हो । छ सय क्विन्टल चामलमध्ये सीनाको लागि एक सय क्विन्टल, माल गाउँको लागि ४० क्विन्टल, सुनसेरा २ सय क्विन्टल, दुम्लीङ ४० क्विन्टल, छाङ्गरु १२४ क्विन्टल, र तिंकरको लागि ७५ क्विन्टल खाद्यान्न ढुवानी गरिदैछ । व्यास गाउँपालिकाका लागि ६ सय क्विन्टल चामल हेलिकप्टरमार्फत ढुवानी गर्न १ करोड ५३ लाख बजेट विनियोजन भएको छ ।
प्रकाशित मिति: मंगलबार असोज १९, २०७८/Tuesday 10-05-2021