मनसुनले किसानलाई धान भित्र्याउन समस्या
2021/10/06, 1:37
 
dd

धनगढी उपमहानरपालिका–१७ धुरझन्नाका चक्रबहादुर चौधरीको खेतमा धान पाकेर तयार छ । तर, पछिल्लो केही दिन यता हरेक दिनजसो भइरहेको वर्षाले उनलाई धान भित्र्याउन दिएको छैन । पाकेका धान पानीका कारण भित्र्याउन नसकिरहेका चौधरीलाई धान खेतमै बिग्रिने चिन्ता छ।

‘धान धेरै पाकी सक्यो । बढी पाक्यो भने धान खेतमै झर्ने गर्दछ ।’, उनले भने । ‘रोपाइँ गर्ने बेला पानी नपरेर समस्या थियो । धान काट्ने बेला अहिले पानी परेर समस्या भइरहेको छ ।’ धुरझन्ना, पथरी, पटेला लगायतका क्षेत्रमा किसानले तरकारी खेती पनि गर्ने गर्दछन् । अरु किसान जस्तै धेरथोर तरकारी खेती गर्ने किसान चौधरी पनि हुन । तर, पानीको कारण तरकारी लगाउनका लागिसमेत धान काट्न नपाइरहेको उनले सुनाए । 

‘जमिनै खाली भएको छैन । अलि–अलि काटेको धान पनि पानीले भिजाइदियो’, उनले थपे । ‘काटेको धान भिजेपछि पानी रोकिएला अनि धान काटौंला भन्दाभन्दै हप्तादिन भइसक्यो ।’ त्यस्तै, कैलारी गाउँपालिका–७ का कृषक चिपुराम डङ्गौराको परिवारले पानीको डरले डराई–डराई आधा बिघामा धान काटे । सोमबार दिनभरि लगाएर काटेको धान घाम लागेमा एक÷दुई दिनभित्रै भित्र्याउने उनको योजना थियो । तर, सोमबार राति नै भएको वर्षाले खेतमा पानी जमेको छ । काटेको धान उल्टै पानीमा डुबेको उनले सुनाए । ‘भिजेको धान आज घाम लागेपछि पानी नजमेको छिमेकीको खेतमा सारेका छौं’, उनले भने । ‘पानीको डर मान्दै धान काटियो । नभन्दै राति नै आएको पानीले पूरै भिजाइ दियो ।’ 

खेतमा पाकिसकेको र काटेको धान बेलैमा भित्र्याउन नपाएको पीडा चक्रबहादुर र चिपुरामलाईमात्रै छैन, जिल्ला भरिकै किसानलाई यस्तै पिरलो छ । धान काटेर भित्र्याउने बेला भइरहेको वर्षाले नोक्सान गर्ने डरले कैयौं किसान धान काट्न सकिरहेका छैनन् । काटेको धान भिजेमा झन बढी नोक्सान हुने गरेकाले उनीहरुले धान काट्न डराएका हुन । तर, नकाट्दा पनि बढी पाकेर धान झर्ने भय पनि उनीहरुमा छ । 

दिनदिनै भइरहेको वर्षाले धान भित्र्याउन निकै समस्या गरेको कैलारी गाउँपालिका–७ मोहनपुरका कृषक बलराम चौधरीले बताए । ‘दिनदिनै कालो बादल मडारिने गरेकाले अहिले धान काट्न उपयुक्त मौसम देखिएको छैन’, उनले थपे । ‘तर, नकाट्दा पनि खेतमै धान बिग्रिने डर छ ।’ 

असोज महिना धान भित्र्याउने महिनाको रुपमा चिनिन्छ । यो महिनाभरि किसानले आफ्नो खेतको धान भित्र्याउने गर्दछन् । तर, यो वर्ष अहिलेसम्म भइरहेको वर्षाका कारण किसानको धान खेतमै छ । धान काटे पानीले भिजाउने, न काटे बढी पाकेर खेतमै झर्ने डरले किसान दोधारमा छन् । कतिपयले हतारमा धान काट्ने र आलै धान थ्रेसिङ गर्ने कार्य पनि गरिरहेका कृषक चन्द्रप्रसाद चौधरीले बताए । ‘जोखिम मोलेर कतिपयले काट्ने र भित्र्याउने पनि गरिरहेका छन्’, उनले भने । ‘तर, पानीका कारण डराएका किसान अझै पनि खेतमा गएर धान काट्न सकेका छैनन् ।’ 

किसानका लागि खेतीपाती नै सबथोक हो । घामपानी सहेर र कडा मिहिनेत गरेर उनीहरुले अन्न फलाउने गरेका छन् । अझ, खेतीपातीमा मलपानीमा पनि धेरै लगानी लागेको हुन्छ । मिहिनेतसहित धेरै लगानी लगाइने गरेकाले खेतीपातीमा नोक्सान नहोस भनेर किसान सफा मौसमको पर्खाइमा रहेको कृषक चौधरीको भनाइ छ ।

जिल्लामा धान पकेट क्षेत्र रहेको कैलारी गाउँपालिकाका किसानले पानीका कारण धान भित्र्याउन नसकिरहेको कैलारी गाउँपालिकाका प्रवक्ता कमल चौधरीले बताए । खेतमा हिलोपानी रहेका कारण किसानलाई धान भित्र्याउन समस्या भएको बेला आकाशबाट आएको पानीले झन समस्या गरेको उनले बताए । ‘खेतमा भएको पानी सुकेको छैन । आकाशबाट पनि दर्केकोदक्र्यै छ’, चौधरीले भने । ‘किसान बर्खा सकिने पर्खाइमा छन् । पानी परिरहेका कारण उनीहरुले धान भित्र्याउन सकिरहेका छैनन् ।’ जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालबाट मनसुन अझै बाहिरिएको छैन । मनसुन बाहिरिन अझै पनि केही दिन लाग्नेछ । 

कैलालीमा यसवर्ष बाढी प्रभावित क्षेत्रबाहेक अन्य क्षेत्रमा धान खेती सप्रेको छ । खेती सप्रेकाले उत्पादन पनि बढ्ने किसानले बताएका छन् । धान उत्पादन बढ्ने देखिएपनि बेलैमा भित्र्याउन नपाउँदा उनीहरुमा चिन्ता छ । धान बाली बेलैमा भित्र्याउन पाएमा तोरी, मसुरो अगाडि छर्न सहज हुने गरेको उनीहरुले बताएका छन् ।

कैलालीमा यसवर्ष ७० हजार हेक्टरमा बर्खे धान खेती गरिएको छ । विगतमा केही बढी हेक्टर जमिनमा धान खेती गरिएको भए पनि पछिल्लो समय बाढी प्रभावित क्षेत्रका किसानले चैते धान खेती गरेर बर्खामा जमिन बाँझो राख्ने गरेकाले बर्खे धान खेती केही घटेको छ ।