कैलाली काँग्रेसमा कंचिगल, सभापतिमा संस्थापन पक्षकै ६ जना आकांक्षी
2021/10/07, 3:39
 
aa

ढिलै भएपनि सदस्यता बिबाद टुंगिएर क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक भएपनि संस्थापन भित्र सभापतिको उम्मेदवारहरुको भने टुंगो लाग्न सकेको छैन । नेपाली काँग्रेस कैलालीको सभापतिमा हाल उपसभापति रहेका प्रकाश बम, पूर्व उपसभापति नारायण दत्त भट्ट, धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड, सभापतिका यसअघिका उम्मेदवार भीम बडुवाल, खेम चौधरी र गणेश देउवा सभापतिमा आकांक्षी देखिएका छन् ।

नेपाली काँग्रेस कैलालीका सभापति नर नारायण शाह मनुको पहिलो रोजाई खेम चौधरी हुन् । थारु समुदायबाट पार्टीले नेतृत्व पाउदा त्यसले थारु बहुल कैलालीमा सकारात्मक सन्देश जाने शाहको बुझाई छ । उनी थारु समुदायप्रति नरम नेताका रुपमा चिनिन्छन । यसअघि पार्टी सभापति शाहको पहिलो रोजाईमा उपसभापति बम थिए । तर शाहका पछिल्ला अभिव्यक्तिले चौधरी उनको पहिलो रोजाईमा रहेको संकेत गर्छ । 

पार्टी सभापतिको दोस्रो रोजाईमा बम छन् । तेस्रोमा धनगढीका मेयर नृप वड । मेयर वड सभापतिको आकांक्षी देखिएपनि उनलाई मेयर र सभापति मध्ये एउटा पद रोज्नु पर्ने दवाव छ । मेयर वड अवको धनगढी उपमहानगरपालिकाको मेयर हुन चाहन्छन । उनी सभापतिको आकांक्षी देखिए पनि उनी यो दौडबाट अलग भईसकेका छन् ।

यसअघि कृष्ण सिटौलाको लाईनबाट पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका भीम बडुवाल यस पटक पार्टी सभापति शेर बहादुर देउवा र डा. आरजु देउवाको लाईनमा छन् । उनले आफू पार्टी सभापति देउवाको उम्मेदवार भएको बताउने गरेका छन् ।
यसअघिको लोकप्रिय मत र आम कार्यकर्ताको विश्वासका कारण पार्टी सभापतिको पहिलो हकदार म नै हुँ, बडुवाल भन्छन्, पार्टी नेतृत्वले पनि मलाई साथ दिनेछ ।

अहिले पार्टीमा उपसभाापतिभन्दा ठूलो जिम्मेवारी नपाएका काँग्रेसका पुराना नेता नारायणदत्त भट्ट पनि सभापतिका आकांक्षी हुन् । उनलाई पूर्व सभापति दीर्घराज भाटको समर्थन छ । यसअघिको निर्बाचनमा शाहलाई सभापतिमा साथ दिएका भाट यसपटक भने भट्टको पक्षमा खुलेर लागेका मात्र छैनन, भाट र शाहकै बीचमा सोही कारण दूरी बढेको छ । भाट जसरी भएपनि भट्टलाई सभापति बनाउन चाहन्छन । तर शाह भने भट्टको बिपक्षमा छन् । भाटकै निर्बाचन क्षेत्रमा गएर पार्टी सभापति शाहले केही समयअघि भाटको क्रियाकलापका बिरुद्ध अभिव्यक्ति दिएका थिए ।

यतिबेला शाह र भाटबीच छत्तिसको आकँडा छ । भाटले राप्रपा र नेपाली काँग्रेसका नाममा सयौ व्यक्तिलाई क्रियाशिल सदस्यताका लागि केन्द्रमा सिफारिस गरेपछि शाह र भाटबीच दूरी थप बढेको थियो । भाटले सिफारिस गरेका व्यक्तिहरुले सदस्यता पाउने हल्ला चलेपछि शाह केही दिनमा तनावमा थिए । यद्दपि अन्तिममा भाटले सिफारिस गरेका व्यक्तिहरुले सदस्यता नपाउदा शाहले राहत महशुस गरे ।

भाटले चाहेका व्यक्तिहरुले सदस्यता पाएको अबस्थामा भट्टलाई समेत पार्टी सभापति लड्दा केही सजिलो हुने थियो । तर अव त्यो संभावना छैन । पूर्व राज्यमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता पुष्कर नाथ ओझाका कारण यसअघिको पार्टीको जिल्ला निर्बाचनमा भट्ट कुटिएका थिए । भट्टलाई शाह पक्षधरहरुले कुटपिट गरेका थिए ।

त्यतिबेला पुष्करनाथ ओझा, कृष्ण बहादुर महरा, नारायण दत्त भट्ट, आनन्दराज जोशी, बब्लु चौधरी, देव बहादुर सेठी र हरिश खड्काको एउटा समूह थिए । त्यही समूहबाट ओझाको दवावमा पूर्ण कुवँर पार्टीको जिल्ला सचिव बनाईएका थिए । यद्दपि अहिले यो समूह छिन्नभिन्न छ । मेयरका आकांक्षी रहेका महरा मेयर बन्न नपाएपछि ओझाका बिरुद्ध प्रतिशोध साध्दै आएका छन् । भट्टको साथमा महरा मात्र छन् । यद्दपि भट्टलाई पार्टी सभापति देउवा र डा. आरजु देउवाको ग्रिन सिग्नल रहेको बताईन्छ ।

देउवाको आधिकारिक उम्मेदवार बनाईए भट्ट बलियो हुने कतिपयको बुझाई छ । तर बलमे बिद्रोह गर्ने निश्चित छ । भट्टको हकमा देउवा र उनकी पत्नी आरजु देउवाकै निर्देशन मेयर वडले पनि नमान्ने निश्चित छ । किनकी मेयरमा निर्बाचित भएपछि पनि महरा र भट्टले वडलाई लखेट्न छोडेनन ।  भट्ट प्रति ओझा नरम छन् । यद्दपि भट्टलाई डा. आरजु देउवा र महराको उम्मेदवारका रुपमा हेरिन्छ । त्यही कारण ओझाले भट्टलाई साथ दिने संभावना नरहेको ओझा निकट नेता बताउछन ।

ओझाको नाम क्रियाशिल सदस्यताको सूँचिबाट यस पटक हटाईएको भएपनि उनको प्रभाव भने घटेको छैन । आरजु देउवासंगको प्रतिशोध पूर्ण सम्बन्धका कारण ओझाले आरजुसंग जोडिएका कुनै पनि व्यक्तिलाई सहयोग गर्ने देखिदैन ।बिगतमा जस्तो डा. आरजु देउवा र पार्टी सभापति शाहबीच यतिबेला राम्रो सम्बन्ध छैन । त्यस कारण शाहको उम्मेदवारलाई डा. आरजु राणाको साथ दिने देखिदैन ।

पार्टी सभापति देउवा र उनकी पत्नी आरजु देउवाले सोझै भट्टलाई उम्मेदवार घोषणा गरिहाल्ने अवस्था छैन । घोषणा गरिहाले पनि यस पटक निर्देशन मान्न नेता तथा कार्यकर्ता तयार देखिदैनन । जस्तो कि क्षेत्र नम्बर १ मा प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता रहेका डा. रण बहादुर रावलले पार्टी सभापति देउवा र उनकी पत्नीको निर्देशन मानेपनि रावलकै भाई नवराज रावलहरुले भने मान्ने देखिदैन । नवराज रावलले भने पार्टी सभापति शाहलाई साथ दिने बताईन्छ । डा. रावलले साथ दिएका उम्मेदवारलाई जंग बहादुर साउँद पक्षधरहरुले साथ दिने देखिदैन । यद्दपि ईश्वरी न्यौपाने भने संस्थापन पक्षको उम्मेदवारलाई साथ दिने छन् ।

क्षेत्र नम्बर २ को अवस्था भने त्यस्तै छ । कमल शाहहरु त्यसैपनि संस्थापन पक्षको बिरोधमा छन् । हिम रावलले संस्थापन पक्षका आधिकारिक उम्मेदवारलाई साथ दिने देखिएपनि मोहन सिंह राठौर भने शाह निकट मानिन्छन । राठौरले शाहका उम्मेदवारलाई साथ दिने बताईन्छ । त्यस्तै क्षेत्र नम्बर १ र ३ का थारु नेताहरु रामजनम चौधरी, जनक चौधरी, बुद्धि सागर चौधरी, रामचरण चौधरी, प्रदिप चौधरी, पुरन चौधरी, र खेमराज चौधरीका बीचमा खेमराज चौधरीलाई सभापति बनाउने सहमती भएको अवस्थामा र शाहले पनि समर्थन गरे खेमराज चौधरी बलियो हुने देखिन्छ ।  

नारायण दत्त मिश्र, गोविन्दराज जोशी, बीर बहादुर हमालको आफ्नो उम्मेदवार नभएपनि अन्तिममा भीम बडुवाललाई साथ दिने संभावना रहन्छ । मिश्रले साथ दिएमा बुद्धिसागर चौधरीले पनि साथ दिनेछन् । मिश्र र चौधरी पौडेले पक्षधहर हुन् । क्षेत्र नम्बर ४ मा यतिबेला सबैभन्दा बढि बिबाद छ । त्यहाँ देउवा समूहभित्र पनि दुई वटा स्पष्ट धार छन् । जसको असर यसअघिको पालिका,संघ र प्रदेशको निर्बाचनको नतिजाले देखाईसकेको छ । भाटको उम्मेदवारको विपक्षमा हेमप्रकाश उप्रेती, डा. लक्ष्मीराज पाठक, सुरत कार्की लगायत ठूलो पंक्ति छ । क्षेत्र नम्बर ५ मा त झन देउवा समूहभित्र गुटै गुट छन् ।

संस्थापन पक्षबाट खेमराज चौधरी र नारायण दत्त भट्ट मध्ये एउटा उम्मेदवार हुने देखिन्छ । पार्टी सभापति शाहले साथ दिएमा बम बलिया त छन्, तर उनको पक्षमा जिल्ला स्तरीय नेताहरु भने देखिदैनन । शाहले साथ दिएको अवस्थामा बमले संस्थापन पक्षको साथ नपाएपनि उम्मेदवारी दिनेछन् । तर शाहले खेमराज चौधरीलाई साथ दिएमा बम उठ्ने आँट गर्ने छैनन ।

त्यसो हुदा पहिलो चरणमा खेमराज चौधरी, प्रकाश बम, नारायण दत्त भट्ट र भीम बडुवाल उम्मेदवार भएपनि दोस्रो चरणमा चौधरी र बडुवालबीच प्रतिस्पर्धा हुने देखिन्छ ।पार्टी सभापतिले चौधरीलाई साथ नदिएर बमलाई साथ दिएमा भने बम, भट्ट र बडुवालका बीचमा प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणमा बम र बडुवालका बीचमा प्रतिस्पर्धा हुनेछ ।